२०८३ भदौ ९ मंगलवार | Tuesday, Aug 25 2026

नेपाल–बेलायत सैनिक कूटनीति

  • विसं २००७ सम्म नेपालले बेलायतबाट कुनै पनि सैनिक सहयोग लिएन तर नेपालले पटक पटक ब्रिटिसलाई सैनिक सहयोग ग¥यो । अन्तिम पटक दोस्रो विश्वयुद्धमा सहयोग गरेको थियो । लन्डनमा भएको यो युद्धको विजय परेडमा नेपालले पनि भाग लिएको थियो । 
  • नेपालले बेलायतको जहिले पनि भलो हुने काम गर्छ । नेपाल–बेलायत ‘मिलिटरी डिप्लोमेसी’ ले नै त्यो जमानामा नेपाललाई संसारमा चिनायो । नेपालमा धेरै सहयोग पनि आयो । ‘ब्रिटिस चेभानिङ्ग स्कलरसिप’ बाट अहिले पनि धेरै नेपालीले फाइदा लिएका छन् । 

यो भूगोलमा कहाँ छ बेलायत अनि कहाँ छ नेपाल ? १९ औँ शताब्दीको सुरुमा नेपाल साम्राज्यशाली बन्दै थियो भने बेलायत संसारमा सूर्य नअस्ताउने साम्राज्य भइसकेको थियो । नेपाल आफ्नो भूमि बढाउने उम्मेदमा बढिरहेको थियो भने बेलायत पैसा कमाउने उम्मेदले संसार कब्जा गरिरहेको थियो । सुनको देश तिब्बत कब्जा गर्ने उद्देश्यले बेलायत भने टुक्रिएको नेपाल हुँदै तिब्बत पस्न चाहन्थ्यो; जुन कामका लागि भर्खर एकीकृत हुँदै गरेको नेपालका अगुवा राजा पृथ्वीनारायण शाह र उनका शक्तिशाली सेना बाधक बनेका थिए ।

भारतमा रहेको ठुलो सैनिकधारी बेलायतका इस्ट इन्डिया कम्पनीलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले राजा पृथ्वीनारायण शाहको सेनाविरुद्ध लड्न काठमाडौँ बोलाए । तिब्बत पस्ने उद्देश्य पूरा हुने यो मौका नछाड्ने उद्देश्यस्वरूप इस्ट इन्डिया कम्पनीको एक ब्रिगेड अङ्ग्रेज सेना क्याप्टेन जर्ज किनलकको नेतृत्वमा पटनाबाट काठमाडौँ हिँड्यो ।

यो सेनालाई मल्टिपल एम्बुस (धेरै धरापमा) मा पारेर गोर्खाली सेनाले विसं १८२४ असोज १५ गते सिन्धुलीको सिन्धुलीमाढीदेखि ग्वाङखोलाको गोरेटो र उकालो बाटोका साथै पौवागढीसम्मका उकालो बाटोलगायतका ठाउँमा ध्वस्त पा¥यो । अङ्ग्रेज सेना नराम्रोसँग हा¥यो । यो पहिलो नेपाल–अङ्ग्रेज युद्ध हो । यही कारण नेपाल र अङ्ग्रेजबिच दुस्मनी सुरु भयो ।

तिब्बत पस्ने प्रयास जारी

पहिलो प्रयास काठमाडौँ हुँदै रसुवागढी र केरुङ, भोट तथा सिन्धुपाल्चोकको तातोपानी–कुती हुँदै ल्हासा पुग्ने उम्मेदका साथ काठमाडौँ आउँदै गर्दा सिन्धुलीको लडाइँमा अङ्ग्रेज सेना हारेर भाग्नु परेको कुरा यसअघि लेखियो । त्यसपछि सिक्किमको नाथुला पास हुँदै ल्हासा पुग्न ठुलो कोसिस ग¥यो अङ्ग्रेज सेनाले । त्योभन्दा अघि पनि नेपालले सिक्किमको टिस्टा नदीसम्मको भूभाग कब्जा गरी बाँकी रहेको सिक्किमको प्रशासनिक नियन्त्रण लिएको अवस्थामा नाथुला पासबाट जाने बाटो पनि छेकियो ।

तत्पश्चात् अङ्ग्रेजले महाकाली नदीको नजिक पर्ने अर्थात् लिम्पियाधुराको नजिक पर्ने कुमाउको जुहार भोटबाट ल्हासा पुग्ने कोसिस ग¥यो । त्यो क्षेत्र पनि नेपालको भइसकेकाले यो बाटो पनि छेकियो । अब भने संसार कब्जा गरेको संसारकै एक मात्र शक्तिराष्ट्र बेलायतलाई ठुलो चोट प¥यो । उसले गोर्खाली अर्थात् नेपालीलाई राम्रै पाठ पढाउने मौका पर्खेर बस्यो ।

जग्गा विवादले युद्ध सुरु 

नेपाल र मुगलान अर्थात् मुस्लिम बादसाहहरूको जमिनका बिचमा बस्तीभन्दा पनि दसौँ कोसका घना र औलो लाग्ने जङ्गल भएकाले उसबखत सीमा तोकिँदैनथ्यो । विशेष गरी सेन राजाहरूका र बाइसेचौबिसे राजाहरूका भूभागले मुगलानको जमिनसँग सिमाना जोडिएको  थियो । त्यो जमानामा यस क्षोत्रलाई तराई भनिन्थ्यो ।

यो अवस्थामा पूर्वका दार्जिलिङ, मोरङ, सप्तरी, पर्सा, बुटवल, कपिलवस्तु, नवलपरासी, दाङलगायत पश्चिमी भागमा सीमा विवाद थियो । सप्तरी क्षेत्रमा एक जना नेपाली सुब्बा पनि मारिएका थिए । धेरै ठाउँमा दुवैतर्फका अधिकारी बसेर वार्ताबाट सीमा समस्या समाधान भइरहेका थिए । यही बेला बुटवल स्युराज (शिवराज–कपिलवस्तु) को जग्गाको सीमा विवादले ठुलो दुर्घटना निम्त्यायो; जुन यस्तो थियो ः

विसं १८७१–७२ मा नेपाल–अङ्ग्रेज युद्ध हुनुमा धेरै कारण र पृष्ठभूमि तयार थिए, त्यसमा कुनै शङ्का छैन तर युद्धअघिको अवस्था सुकेको पातमा कसले सलाई कोरेर आगो सल्काउने र डढेलो सुरु गर्ने भन्ने थियो । सुरुवातमा अङ्ग्रेज नेपालमाथि हमला गर्न करिब डराएको अवस्था थियो ।

नेपाल–अङ्ग्रेज युद्धअघि नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहको हर्ताकर्ता जनरल भीमसेन थापा थिए । थापाले विसं १८६३ मा रणबहादुर शाहको हत्यापछि नेपालको प्रशासनिक बागडोर समालेका थिए । भीमसेन थापालाई राजकाजमा शक्ति आर्जन गर्न नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहका पिता राजा रणबहादुर शाहको बलियो साथ थियो ।

भीमसेन थापा मुख्तियार बन्नासाथ पाल्पाली राजा पृथ्वीपाल सेनको नृशंस हत्या गर्छन् । थापाले त्यसअघि राजा रणबहादुर शाहबाट राजकुमार बहादुर शाहको अमानवीय ढङ्गबाट हत्या गर्ने योजनामा पनि साथ दिएका थिए ।

यता, आफ्ना पिता अमरसिंह थापा (छोटा काजी) लाई पनि नेपालका पहिलो जनरल भीमसेन थापाले जनरल पद दिएर मारिएका राजा पृथ्वीपाल सेनको राज्य पाल्पा कब्जा गर्न पठाएका थिए । पाल्पा राज्य लडाइँबिना नेपाली सेनाले कब्जा गरेपछि तराईमा भएको बुटवल र स्युराज (कपिलवस्तु) को भूमि कब्जा गर्न जनरल अमरसिंह थापाले सैनिक खटाएर कब्जा गर्ने नीति लिन्छन् । नेपालको सैनिक इतिहासमा दुई जना अमर सिंह थापा छन् । अर्का बडाकाजी प्रधानसेनापति हुन् भने यहाँ उल्लिखित छोटाकाजी जनरल हुन् ।

त्यो भूभाग पहिले लखनउका नवाबको स्वामित्वमा रहेको तर पाल्पाली राजाले कमाई खाएको भन्ने थियो । पहिले पाल्पाली राजा र लखनउका नवाबबिच सहमतिबाट भोगचलन भइरहेकोमा पाल्पा नेपालमा गाभिएपछि सो जमिनको विवाद सुल्झिएको थिएन । उता नवाबको स्वामित्वबाट सो जमिन अङ्ग्रेजको अधिकारमा गइसकेको थियो । आफ्नो अधिकार भएपछि सो स्थानमा अङ्ग्रेज सरकारले सैनिक चौकी स्थापना गरिसकेको थियो ।

त्यस अवस्थामा सो जमिनको स्वामित्व नेपाल सरकारले सुझबुझका साथ अङ्ग्रेज सरकारसँग सम्पर्क, समन्वय गर्नु बुद्धिमानी हुन सक्थ्यो तर मुख्तियार भीमसेन थापाका पिता जनरल अमरसिंह थापाले वार्ता र सहमतिको उपाय अवलम्बन नगरेर सो भूभाग आफ्नो भएको जिकिर गरेका थिए । उसबखत प्रधान सेनापतिलाई मुख्तियार भनिन्थ्यो । यो पद २००८ सालसम्म सेनामा थियो ।

सो जग्गा नेपालको भएको दाबी गरी जनरल अमरसिंह थापाले सेना खटाएर बुटवल र स्युराजमा भएका अङ्ग्रेजका चौकीदारलाई लखेटी नेपाली चौकीदार राखे । त्यो कुरा थाहा पाएपछि अङ्ग्रेज सरकारको प्रशासनले नेपाली चौकीदार उठाएर अङ्ग्रेजकै चौकी राखेका थिए ।

यसबिचमा अङ्ग्रेज सरकारका तर्फबाट विवादित जमिनबारे छलफल गर्न नेपाल सरकारसँग पत्राचार पनि गरिएको थियो तर नेपालका पाल्पा इलाकाका कमान्डर जनरल अमरसिंह थापाले अङ्ग्रेजको आशय बुझ्न चाहेनन् । अङ्ग्रेज सेनाले नेपाली सेनाको चौकी उठाएको खबर पाउनासाथ भीमसेन थापाको आदेश लिएर जनरल अमरसिंह थापा आफैँ बुटवल–स्युराज पुगेर अङ्ग्रेजका सैनिक चौकीमाथि हमला गर्न लगाए । त्यस क्रममा भएको दोहोरो मुठभेडमा अङ्ग्रेजतर्फका १८ जना सुरक्षाकर्मी मारिए । अनि नेपाल–अङ्ग्रेज युद्धको आगो सल्कियो ।

नेपाली पक्षबाट भएको यसप्रकारको जबरजस्ती सैनिक हस्तक्षेपको खबर कलकत्ता पुग्यो । कलकत्तामा रहेका अङ्ग्रेज अधिकारीले आपसमा सरसल्लाह गरेर तयारीसाथ सन् १८१४ नोभेम्बर १ बाट नेपालविरुद्ध विधिवत् युद्ध गर्ने घोषणा गरे । यहाँ विश्लेषण र मूल्याङ्कन गर्न खोजिएको कुरा के हो भने बारुदमा आगो लगाउनेको जिम्मा नेपालले लिने कि नलिने ? इतिहास सत्यमा आधारित हुनै पर्छ । अनि मात्र हिजोको सही समीक्षा र भोलिका लागि  मार्गदर्शक बन्न सक्छ ।

जनरल भीमसेन थापा र जनरल अमरसिंह थापाका उच्चभन्दा उग्र देशभक्तिले यो काम गरेको थियो तर नेपाली सेनाका तर्फबाट अङ्ग्रेज सेनातर्फका १८ जना सुरक्षाकर्मीको हत्या नगरेको भए र सहमतिको प्रयास गरेको भए त्यस युद्ध नटरे पनि केही वर्ष अवश्य पछाडि धकेलिन सक्ने सम्भावना थियो ।

तत्कालीन समयमा युद्धका लागि नेपालको आर्थिक र सैनिक अवस्था ठिक नभएकाले हाम्रा सैनिक भारदारहरू ९९ प्रतिशतले त्यो युद्ध नलड्न र वार्ताबाट समस्या समाधान गर्न पत्रमार्फत सुझाव दिएका थिए तर आदेशको जवाफ थिएन । युद्ध भयो । हारियो । ‘ग्रेटर नेपाल’ मा आधा नेपाल बच्यो ।

सुगौली सन्धि 

सुगौली सन्धिले दोस्रो नेपाल–अङ्ग्रेज युद्ध अन्त्य ग¥यो । आधा जति नेपाल गुम्यो । नेपालको भूगोल बढाउने बेग अर्थात् पखेटा काटियो । ब्रिटिसले भारत छाड्यो । नेपालले गुमाएको भूभाग हाल भारतमा परेको छ । शान्ति र सल्लाह बिग्रेपछि युद्ध हुन्छ ।

युद्धले पनि शान्ति र नयाँ निर्माणको जन्म गराउँछ । सुगौली सन्धिको सकारात्मक पाटो नेपाल–ब्रिटेन ‘मिलिटरी डिप्लोम्यासी’ लाई असाध्यै राम्रो बनायो भने ‘पोलिटिकल डिप्लोम्यासी’ पनि झन् राम्रो भयो । यसपछि विसं २००७ सम्म घटेका मुख्य घटना निम्न छन् :

सबैभन्दा पहिलो र महत्वपूर्ण ‘डिफेन्स डिप्लोम्यासी’ को सुरुवात सन् १७८०–८१ तिर काशीका राजा (हाल भारत) चेतसिंह (चेतसिंह शाही बहादुर) ले तत्कालीन ब्रिटिस इन्डियाको गभर्नर जनरल र उनका सेनालाई नै पक्रेर काशीको किल्ला (रामनगर किल्ला पनि भनिन्छ) मा थुनेर राखे । केही सङ्ख्यामा अङ्ग्रेज (गोरा सैनिक अधिकृत) को पनि हत्या गरिदिए ।

त्यस समयमा ब्रिटिस सरकारले नेपालका तत्कालीन राजा रणबहादुर शाहसमक्ष सैनिक सहयोग मागेको थियो । ब्रिटिस सरकारबाट सहयोग माग भई आएपछि नेपाली सेनाका काजी धौकलसिंह बस्न्यातको नेतृत्वमा पाँच कम्पनी (करिब ७५०) नेपाली सेना ब्रिटिस सरकारको सहयोगका लागि नेपालबाट रवाना भयो तर नेपाली सेना तोकिएको स्थलमा नपुग्दै अङ्ग्रेज अधिकारीहरू कैदबाट छुटकारा भइसकेको खबर प्राप्त भएकाले काजी धौकलसिंह बस्न्यात नेतृत्वको नेपाली सेना सोमेश्वर गढी (चितवनको) बाट काठमाडौँ फर्केको थियो । यहाँ हाल प्रधान सेनापति काजी अभिमानसिंह बस्न्यातको सालिक बनेको छ । अभिमानसिंह काजी धौकल सिंहको सहोदर दाइ थिए ।

त्यसै गरी सन् १८५७ मा भारतको लखनौ क्षेत्रमा भएको सिपाही विद्रोह नियन्त्रण गर्न नेपालले प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाको नेतृत्वमा १५ हजार सेनासहित मद्दत ग¥यो । यो विद्रोह नियन्त्रण हुन नसकेको भए भारतबाट ब्रिटिसहरू भाग्नुपर्ने अवस्था उत्पन्न भएको थियो ।

कारबाहीमा नेपाली सेना पनि मरे र घाइते भए भने नेपाली सेनाबाट पाँच हजार ४१४ विद्रोही मारिएका थिए । नेपालका प्रधानमन्त्रीले नै लडाइँ लडिरहेका बेला यत्रो सहयोग गरेको देखेर ब्रिटिसहरू ठुलो आश्चर्यमा परेका थिए । त्यस दिनपछि नेपालसँगको सम्बन्धभन्दा पनि नेपालका राणा प्रधानमन्त्रीहरूसँग ब्रिटिसहरूको आत्मीय मित्रता अविरल रह्यो ।

त्यसपछि नेपालले सन् १९१४–१८ को प्रथम विश्वयुद्धमा कुल २४ बटालियन पठायो । सन् १९१७ मै भएको वाजिरिस्तानको युद्धमा ठुलो फौज पठायो र त्यहाँ नेपाली सेनाले बहादुरीका साथ लडेकाले फस्ट राइफल बटालियनका सुबेदार चन्द्रबहादुर कार्कीले ‘मिलिटरी क्रस’ तक्मा पाए । नेपालका लागि यो पहिलो ‘मिलिटरी क्रस’ हो । त्यसै गरी सन् १९१९ मा नेपालले अफगानिस्तानको समस्यामा पनि ठुलो फौज पठायो ।

यसबिचमा नेपालका प्रधानमन्त्रीहरूले बेलायत भ्रमण गरे । नेपाल कहिल्यै पनि कसैको उपनिवेश भएन । सन् १९२३ मा नेपाललाई बेलायतले एक सार्वभौम राष्ट्र घोषणा ग¥यो । यो प्रमाणले नेपाललाई पछि संयुक्त राष्ट्रसङ्घको सदस्य हुन ठुलो मद्दत ग¥यो ।

दोस्रो विश्वयुद्धमा नेपाली सेना

राणाकालमा नेपाली सेनाको एउटा पल्टन (रेजिमेन्ट) मा कम्तीमा एक हजार १५ र बढीमा एक हजार २५ जना सैनिक हुन्थे । एउटा रेजिमेन्टमा पाँच÷पाँच सय जनाका दुई वटा गण हुन्थे । ती दुई गणमध्ये ज्येष्ठलाई ‘राइट हाफ’ र कनिष्ठलाई ‘लेफ्ट हाफ’ भनिन्थ्यो । जस्तै महिन्द्र दल रेजिमेन्टको ‘राइट हाफ’ महिन्द्र दल गण र ‘लेफ्ट हाफ’ नयाँ गोरख गण थियो । ज्येष्ठ गणको नामबाट रेजिमेन्टको नाम राखिन्थ्यो । रेजिमेन्ट हेड क्वाटर हुन्थ्यो ।

सन् १९३९ देखि ४५ सम्म भएको दोस्रो विश्वयुद्धमा नेपालले बेलायतलाई सैनिक सहायता पठाएको थियो । नेपालबाट बेलायतको सहयोगका लागि पठाइएका सैनिक पल्टनहरू श्रीनाथ, कालीबक्स, सूर्यदल, नयाँगोरख, बर्दबहादुर, कालीबहादुर, महिन्द्रदल, दोस्रो राइफल, भैरुङ, जबरजङ्ग, शमशेरदल, शेर, देवीदत्त, भैरवनाथ, जङ्गनाथ र पुरानो गोरख हुन्  ।

नेपाली सेनाका जनरल बहादुरशमशेर जबराको नेतृत्वमा नेपाली फौज भारततर्फ प्रस्थान गरेको थियो । युद्धभूमि र अन्य दैनिकी अभिलेखका लागि सरदार गुन्जमान र सुब्बा नीरराज राजभण्डारीलाई पठाइएको थियो; जुन अभिलेखहरू अहिले जङ्गी अड्डाको केन्द्रीय पुस्तकालयमा सुरक्षित छन् । विसं १९९६ फागुन २२ गते प्रधानमन्त्री जुद्धशमशेरले पहिलो टोलीलाई काठमाडौँको टुँडिखेलबाट बिदाइ गरेका थिए ।

दोस्रो विश्वयुद्धमा खटिएकामध्ये पछि पदोन्नति भएका ब्रिगेडियर जनरल दयाबहादुर खाँड, ब्रिगेडियर जनरल चुत्रबहादुर थापा, कर्णेल शैलेन्द्रबहादुर महत,  लेफ्टिनेन्ट कर्नेल (लेक)  गुप्तबहादुर गुरुङ, लेक बलबहादुर सिलवाल खत्री, लेक जगतबहादुर खत्री र सुबेदार होमबहादुर गुरुङले ब्रिटिस अधिराज्यको ‘मिलिटरी क्रस’ (एमसी) विभूषण पाएका थिए ।

वास्तवमा दोस्रो विश्वयुद्धको विजेता अमेरिका, बेलायत, चीन, रुस, फ्रान्सलगायतका पक्षराष्ट्र र तिनका सहयोगी देश नेपाल पनि थियो । दोस्रो विश्वयुद्धमा आफूले सहयोग गरेको देश र समूहको विजय भएकाले त्यो विजयलाई नेपालले पनि गर्व र गौरवको विषय मानेको थियो ।

सन् १९४५ मा युद्ध समाप्त भएपछि विसं २००२ (सन् १९४५, अक्टोबर २८) सम्म सबै नेपाली सेना स्वदेश फिर्ता भए । सोही दिन काठमाडौँमा विजय दिवस पनि मनाउने समय तोकियो । विजय दिवसका लागि ब्रिटिस–इन्डियाका कमान्डर इन चिफ जनरल अकिन्लेकलाई नेपाल बोलाइयो ।

नेपाली सेनाको मार्चपास्ट प्रदर्शन गरेर दोस्रो विश्वयुद्धको विजयोत्सव मनाइयो । सो विजयोत्सव समारोहमा दोस्रो विश्वयुद्धमा राम्रो कार्यसम्पादन गरेको पुरस्कारस्वरूप कालीबहादुर, महिन्द्रदल र सेर रेजिमेन्ट (हाल गण) का अफिसर कमान्डिङहरू, लेफ्टिनेन्ट कर्णेल (लेक) बलदेवशमशेर राणा, लेक गेहेन्द्रशमशेर थापा र लेक क्षेत्रविक्रम राणाले जनही १२ हजार रुपियाँ पुरस्कार पाएका थिए ।

विसं २००२ मा १२ हजार नेपाली रुपियाँ धेरै ठुलो रकम थियो । उक्त मार्चपास्ट प्रदर्शनसहितको विजयोत्सव सकिएकै दिन २००२ कात्तिक २६ गते बेलायती राजदूतले नेपाललाई एकमुस्ट तीन करोड ३३ लाख रुपियाँ नगद आर्थिक सहयोग दिएको घोषणा पनि गरेका थिए ।

जनता–जनता सम्बन्ध 

सन् १८१५ मे १५ मा मलाउको किल्लामा भएको सम्झौताबाटै कानुनी रूपमा नेपाल सरकारले जाऊ र ब्रिटिस सरकारले आऊ भनेर ब्रिटिस सेनामा नेपाली भर्ना हुन थाले । दोस्रो विश्वयुद्धपछिका दिनमा धेरै ब्रिटिस गोर्खाका परिवार संसारका विभिन्न ब्यारेकमा पुगे । त्यहाँ रहेका ब्रिटिस सेना र तिनका परिवारसँग भेटघाट बढ्यो । धेरै ब्रिटिस सैनिक भर्नाको कामदेखि कल्याणकारी काम गर्न नेपाल भ्रमण गर्न थाले । एकअर्काको संस्कार, संस्कृति र इतिहास साटासाट हुन थाले; जसले नेपाल र बेलायतबिच जनता–जनताको सम्बन्ध पनि बढ्यो ।

बढायो नेपालको प्रतिष्ठा 

त्यो जमाना भनेको कुनै पनि देशले शक्ति लगाएर भूगोल बढाउने र जुक्ति लगाएर पैसा कमाउने परम्परा थियो । संसारमा पिल्लर र पर्खाल लगाइएका सिमाना थिएनन् । नेपालले विसं १८२४ मै ब्रिटिससँग मुठभेड गरेर होस् अर्थात् ब्रिटिस रणनीति केलाएर, प्रत्यक्ष सम्बन्ध राखेको थियो ।

विसं २००७ सम्म नेपालले बेलायतबाट कुनै पनि सैनिक सहयोग लिएन तर नेपालले पटक पटक ब्रिटिसलाई सैनिक सहयोग गरेको थियो । अन्तिम पटक दोस्रो विश्वयुद्धमा गरेको थियो । यो युद्धमा ‘अलाइड पावर’ मा अमेरिका, बेलायत, फ्रान्स, रुस, नेपाल, चीनलगायत देशको सैनिक गठबन्धन थियो । ‘एक्सिस पावर’ मा जर्मनी, इटाली र जापान मुख्य थिए । युद्धको अन्त्यमा ‘अलाइड पावर’ ले जित्यो ।

नेपालले पनि लन्डनमा भएको दोस्रो विश्वयुद्धको विजय परेडमा भाग लिएको थियो । यो विजयमा नेपालको पनि हिस्सा छ । नेपाल जित्ने देशमा अभिलेखित भयो । नेपाली राष्ट्रिय सेना र ब्रिटिस गोर्खाका नेपाली संसारमा एक नम्बरका बहादुर ठहरिए । यो लडाइँपछि नेपालीलाई विदेश भ्रमण गर्ने क्रममा युरोपका धेरै मुलुकले भिसा लिन नपर्ने इज्जत दियो ।

साउथ इस्ट एसियाका धेरै देशले भिसा लिनु नपर्ने गरी इज्जत दियो । त्यसपछिका दिनमा सिङ्गापुर पुलिस, इन्डियन गोर्खा, ब्रिटिस गोर्खा, फ्रान्सको सेना, अमेरिकी सेनालगायतमा नेपाली भर्ती हुँदै आएका छन् । उल्लेख गर्नैपर्ने कुरो के हो भने नेपाली बहादुर भएको प्रमाण देखेर चीन, इटाली र जर्मनीले समेत नेपालीलाई उनीहरूको सेनामा भर्ती गर्न नेपाल सरकारसँग माग गरेका अभिलेख छन् ।

नेपालले बेलायतको जहिले पनि भलो हुने काम गर्छ । नेपाल–बेलायत ‘मिलिटरी डिप्लोमेसी’ ले नै त्यो जमानामा पनि नेपाललाई संसारमा चिनायो । नेपालमा धेरै सहयोग आयो । ब्रिटिस ‘चेभानिङ्ग स्कलरसिप’ बाट अहिले पनि धेरै नेपालीले फाइदा लिएका छन् । सोही स्कलरसिप अन्तर्गतको ‘डिफेन्स डिप्लोम्यासी’ कोटाबाट धेरै नेपाली सैनिक बेलायतमा अध्ययन गर्न पुगेका छन् । यो पङ्क्तिकार नेपाली सेनाबाट उक्त छात्रवृत्ति पाउने पहिलो अधिकृत हो ।  एकमुस्ट भन्नुपर्दा ‘डिफेन्स डिप्लोम्यासी’ ले नेपाल–ब्रिटेन सम्बन्धमा अमूल्य योगदान दिएको छ ।

(डा. बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त ब्रिगेडियर जनरल र ‘ब्रिटिस चेभनिङ्ग स्कलर’ हुनुहुन्छ ।)