शारदा (सल्यान) । लामो समयको खडेरीले चिन्तित बनेका सल्यान पश्चिमका किसानलाई पछिल्लो वर्षाले राहत दिलाएको छ । मध्यबर्खा बितिसक्दा पनि सुख्खा र बगरजस्तै बनेका खेतबारी तथा खोलानालामा पानी बग्न थालेपछि मर्न लागेका धानका बेर्ना किसानले खेतमा रोप्न थालेका छन् । पानी नपरेर धानको ब्याड सुक्न थालेपछि निराश बनेका किसानले पानी पर्नेबित्तिकै करिब डेढ महिना पुरानो भइसकेको धानको बीउ भए पनि रोपाइँ गरेका हुन् ।
बनगाड कुपिण्डे नगरपालिकाको कृषि विकास शाखाका अनुसार सोमबार र मङ्गलबार परेको वर्षाले धान खेतीका लागि राहत पुगेको हो । सल्लीबजार आसपासका नारा, माल्टूरा, सिग्रेखाना, ओदाला, ओदालतारा र टाबु क्षेत्रमा रोपाइँ भइरहेको छ । धान खेती हुने क्षेत्रफलको करिब ९० प्रतिशत भूभागमा रोपाइँ भइसकेको कृषि विकास शाखा प्रमुख तथा कृषि अधिकृत नारायणप्रसाद बेल्वासेले जानकारी दिनुभयो ।
भेरी नदी नजिकका किसानले मोटरबाट पानी तानेरसमेत सिँचाइ गरेका थिए । अब कालागाउँ, टाट्के र भलाखर्क आसपासका केही उकालो तथा ढिलो पानी पुग्ने क्षेत्रमा मात्र धान रोप्न बाँकी रहेको किसानले बताएका छन् ।
किसानले असार १६ गतेतिर धानको ब्याड राखेका थिए । कृषि अधिकृत बेल्वासेले भन्नुभयो, “किसानले राखेको ब्याड ४० दिनभन्दा बढी भइसकेको छ । २०–२५ दिनसम्मको बीउ रोप्नु प्राविधिक हिसाबले उपयुक्त हुन्छ । बूढो भइसकेको वा ३० दिनभन्दा बढी भएको बीउ रोप्दा गाँजिने क्षमता हराउँदै जाने र उत्पादनमा कमी हुन्छ ।”
यसअघि खडेरीले उग्र रूप लिएपछि कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको कार्यदलले सुर्खेतको सिम्ता र सल्यानको बनगाड कुपिण्डे क्षेत्रका सुख्खाग्रस्त क्षेत्रमा पुगेर प्रत्यक्ष अनुगमन गरेको थियो ।
अनुगमनपछि नगरपालिकामा बसेको बैठकले सुख्खाग्रस्त क्षेत्रको दीर्घकालीन र अल्पकालीन समाधानका लागि विभिन्न निर्णय गरेको थियो । नगरपालिकाको कृषि शाखाले सुख्खाग्रस्त क्षेत्रको क्षेत्रफल, उत्पादन र उत्पादकत्वसम्बन्धी तथ्याङ्क कार्यदलसमक्ष पेस गर्ने, अल्पकालीन समाधानका लागि बाली विविधता, उपयुक्त बाली र जात छनोट गर्ने, बाली चक्र अपनाउने तथा सम्बन्धित मन्त्रालयले राहत एवं सिँचाइका पाइप उपलब्ध गराउने विषय प्रतिवेदनमा उल्लेख गर्ने निर्णय भएको थियो ।
यस्तै, सुख्खाग्रस्त बनगाडका वडा नं. १, ३, ६ लगायतका विभिन्न स्थानमा डिप बोरिङ तथा लिफ्ट प्रणालीका सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गरी योजना सञ्चालन गर्ने विषय पनि प्रतिवेदनमा समावेश गर्ने निर्णय भएको थियो ।
समयमै पानी नपर्दा यस वर्ष उत्पादनमा केही कमी आउन सक्ने चिन्ता कायमै रहे पनि ब्याडमै बीउ सुकेर पूरै खेत बाँझो रहने अवस्था भने नरहेको बताइएको छ ।








































