२०८३ भदौ ८ सोमवार | Monday, Aug 24 2026

पर्यटकीय गन्तव्य नै मुख्य आयस्रोत

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको सञ्चालन तथा व्यवस्थापन आय ठेक्का प्रणालीमार्फत गर्दै आन्तरिक आम्दानी बढाएको छ ।

सो गाउँपालिकाले आव २०८३/८४ मा पनि पर्यटकीय सम्पदालाई व्यवस्थित रूपमा सञ्चालन तथा उपयोग गर्दै आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्यसहित आय ठेक्कामा लगाउने तयारी गरेको छ । पालिकाभित्र रहेका पर्यटकीय स्थल पुनहिल, पाउद्वार तातोपानी कुण्ड, रातोपानी तातोपानी कुण्ड र रुप्से झरनालाई ठेक्कामा लगाएर पालिकाले चालु आर्थिक वर्षमा एक करोड ३० लाख ६६ हजार ५५५ रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो ।

गएको असार १५ गते ठेक्काका लागि सिलबन्दी बोलपत्र आह्वान गरे अनुसार बोलपत्र मूल्याङ्कन समितिबाट स्वीकृतिका लागि सिफारिस भई छनोट भएका बोलपत्रदातासँग सम्झौताका लागि आशयको सूचनासमेत प्रकाशित भइसकेको छ । प्रमुख प्रशासकीय अधिकृत पाण्डे पुनहिलमा चिया पसल सञ्चालन र प्रवेश शुल्क सङ्कलनका लागि पालिकाले ५२ लाख ५० हजार रुपियाँ न्यूनतम शुल्क निर्धारण गरी ठेक्का आह्वान गरेको बताउनुहुन्छ । भुरुङ तातोपानीमा भने अहिले पूर्वाधार निर्माण योजना अघि बढाउने भएकाले ठेक्कामा नलगाइएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभयो । छनोट भएका बोलपत्रदातालाई सम्झौताका लागि सूचना जारी गरिएको छ । बोलपत्र अनुसारको रकम अग्रिम रूपमा जम्मा गरेमा कार्यविधि अनुसार १० प्रतिशत छुट दिएर ठेक्का सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ ।

घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्ड रहेको यस गाउँपालिकाको वडा नम्बर ४, नारच्याङमा विश्वको १० औँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्धन गर्दै स्थानीयको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनेतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उल्लेख गर्नुभयो ।