सप्तरी । मधेश प्रदेशका अधिकांश जिल्लाका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला सप्तरी र सिराहा लगायतका जिल्लाका किसान भने सिँचाइ सुविधाका कारण धान रोपाइँमा जुटेका छन्। सप्तरीको फतेपुरमा रहेको चन्द्र नहरमा असार १० गते तथा कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीबाट पानी प्रवाह गरेपछि यस क्षेत्रका किसान रोपाइँमा व्यस्त भएका हुन्।
कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजले सप्तरीका तीन वटा सिँचाइ प्रणालीमा यस वर्ष समयमै पानी प्रवाह गरेको जनाएको छ। कार्यालयका अनुसार चन्द्र नहरमा असार १० गतेदेखि तथा असार १४ गते आइतबारदेखि कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमा पानी पठाइएको हो। सप्तकोशी नगरपालिका–४ का किसान दीपेन्द्रप्रसाद यादवले यस वर्ष धान खेतीका लागि सिँचाइको समस्या नभएको बताउनुभयो। नहरमा समयमै पानी आउनुका साथै बेलाबेलामा वर्षा पनि भइरहेकाले धान रोपाइँ सहज बनेको उहाँको भनाइ छ।
कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद यादवका अनुसार सप्तरीमा कुल ३४ हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने लक्ष्यसहित मूल तथा शाखा नहर गरी करिब एक हजार किलोमिटर नहर संरचना रहेको छ। त्यसमध्ये चन्द्र नहर प्रणालीबाट १० हजार ५ सय हेक्टर, कोशी पम्प नहरबाट १३ हजार १ सय हेक्टर र कोशी नहर सहायक वितरण प्रणालीबाट ११ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ। नहर संरचना पुरानो भएकाले केही स्थानमा पानी पुर्याउन चुनौती रहे पनि पर्याप्त वर्षा भइरहेकाले यस वर्ष नहरको कमान्ड क्षेत्रका किसानलाई सिँचाइ अभाव नहुने उहाँले जानकारी दिनुभयो।

कार्यालय प्रमुख यादवले नहर सरसफाइका लागि अत्यन्त न्यून बजेट विनियोजन हुने गरेको बताउनुभयो। नहरमा अत्यधिक बालुवा जम्मा हुने गरे पनि नियमित सरसफाइका लागि चालु वर्षमा २८ लाख रुपियाँ बजेट उपलब्ध भएको उहाँको भनाइ छ। चालु आर्थिक वर्षमा कार्यालयले १७ करोड रुपियाँ विकास बजेटबाट ठेक्का प्रक्रियामार्फत पानी तान्ने पम्प मर्मत, पुराना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, चुहावट हुने स्थानमा पक्की नहर निर्माण तथा आवश्यक स्थानमा कल्भर्ट निर्माण गरेको छ।
नहरको सुरक्षा तथा रेखदेखका लागि कार्यालयले दैनिक ज्यालादारीमा १ सय ९ जना कर्मचारी परिचालन गरेको छ। साथै नहर प्रणालीको संरक्षणका लागि जिल्लाभर १९ वटा जल उपभोक्ता समिति क्रियाशील छन्। कार्यालय प्रमुख यादवका अनुसार नहर किनारमा भएको अव्यवस्थित घर निर्माण तथा जग्गा अतिक्रमणका कारण नहर सरसफाइ र मर्मतमा समस्या भइरहेको छ।
यी तीन वटा सिँचाइ प्रणालीमार्फत सप्तरीका सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज, तिरहुत, अग्निसाइर कृष्णासवरण, महादेवा, तिलाठी कोइलाडी, विष्णुकुमार, राजगढ, डाक्नेश्वरी, बोदेबरसाइन, बलान विहुल र शम्भुनाथ लगायतका स्थानीय तहमा सिँचाइ सुविधा पुगेको छ। मधेश प्रदेश सरकारको तथ्याङ्क अनुसार प्रदेशभरमा कुल पाँच लाख ४२ हजार ५ सय ८० हेक्टर खेतीयोग्य जमिन रहेकोमा दुई लाख ७३ हजार ४ सय १० हेक्टर जमिन सिञ्चित क्षेत्र छ।
शतवार्षिकी मनाउँदै चन्द्र नहर
मुलुकको पहिलो सिँचाइ प्रणाली चन्द्र नहर जीर्ण भएपछि नेपाल सरकारको पहल र जापान सरकारको सहयोगमा सुरु भएको मर्मतसम्भार कार्य सम्पन्न भइसकेको छ। ३२ वटा संरचना निर्माणको काम दुई अर्ब २५ करोड ६० लाख जापानी येनको लागतमा २०७९ कात्तिकदेखि सुरु भई २०८२ साल असार १५ गतेभित्र सम्पन्न भएको हो। सप्तरीको खेतीयोग्य जग्गामा सिँचाइ गर्न चन्द्र नहरको सुरुदेखि नै महत्त्वपूर्ण योगदान रहँदै आएको छ। यस नहरको स्थापना वि.सं. १९८५ मा भएको थियो। जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले यसको जीर्णोद्धारको काम गरेको हो।

उदयपुर जिल्लास्थित त्रियुगा नदीबाट सप्तरीको पूर्वी क्षेत्रमा बग्ने चन्द्र नहर अबको दुई वर्षपछि अर्थात् वि.सं. २०८५ मा सय वर्ष (शतवार्षिकी) पूरा हुँदै छ। राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले वि.सं. १९७९ मा यसको निर्माण सुरु गराएर १९८५ मा सम्पन्न गराउनुभएको थियो। देशकै पुरानो सिँचाइ प्रणाली प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाको गुनासो छ। यो नहरबाट हाल साविकका २९ वटा गाविसका २५ हजार घरधुरीका करिब डेढ लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भइरहेका छन्। चन्द्र नहर प्रणालीबाट वर्षायाममा १० हजार ५ सय हेक्टर र हिउँदमा ६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको छ। यसको कुल लम्बाइ २९ किलोमिटर छ।
कोशी पम्प नहरको अवस्था
कोशी पम्प नहर सिँचाइ प्रणालीका मुख्य संरचनाहरूको निर्माण ४१ करोड ८० लाख रुपियाँको लागतमा आर्थिक वर्ष २०४१/४२ देखि २०४३/४४ सम्म गरिएको थियो। हाल यसका ट्रान्सफर्मरहरू धेरै पुराना भइसकेकाले बारम्बार बिग्रने समस्या छ, जसले गर्दा पानी लिफ्टिङको काम रोकिने गर्दछ। अधिकांश विद्युतीय मेसिन तथा पार्टपुर्जाहरू जीर्ण भइसकेका छन्। यो नहर कोशी ब्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै भारततर्फ बग्दछ। यो नहरसँग जोडिएका १२ वटा छोटी नहरहरूमार्फत पनि किसानहरू लाभान्वित भइरहेका छन्। बर्सेनि बजेट अभावका कारण नहरको मर्मतसम्भार तथा नियमित सञ्चालनमा समस्या भइरहेको कार्यालयले जनाएको छ।










































