२०८३ भदौ ८ सोमवार | Monday, Aug 24 2026

गति लिँदै तामाकोशी पाँचौँ

काठमाडौँ । वनक्षेत्र तथा सार्वजनिक जग्गा प्रयोगको अनुमति प्राप्तिमा ढिलाइ भए पनि तामाकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माणले पछिल्लो समय गति लिएको देखिएको छ ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बनाएको तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले नै निर्माण गर्न लागेको ९९.८ मेगावाट क्षमताको यो आयोजना निर्माणले गत असार मसान्तसम्ममा २१.६८ प्रतिशत समग्र भौतिक प्रगति हासिल गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आयोजनालाई आवश्यक पर्ने वनक्षेत्र तथा सार्वजनिक जग्गाको भोगाधिकार प्राप्तिमा भएको ढिलाइले करिब आठ महिना सम्पूर्ण निर्माण ठप्प भएको थियो । दोलखाको बिगु गाउँपालिकामा आयोजना बन्दै छ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आयोजना निर्माण रोक्न पत्राचार गरेपछि २०८२ असारदेखि अवरुद्ध भएको निर्माण गत फागुन अन्तिम सातादेखि सुचारु भएको थियो । काम रोकिएका बेला करिब १९ प्रतिशत रहेको भौतिक प्रगति पुनः कार्य प्रारम्भ भएको चार महिनाभित्रै २.६८ प्रतिशत विन्दुले बढेर २१.६८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश रहेको यो आयोजना ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपश्चात् निस्किएको पानी विद्युत्गृहमा पठाएर विद्युत् उत्पादन गरिने क्यासकेड आयोजना हो । यो आयोजनाका लागि बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका संरचना बनाउनु नपर्ने भएकाले यो आयोजना लागत प्रभावी र आकर्षक मानिएको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब ९५ करोड रुपियाँ लागत अनुमान रहेको छ । आयोजनामा कर्मचारी सञ्चय कोषको मात्रै १३ अर्ब ७४ करोड रुपियाँ ऋण लगानी छ ।