२०८३ भदौ ९ मंगलवार | Tuesday, Aug 25 2026

सिँचाइ अभावमा खेत बाँझै, किसान चिन्तित

घोराही । जिल्लाका अधिकांश स्थानमा धान रोपाइँ सकिएर किसान गोडमेल र मल हाल्ने काममा व्यस्त भइरहेका बेला सिँचाइ सुविधा नहुँदा दाङका केही क्षेत्रमा भने खेत बाँझै रहेका छन् । पर्याप्त वर्षा नहुँदा घोराही उपमहानगरपालिका–८ ढिकपुरका किसान जगदीशकुमार हरिजनको खेतमा समेत धान रोपाइँ हुन सकेको छैन ।

कुवाको पानीबाट घरनजिकैको खेतमा सिँचाइ गरेर धान रोपे पनि पर्याप्त पानी नहुँदा टाढाको खेत बाँझै रहेको हरिजनले बताउनुभयो । सिँचाइ सुविधा नहुँदा र आकाशे पानीसमेत पर्याप्त नपर्दा धान रोप्न नसकिएको उहाँको भनाइ छ । कुवाको पानी मोटरबाट तानेर घरनजिकको खेतमा रोपाइँ गरे पनि टाढाको जग्गामा पानी पुर्‍याउन नसकिएको उहाँले बताउनुभयो ।

“खेतमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म धान रोप्न सकेका छैनौँ, खेत बाँझै छ,” किसान हरिजनले भन्नुभयो, “धान उत्पादन गरेर वर्षभरि खानका लागि जोहो गर्ने र बढी भएको बिक्री गरेर घरखर्च चलाउने हुन्थ्यो । यो वर्ष खेती नै नहुँदा चिन्ता बढेको छ ।”

हरिजनजस्तै ढिकपुर निवासी टेकबहादुर खड्काले पनि पर्याप्त वर्षा नहुँदा धान रोप्न नसकिएको बताउनुभयो । घरको कुवासँगै कतिपय किसानले ढिकपुर जलाशयको पानी मोटरबाट तानेर धान खेती गरे पनि पानीको अभावका कारण धेरै किसानको खेत अझै बाँझै रहेको उहाँले बताउनुभयो ।

आकाशे पानीको भरमा धान खेती गर्ने किसानले सिँचाइ सुविधा नहुँदा समयमै रोपाइँ गर्न नपाएको र यसले उत्पादनमा कमी आउने चिन्ता बढाएको खड्काले बताउनुभयो ।

ढिकपुरसँगै घोराही उपमहानगरपालिका–९ बकुलाईका किसान निमबहादुर केसीको खेतमा पनि धान रोपाइँ हुन सकेको छैन । सामान्य अवस्थामा असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म रोपाइँ सकिने भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा खेत बाँझै रहेको उहाँले बताउनुभयो । धान रोप्नका लागि ब्याड राखेर खेतसमेत पहिलोपटक जोते पनि पर्याप्त पानी नपर्दा रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ ।

“ब्याड राख्यौँ, खेत पनि जोतिसक्यौँ । पानी परेपछि फेरि जोतेर रोप्ने तयारी थियो तर पानी नै पर्याप्त परेन,” उहाँले भन्नुभयो, “ब्याडसमेत पहेँलो हुन थालेको छ ।”

बकुलाईमा मात्रै करिब २० देखि २५ बिघा खेत बाँझै रहेको किसानले बताएका छन् । सिँचाइका लागि डिपबोरिङ खनिए पनि पर्याप्त पानी नआउँदा समस्या भएको उनीहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धान खेती हुने ३६ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ३४ हजार ४०० हेक्टरमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भए पनि भरपर्दो सिँचाइको व्यवस्था नभएका क्षेत्रमा अझै केही खेत बाँझै रहेको केन्द्रले जनाएको छ ।