२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

नेपालकाे बद्लिंदाे परिस्थिति, देशमा अब के हुन्छ ?

यतिबेला आम नेपाली नागरिकहरूमा कौतुहलता र आशंका मिश्रित एउटै प्रश्न छ । अब के हुन्छ ? देशको राजनीति कता जान्छ ? सबैले आ-आफ्नो बुझाईको आधारमा अब यस्तो हुन्छ, अब त्यस्तो हुन्छ भन्ने दावा र घोषणा गरिरहेको देखिन्छ।

लोकतन्त्र र गणतन्त्रको विशेषता भन्नु नै आम नागरिकले निर्वाध रूपमा आफ्नो मत अभिमत प्रकट गर्न पाउनु हो। मानिसले जे जस्तो दावा ठोकेपनि राजनीति आफैंमा सामाजिक बिज्ञान (Social Science) भएकोले यसले नियम अनुसार नै आफ्नो कोर्ष तय गर्ने गर्दछ। अब के हुन्छ त ? त्यतातिर लागौं ।

के अब राजा आउँछन ? धेरै मान्छेहरू अब राजा आउँछन भन्छन्, राजा साँच्चै आउँछन भन्ठान्छन। कतिपय त राजा आईसकेको गद्दीमा बस्न मात्रै बाँकी रहेको पनि भन्छन् । सामाजिक सञ्जाल पनि बेस्कन तातेको छ। सबै राजा समर्थकहरू मोर्चाबन्दी गरेर वारपारको लडाईंमा जुटेका छन् ।

राजा ज्ञानेन्द्र शाहले पनि उदारतापूर्वक आफ्नो ढुकुटी खोलिदिएकै छन् । तर ढुक्क हुनुहोला, राजा आउँदैन। आउनै सक्दैनन्। राजाबादीहरूसंग गणतन्त्र उल्टाउन सक्ने तहको तागतै छैन। तागतै पुग्दैन। मेरो बिचारमा, नेपालमा राजा फर्काउन सक्ने मुख्य ३ वटा बाटाहरू छन् ।
१) विशाल जनआन्दोलनको बलमा ।
२) सैन्य बिद्रोहको बलमा ।
३) देशका प्रमुख राजनैतिक दलहरूको सहमतिमा।

तर, माथीका कुनैपनि बुँदा पूर्व राजाको पक्षमा बिलकुलै छैनन्। उसो भए राजाको हकमा के हुन्छ त ? यसपटकको राजा समर्थक मुभमेण्ट बिगत १५ बर्ष यताको सबैभन्दा चर्को मुभमेण्ट हो। तर, फ़ेरि पनि यो मुभमेण्टले पूर्व राजालाई स्थापित गर्न आवश्यक पर्ने उर्जा निकाल्न सक्ने सम्भावना नै देखिंदैन।

गणतन्त्र उल्टाएर राजतन्त्र ल्याउन काठमाडौंको सडकमा कम्तिमा १० लाख र देशैभरीमा कम्तिमा ३० लाख जनता ज्यान फालेर अनिश्चित कालिन आन्दोलनमा उत्रनु आवश्यक हुन्छ, जुन असंभव छ। त्यसैले, यसपटकको राजा आऊ आन्दोलन असफल हुन्छ। यो प्रयास असफल भएसंगै देशमा राजा खोज्ने जमातले पनि अब राजा आउन नसक्ने रहेछ है भन्ने कुरा मज्जाले बुझ्ने मौका पाउँछन र आगामी दिनमा राजा आउने बहस नै क्रमशः सेलाउँदै सेलाउँदै जान्छ।

सरकारको स्थिति के हुन्छ त ? लोकतान्त्रिक ब्यवस्था भएका संसारका देशहरूमा, खास खास अवस्थामा गठन गरिने राष्ट्रिय सहमतिको सरकार बाहेक कहिंपनि प्रमुख दुई ठूला दलहरू मिलेर बहुमतीय सरकार बनाउने अभ्यास नै छैन। खड्गप्रसाद नेतृत्वको यो सरकार संसदीय अंकको हिसाबले असाध्यै शक्तिशाली तर, लोकतन्त्रको सैद्धान्तिक मान्यताको हिसाबले चाहिं असाध्यै फितलो र गैह्र सैद्धान्तिक सरकार पनि हो।

खड्गप्रसाद नेतृत्वको यो सरकार भ्रष्ट, तस्कर र बिचौलिया, दलालको पक्षपोषण गर्नमा लिप्त भएर लागेको तथ्य आम जनताले देखिरहेको र भोगिरहेको सन्दर्भमा अहिलेको जारी जनप्रदर्शन र जनआक्रोशको पहिलो शिकार चाहिं स्वयं प्रधानमन्त्री खड्गप्रसाद बन्ने छन् भन्ने मेरो बुझाई छ।

राजाको नाममा शुरू भएको यो आन्दोलन अन्ततोगत्वा ओलीको कुशासन बिरूद्ध केन्द्रीत हुने देखिन्छ।अहिलेको जारी प्रदर्शन र जन आक्रोशले यदि कसैलाई सबैभन्दा बढी क्षती पुर्याउँछ भने, त्यो स्वयं प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई र एमाले पार्टीलाई पुर्याउने स्पष्ट देखिरहेको छु।

गणतन्त्रबादी बिपक्षीको रणनीति के हुन्छ ? सैद्धान्तिक हिसावले सत्तारूढ काङ्ग्रेस एमाले पनि अहिले गणतन्त्रबादी कित्तामै भएपनि, गणतन्त्र पक्षधर शक्तिको नेतृत्व अहिलेको अवस्थामा काङ्ग्रेस एमालेले लिन सक्ने स्थिति छैन त्यसैले गणतन्त्रबादी कित्ताको प्रमुख नेतृत्व माओबादी केन्द्रको अगुवाईमा रहेको समाजवादी मोर्चाुले गर्नु स्वाभाविक नै हो।

राजतन्त्र कि गणतन्त्र भन्ने कित्तामा देशको राजनीतिक ध्रुविकृत हुने स्थिति तयार हुँदै गएकोले, चाहेर नचाहेर पनि गणतन्त्र पक्षधरको नेतृत्व गर्ने समाजबादी मोर्चाको मूल प्रवाहमा काङ्ग्रेस, एमाले, मधेसबादी, आदिवासी, जनजाती पृष्ठभूमिका तमाम जनता एकीकृत र ध्रुविकृत हुँदै प्रदर्शनमा उत्रने वातावरण तिब्र रूपमा बिकसित हुने निश्चित छ।

जनताको यो बिपुल शक्तिले राजाबादी उछलकुदलाई निस्तेज तुल्याउँदै, ओली नेतृत्वको भ्रष्ट गठबन्धन सरकारलाई राम्रैसंग औषधि उपचार गरेर यो जनलहर थामिने छ। आलोचना, बिरोध, जनआन्दोलन र जनबिद्रोहले जहिलेपनि स्वेच्छाचारी शासन र शासकलाई क्षति पुर्याउँछ भने, लोकतन्त्रलाई समुन्नत र सुदृढ तुल्याउन मद्दत गर्दछ।

निष्कर्षः अहिलेको जारी बहुपक्षीय राजनैतिक आन्दोलनले नीम्न शिक्षा दिंदै सफलतापूर्वक सम्पन्न हुनेछ ।
१) नेपालमा राजा फर्कन र फर्काउन सम्भव छैन है भन्नेकुरालाई स्थापीत गर्नेछ।
२) लोकतान्त्रिक पद्धतिबाट चुनिएर आएको भएपनि ब्यवहारमा असाध्यै सनकी र तानाशाही चरित्र प्रदर्शन गर्ने खड्गप्रसाद ओली जस्ता अहंकारी शासकको तेजोबध गर्न सफल हुनेछ।
३) मुलुकलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणालीतर्फ उन्मुख गराउन योगदान दिनेछ।
४) लोकतन्त्र, गणतन्त्र, समावेशिता, सामाजिक न्याय, विधीको शासन जस्ता लोकतन्त्रका सर्वस्विकार्य अवधारणालाई अझ मजबुत बनाउन सहयोग गर्नेछ।

(राजनीतिशास्त्रका विद्यार्थी अधिकारीकाे नीजि विचार हुन)