हरारी भन्छन् ”कुनै बेला सयौं प्रतिभा जन्माएको वैदिक समाज र कन्फ्युसियस समाजमा ४०० वर्ष यता एउटा पनि प्रतिभा जन्मिएको छैन।”
हरारीको यस्तो विश्लेषण र कुरा सुन्दा अचम्म लाग्छ । ४०० वर्ष अगाडि आधुनिक विद्यालय र विश्वविद्यालय थिएनन् ।अहिले आधुनिक शिक्षा प्रदान गर्ने लाखौं विद्यालय छन् । हजारौं कलेजहरु छन् । सयौं विश्वविद्यालय छन् । यस्तो हुँदाहुँदै पनि प्रतिभा जन्मिएन भन्नू त अनौठो कुरा हो।
हरारीले पूर्विय सभ्यतामा पछिल्लो समयमा किन कुनै प्रतिभा जन्मिएन भन्ने प्रश्नको उत्तर दिएका छैनन् । उनलाई यसको कारण पक्कै पनि थाहा हुनुपर्छ तर, त्यो उनी खुलाउन चाहदैनन् । कारण खुलायो भने त सम्पुर्ण रूपमा पश्चिमा ज्ञान प्रणालीलाई वहिष्कार गर्ने अभियान चल्छ र पश्चिमाहरुको वर्चस्व र दादागिरी सधैंको निम्ति अन्त्य हुन्छ ।
DN Kadel जि र मैले आजसम्म सबैभन्दा बढी छलफल गरेको विषय नै हरारीको A Brief History of Homo Sapiens भन्ने पुस्तकमा उल्लेख गरिएका विषय वस्तु र त्यसको रोचक ब्याख्या हो।
०७६ सालदेखि यो पुस्तकले उठाएका विषय वस्तुको बारेमा हामिले लामो समयसम्म निरन्तर छलफल गर्यौं । शुरु शुरुमा हामिले हरारीलाई क्रस गर्न सकेनौं।हामी पनि हरारिसङ्गै बग्यौ। बहकियौ । पछिलो समय हामीले हरारीलाई क्रस गर्ने धेरै ठाउँ भेट्टायौ । यसको बारेमा अलिक पछि चर्चा गरौंला । अहिले हरारिले उठाएको प्रश्न ”४०० वर्ष यता पूर्विय समाजमा किन कुनै प्रतिभा जन्मेनन्” भन्नेमा केन्द्रीत हौं ।
हरारीले कस्तो प्रतिभाको कुरा गरेका हुन् ?? कसलाइ प्रतिभा मान्ने ?? त्यसको मापदण्ड के हो ?? यी यावत प्रश्न लाई एकछिन थाती राखौं । हरारीले भनेजस्तै पूर्वमा पहिला जस्तो सम्पुर्ण मानव समाज र सभ्यतालाई नै निर्देशन गर्न सक्ने प्रतिभा चाहिँ पछिल्लो कालमा नजन्मिएकै हो ।
प्राचीन कालमामा जन्मिएका वेद व्यास, वाल्मीकि, चाणक्य, आर्यभट्ट, गौतम बुद्ध, कन्फ्युसियस, मेन्सियस, सुन जाे जसले पूर्विय सभ्यतालाई एउटा उचाइमा पुर्याएका थिए । उनिहरुको जस्तो क्षमता भएका प्रतिभा पूर्विय समाजमा अहिलेसम्म जन्मिएका छैनन् ।
पूर्विय समाजमा प्रतिभाको खडेरी पर्नुको कारण के हो त ??
व्याखा र विश्लेषण सबैको आफ्नो आफ्नै होला । लामो समयको छलफल र वहसपछि DN Kadel र म भने एउटा निष्कर्षमा पुग्यौं ।
प्रतिभा एक्कासि आकाशबाट झर्दैन । जमीन बाट फुत्त फुत्त निस्किन्दैन । समाजको चिन्तन प्रणालीले प्रतिभा उत्पादन गर्ने हो । बलियो चिन्तन प्रणाली भएको समाजमा मात्रै प्रतीभाको जन्म हुन्छ । कमजोर चिन्तन प्रणाली भएको समाजले प्रतिभा उत्पादन गर्न सक्दैन । प्राचीन समयमै पनि भारत वर्ष र चिनमा चिन्तन प्रणाली बलियो थियो । त्यसैले यहाँ थुप्रै प्रतिभाहरु जन्मिए ।
गौतम बुद्ध, कन्फ्युसियस, आर्यभट्ट, चाणक्यहरु चिन्तन प्रणालीले जन्माएका प्रतिभा हुन् । उनिहरु भुइँ फुटुवा धामी निस्के जसरी जन्मेका होइनन् । गौतम बुद्धलाई भारत वर्षको चिन्तन प्रणालीले जन्माएको हो भलै उनले छुट्टै दर्शनको विकास गरे।कन्फ्युसियस लाई चीनको चिन्तन प्रणालीले जन्माएको हो।
फेरि हरारीकै प्रश्नमा केन्द्रीत हौं । बलियो चिन्तन प्रणाली बिना प्रतिभा जन्मिदैन भन्ने विषयमा त अब हामी प्रष्ट भयौं ।
भारत वर्ष र चिनको आफ्नै सभ्यता थियो । आफ्नै मुल्य मान्यता थियो।सभ्यता र मुल्य मान्यता अनुरुपको चिन्तन प्रणाली थियो । ५०० वर्ष अगाडि देखि युरोपेली गोराहरुले उपनिवेशवादको परियोजना सुरु गरे।
सुरुमा दुई अमेरिकी महाद्वीपलाई कब्जा गरे।त्यसपछि उनिहरु एसिया र अफ्रिकामा आए । विस्तारै विस्तारै एसिया र अफ्रिकालाई पनि पुर्ण नियन्त्रणमा लिए । यी दुई महाद्विपको अधिकाङ्स समाजमा औपनिवेशिक शासन व्यबस्थाको सुरुवात गरे ।
भारत वर्ष युरोपेलीहरुको पुर्ण उपनिवेश बन्यो भने चीन आम्सिक उपनिवेश । युरोपेलीहरुले चीन र भारतलाई राजनैतिक, सामरिक र आर्थिक रूपमा मात्रै होइन वैचारिक हिसाबले पनि नियन्त्रण गरे ।
चीन र भारत वर्षको सभ्यता, संस्कृती र मुल्य मान्यता माथी धावा बोले । भारत वर्षको गुरुकुल पद्धति र चीनको परम्परागत ज्ञान केन्द्रहरु ध्वस्त बनाए । यी दुई समाजको जुन विकसित चिन्तन प्रणाली थियो त्यसलाई कमजोर पारे।
युरोपेलीहरुले भारत वर्ष र चीनको रैथाने चिन्तन प्रणालीलाई कमजोर पारेर उनिहरुको मुल्य, मान्यता, भाष्य, दर्शन र दृष्टिकोणलाई लादे ।
भारत वर्ष र चीनियाँ समाजको सभ्यता र संस्कृतीसङ्ग मेल नखाने नयाँ चिन्तन प्रणालीले गर्दा यी दुई समाजको मनोविज्ञान र मानसिकता बिथोलियो । उनिहरु नयाँ चिन्तन प्रणालीसङ्ग अभ्यस्त हुन सकेनन् । नवीन र फरक ढंगले चिन्तन गर्न सकेनन् ।उनिहरुको सृजना र रचना गर्ने क्षमतामा ठूलो र्हास आयो।
चिन्तन प्रणाली र सृजना एक अर्कासङ्ग जोडिएका विषय हुन । चिन्तन प्रणाली जति बलियो हुन्छ सृजना त्यति शसक्त हुन्छ । त्यसमाथी चिन्तन प्रणाली सामाजिक मूल्य मान्यता, संस्कृती र सभ्यता अनुरुपको हुनुपर्छ । आयातित चिन्तन प्रणालीले प्रतिभा होइन दासहरु मात्रै उत्पादन गर्छ।
पछिल्लो समयमा भारत वर्ष र चिनियाँ समाजको चिन्तन प्रणाली कम्जोर भयो।फलस्वरूप यी दुई समाजमा प्रतिभाहरुको जन्म हुन सकेन ।
(लेखक धार्मिक साँस्कृतिक अभियन्ता हुन)







































