काठमाडौ । तराईका फाँटदेखि पहाडी बस्तीसम्म अहिले गर्मी बढिरहेको छ । दिउँसोको चर्को घाम, तातो हावा र बढ्दो तापक्रमले मानिस मात्र होइन, किसानका सारथी गाईबस्तु पनि प्रभावित हुन थालेका छन् । खेतबारी जोत्नेदेखि दुध, मासु र आम्दानीको आधार बनेका पशुचौपायामा गर्मीको प्रत्यक्ष असर देखिन थालेपछि सरकारी निकायले सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरएमए) ले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा ‘लु’ र तातो हावाले गाईबस्तुमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ । अत्यधिक गर्मीका कारण पशुमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने, खाना कम खाने, थकान बढ्ने र कतिपय अवस्थामा मृत्युसमेत हुन सक्ने जनाइएको छ । नेपाल प्रहरीले पनि आफ्नो सामाजिक सञ्जालमार्फत तातो हावा ‘लु’ बाट आफ्ना पशु जोगाउन अनुरोध गरेको छ ।
थलिएका पशु
तराई क्षेत्रमा अहिले दिउँसो सडक सुनसानजस्तै बन्न थालेका छन् । मानिस घरभित्र लुक्दा खेतबारीमा बाँधिएका गाई, भैँसी र बाख्रा भने चर्को घाम सहन बाध्य छन् । धेरै किसान अझै पनि गर्मीले पशुमा पार्ने असरलाई सामान्य रूपमा लिने गर्छन् । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार पशुमा पसिना निकाल्ने क्षमता कम हुने भएकाले उनीहरू मानिसभन्दा छिटो ‘हिट स्ट्रेस’ अर्थात् गर्मीजन्य तनावमा पर्छन् । यसले दुध उत्पादन घटाउने, प्रजनन क्षमतामा असर गर्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने खतरा बढाउने भएकाले गर्मीमा पशुलाई विशेष ध्यान पु¥याउन आवश्यक हुने उहाँले बताउनुभयो । विशेष गरी भैँसी गर्मीप्रति बढी संवेदनशील हुने भएकाले पानी र शीतल वातावरण नपाए छटपटाउने, खाना नखाने र बिरामी पर्ने समस्या देखिने गरेको पशु प्राविधिक राजेश लम्सालले बताउनुभयो ।
‘लु’ ले निम्त्याउने खतरा
चर्को गर्मीसँगै चल्ने तातो हावालाई तराई क्षेत्रमा ‘लु’ भन्ने गरिन्छ । यो अवस्था मानिसका लागि मात्र होइन, पशुका लागि पनि घातक मानिन्छ । त्यसैले बिहान ११ देखि दिउँसो ४ बजेसम्म पशुचौपायालाई घाममा नराख्न आग्रह गरिएको छ । गर्मीको समयमा चरनमा लैजाँदा वा भारी बोकाउँदा पशु झन् कमजोर हुने भएकाले सकेसम्म शीतल र छायाँयुक्त स्थानमा राख्न सुझाव दिइएको छ । त्यस्तै बेलाबेलामा स्वच्छ पानी खुवाउने, शरीरमा पानी छर्किने तथा प्रभावित जनावरलाई तुरुन्त चिसो ठाउँमा सार्ने उपाय अपनाउन भनिएको छ । भैँसीलाई बिहान र बेलुका पोखरी वा आहालमा लैजान सके शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्ने लम्सालले बताउनुभयो ।
किसानका चुनौती
गाउँघरमा अहिले पनि धेरै किसानले खुला ठाउँमा पशु बाँध्ने गरेका छन् । पर्याप्त पानी, छायाँ वा शीतल गोठ अभाव हुँदा गर्मीको असर झन् बढ्ने गरेको छ । भित्री मधेश तथा तराईका जिल्लामा तापक्रम बढेसँगै पशु बिरामी हुने समस्या बढेको स्थानीय किसान बताउँछन् । दुध उत्पादन घट्दा किसानको आम्दानीमा समेत प्रत्यक्ष असर परेको दुग्ध किसान नारायण बडालले उल्लेख गर्नुभयो । गर्मीका कारण पशुमा देखिने रोग बढ्न थालेपछि पशु स्वास्थ्यकर्मीले पनि सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार पशु सुस्त हुने, सास फेर्न गाह्रो हुने, मुखबाट धेरै ¥याल आउने वा खाना खान छोड्ने लक्षण देखिए तुरुन्त उपचार गराउनु पर्छ ।
सावधानी आवश्यक
नेपालमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा अत्यधिक गर्मी र तातो हावाको समस्या प्रत्येक वर्ष तीव्र बन्दै गएको छ । यसको असर मानव जीवनसँगै पशुपालन क्षेत्रमा समेत देखिन थालेको नेपाल पशु चिकित्सा परिषद्ले उल्लेख गरेको छ । कृषिमा निर्भर अधिकांश नेपाली परिवारका लागि पशुपालन आम्दानीको मुख्य आधार हो । त्यसैले गर्मीबाट पशुधन जोगाउनु किसानको मात्र होइन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्र जोगाउने विषय रहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो । उहाँले समयमै सावधानी अपनाउन सके गर्मीबाट हुने ठुलो क्षति रोक्न सकिने बताउनुभयो । तत्कालको आवश्यकता भनेको पशुलाई पानी, छायाँ र आराम उपलब्ध गराउनु हो ।









































