२०८३ भदौ ८ सोमवार | Monday, Aug 24 2026

सामाजिक सत्यको अभिव्यक्ति ‘जङ्गबहादुर पनि हाँस्छ ?’

नेपाली साहित्यको क्षेत्रमा खास गरी आख्यानकार र कविका रूपमा सुपरिचित नारायण तिवारी ‘केवल रित्तो संसार छ’ शीर्षकको पहिलो कविता प्रकाशनका माध्यमबाट विसं २०३३ मा यस क्षेत्रमा देखा पर्नुभएको हो । आफ्नो १२ औँ प्रकाशनका रूपमा ‘जङ्गबहादुर पनि हाँस्छ ?’ शीर्षकको कथासङ्ग्रह प्रकाशनले पनि मूल रूपमा नेपाली आख्यान क्षेत्रका एउटा सशक्त आख्यानकारका रूपमा उहाँलाई स्थापित गर्न पुगेको छ ।

तिवारीका अधिकांश कथामा अभिधाभन्दा बढी लक्षणा र लक्षणाभन्दा बढी व्यञ्जना शब्दशक्तिको बाहुल्य पाइन्छ । प्रस्तुत पुस्तकका कथाका कतिपय वाक्य र वाक्यांशमा व्यञ्जनावृत्तिको चमत्कारपूर्ण अर्थ ध्वनित हुन पुगेको छ । कतिपय कथामा वक्रशैलीयुक्त भावाभिव्यक्ति सन्निहित भएको पाइए तापनि तिनमा कतै पनि वक्रदृष्टि सम्प्रेषण भएको पाइँदैन । सकारात्मक सचेतनाप्रतिको जागरुकता उहाँका कथाहरूको प्राण नै हो । ‘जङ्गबहादुर पनि हाँस्छ ?’ शीर्षकको उहाँको यो कथासङ्ग्रह पनि यसबाट पृथक् छैन ।

समस्यैसमस्याको भुँमरीमा परेको वा पारिएका मान्छेहरूले दिनहुँ पिल्सिन परे पनि आपूmलाई बचाउने प्रयासमा जसोतसो जीवन घिसारिरहेका विविध किसिमका मान्छे र उसकै परिवेशको सशक्त चित्रण यसमा छ । अनेकौँ जीवन–प्रसङ्गका मार्मिक चित्रणले प्रत्येक पाठकको हृदयलाई राम्ररी स्पर्श गर्न सक्ने सामथ्र्य कथाहरूले वहन गरेका छन् ।

आजको २१ औँ शताब्दीको समयसन्दर्भमा पनि नेपाली समाजमा आपसी विश्वासयुक्त परिवेश कसरी र कुन रूपमा क्षीण हुँदै गएको छ ? विश्वासयुक्त परिवेशको अभावमा स्वपरिवारभित्रको प्रेम, स्नेह, सहयोग र सद्भावना आदिको पक्ष कति र कुन रूपमा विशृङ्खलित हुँदै गइरहेको छ ? भन्ने यथार्थको चित्रण यसमा सङ्गृहीत कथाहरूले गरेका छन् ।

कथाहरू एक जातिले अर्को जातिप्रति अभिव्यक्त गर्ने दुर्भावनाजन्य क्रियाकलापको विपक्षमा खुलेरै उभिएका छन् । जताततै लालचले कब्जा जमाएको आजको समाजको परिवेश र परिस्थिति अनि कानुनी राज्यमा राजनीतिक क्रियाकलापयुक्त खराबीका कारण मानिसले बन्दी अवस्थामा मृत्युवरण गर्नुपर्ने स्थितिको विरोध कथाहरूले गरेका छन् ।

जातपात, उँचनीच, छुवाछुत जस्ता सामाजिक विकृति र विसङ्गतिप्रति कथाहरूले असहमति अभिव्यक्त गरेका छन् । मानिस जन्मँदै कोही ‘काजी’ र कोही ‘पाजी’ का रूपमा जन्मँदैन । जन्मँदा जुनसुकै मानिस मानिस नै भएर जन्मन्छ– कोही ‘उच्च’ र कोही ‘तुच्छ’ भएर जन्मँदैन ।

सत्य यो भए पनि समाजको सामाजिक परिवेश, रूढिवादी सोचमा आधारित विकृत संस्कार, यसमा आधारित विविध किसिमका असङ्गत व्यवहार आदिले मानिस–मानिसका बिच कसरी र कुन रूपमा विभेद गर्न पुगिरहेको हुन्छ भन्ने यथार्थ–सत्यको चित्रण पनि कथाकार नारायण तिवारीको ‘जङ्गबहादुर पनि हाँस्छ ?’ शीर्षकभित्रका कथाहरूले गरेका छन् ।

यसरी समाजमा देखा पर्ने विविध किसिमका अधमतामा आधारित अनेकौँ किसिमका छुद्रता र नीचताको पराकाष्ठायुक्त व्यवहारको यथार्थपरक चित्रणलाई यो कथामा कथ्यका रूपमा प्रकाश पार्ने काममा पनि कथाकारलाई सफलता मिलेको छ ।

पुस्तकभित्रका कथाहरू आजको सामाजिक सत्य र यथार्थमा आधारित छन् । समसामयिक समाजका विविध सत्यलाई यथार्थपरक रूपमा अभिव्यक्त गरिएको साहित्य नै सही साहित्य पनि हो । जीवनका विविध सत्य, मानव–प्रवृत्ति र उसको व्यवहार अनि देश, काल, वातावरण र समाजको यथार्थपरक चित्रणहरू कथामा गरिएका छन् ।

यसका माध्यमबाट आजको समाज, मानव–जीवनका विविध पक्ष र गतिविधिको वर्णन, जीवनकै व्याख्या अनि आलोचनाका कसीमा कथाहरूले सुधारको अपेक्षा राखेका छन् । यसका माध्यमबाट कथाहरूले मनभित्र न्यायवृत्ति र सौन्दर्यवृत्ति आदिको बीजारोपण गर्दै ‘वसुधैव कुटुम्बकम्’ को भावनालाई यथार्थ रूपमा परिभाषित गर्न सबै अग्रसर हुनुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

मानिसमा पाइने आडम्बरी प्रवृत्तिले अरूभित्र भएको अलिकति सद्भावलाई पनि घृणामा परिवर्तित गरिदिन्छ । ठुलो पदको अहङ्कारमा डुबेर अरूलाई केही नठान्ने वा नगन्ने प्रवृत्ति क्षणिक हुन्छ । मानिस मानिस नै हो । ठुलो पदमा पुगेको मानिस ठुलो र सानो पदमा भएको वा कुनै पद नै नपाएको मानिस सानो हुँदैन । ठुलो र अग्लो हुँदैमा वा घुम्ने मेचमाथि बस्दैमा मानिस ठुलो र महान् हुने अनि पुड्को र होचो हुँदैमा सानो हुने हुँदैन ।

मानिस ठुलो हो कि सानो हो भन्ने कुरा उसका विचार, व्यवहार, आचरण र क्रियाकलाप आदिले निर्दिष्ट गर्छ । तिवारीका ‘हुन्डरी’, ‘सार्वभौमसत्ताको कथा’, ‘लीला’, ‘गोडधुवा’, ‘जा मलाई तेरो के मतलब’, ‘जमाना खराब छ’, ‘जङ्गबहादुर पनि हाँस्छ ?’, ‘साथ’, ‘यो कुनै खास कुरा होइन’, ‘टुंग–टुंग’ आदि अनेकौँ कथा यसको साक्ष्य उदाहरण बनेका छन् ।

मानिसको कर्म मनुष्यताविरोधी हुन नपाओस् र कुनै पनि मानिसले आत्मसम्मानयुक्त जीवन बाँच्न पाओस् भन्ने किसिमको मनुष्यत्वको खोजी यसमा सङ्गृहीत प्रत्येक कथाले गरेका छन् । समाजलाई द्वन्द्व, अहङ्कार, क्रोध, द्वेष, ईष्र्या आदि दुर्गुणबाट मुक्त राखी सुन्दर, सभ्य र सत्य समाज–निर्माणको दिशामा सबै अग्रसर हुनुपर्ने अपेक्षा कथाहरूले गरेका छन् ।

यसरी कथाकार नारायण तिवारीको यो कथासङ्ग्रहमा सङ्गृहीत कथाले आजको मानव–समाजलाई सत्कर्मप्रति जागरुक हुनुपर्ने सन्देश प्रवाह गरेका छन् ।

स्पष्ट छ– कथाकारले नेपाली समाजका विविध घटना–सन्दर्भलाई टपक्क टिपेर कथा लेखेका छन् । कथामा आजका मानिसका जीवनका आकाङ्क्षा, मानिसले भोग्नु परिरहेको विविध किसिमका तनाव, जीवनका सङगति–असङ्गति, सफलता–असफलता र अन्तद्र्वन्द्व आदि पक्षको राम्रो चित्रण गरिएको छ ।

यसका माध्यमबाट अत्यन्त खराब प्रवृत्ति भएको मानिसको हृदयमा पनि पूर्ण रूपमा खराब प्रवृत्ति मात्र व्याप्त हुँदैन, उसको अन्तर्मनभित्र पनि कुनै न कुनै रूपमा मनुष्यत्व वा देवत्वको भावना लुकेको हुन सक्छ भन्ने मनोवैज्ञानिक पक्षलाई उद्घाटित गर्ने कार्यमा पनि कथाकारले सफलता पाएका छन् । समाजका सबै पक्षमा सम्यक् दृष्टि दिएर सकेसम्म समाजका सबै किसिमका मानिसका चरित्र–चित्रण गर्ने सार्थक प्रयास कथाहरूले गरेका छन् ।

यस क्रममा तराईका खास गरी विविध ग्रामीण समाजका लोक–जीवनका विविध पक्षको यथार्थका साथै भाषा, भूगोल, संस्कार, संस्कृति अनि मानसिक तृप्ति–अतृप्ति आदि विविध पक्षको यथार्थपरक झलक पनि कथामा पाउन सकिन्छ । कथोपकथनका क्रममा तत् तत् क्षेत्रका पात्रपात्राहरूका सापेक्षतामा स्थानीय बोलीचालीको भाषालाई महत्व प्रदान गरी स्थान दिइएको पाइन्छ । कथामा सरल र बोधगम्य भाषाशैलीको प्रयोग भएको छ ।

केही कथामा कोशी प्रदेशमा बोलिने भाषाको प्रयोग–बाहुल्यता पाइन्छ । कतिपय शाब्दिक प्रयोगमा भने एकरूपता पाइँदैन । उदाहरणका लागि कतै ‘दोकान’ कतै ‘दुकान’ अनि ‘काठमाडौं’ र ‘काठमान्डु’ आदि शब्द यसका दृष्टान्त बनेका छन् । कथाको विषय, दृष्टिकोण, शैली र विविध जीवन–सन्दर्भ आदिको जीवन्त र हृदयस्पर्शी वर्णन अनि क्रियाकलापको स्वाभाविक चित्रणले कथाहरूलाई आकर्षक तुल्याउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न सकेको छ ।

लोकजीवनका विविध सन्दर्भमा केन्द्रित भई अघि बढेको ‘जङ्गबहादुर पनि हाँस्छ ?’ शीर्षकको यो कथासङ्ग्रहमा समावेश सबै कथा संवेदनशील कथा–सिर्जनाका रूपमा देखा परेका छन् । उपर्युक्त विविध कारणले गर्दा सबैका लागि यो पुस्तक पठनीय मात्र नभई सङ्ग्रहणीय पनि बन्न पुगेको देखिन्छ ।