२०८३ भदौ ८ सोमवार | Monday, Aug 24 2026

पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श

  • कोषले पशुपतिनाथ मन्दिरमा अर्पण गरिने जल शुद्ध बनाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पानी ल्याउनेबारे परामर्श थालेको छ ।
  • गोकर्णेश्वर नगरपालिकाले एक करोड र बागमती प्रदेश सरकारले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराउने सुनिश्चित गरेको थियो ।

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा जल स्नान एवं दैनिक अभिषेक गर्न बागमती नदीको मुहान वाग्द्वारबाटै पानी ल्याउने गृहकार्य आरम्भ भएको छ । पशुपति क्षेत्र विकास कोष र स्थानीय तहको समन्वयमा बागमतीको मुहानबाटै पानी ल्याउन कति सम्भव छ ? भन्नेबारे गृहकार्य सुरु गरिएको हो ।

पशुपतिनाथका महन्त स्वामी गोकुलानन्दका अनुसार हाल बागमती नदीको पानी दूषित हुँदा मन्दिर परिसरकै इनारको पानी अभिषेक एवं स्नानका लागि प्रयोग गरिन्छ । कोषले पशुपतिनाथ मन्दिरमा अर्पण गरिने जल शुद्ध बनाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पानी ल्याउनेबारे परामर्श थालेको छ । कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बागमती नदीको मुहान क्षेत्रबाट करिब २१ किलोमिटर लामो पाइपलाइनमार्फत पशुपतिनाथमा स्वच्छ जल ल्याउन कोषले प्रारम्भिक छलफल सुरु गरेको हो ।

उहाँले पशुपतिनाथमा चढाइने बागमतीको जल प्रदूषित रहेकाले विकल्पका रूपमा मुहानकै शुद्ध पानी ल्याउने सोच बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथलाई चढाइने जल शुद्ध होस् भन्ने हाम्रो चाहना हो । वाग्द्वारदेखि पशुपतिसम्मको दुरी करिब २१ किलोमिटर छ । यसका लागि प्राविधिक सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेपछि काम अगाडि बढ्ने छ ।” उहाँले परियोजनालाई आगामी बजेट र कोषको परिषद् बैठकमा छलफलको एजेन्डा बनाइने बताउनुभयो ।

स्थानीय तहको सहयोग

बागमती नदीको मुहानबाटै पानी ल्याउन स्थानीय तहले पनि पहल गरेका छन् । कोषका पूर्वसदस्यसचिव डा. मिलनकुमार थापाले गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकासँग संवाद गरी बागमती नदीको बहाव क्षेत्रबाटै पाइपलाइन बनाएर पानी ल्याउने कार्ययोजना अघि बढाइएको जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले बहुप्रतीक्षित यो योजना अघि बढाउन स्थानीय तहले आर्थिक सहयोग गर्ने बताउनुभयो । उहाँले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र पशुपति क्षेत्र विकास कोषबिच सहमति नहुँदा आयोजना अघि बढ्न नसकेको बताउनुभयो । पानी ल्याउने विषयमा गत बर्सै समझदारी भए पनि प्राविधिक र कानुनी अड्चनका कारण काम रोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले आयोजनाका लागि सहमति नदिएपछि काम अघि बढेन । पशुपति क्षेत्र विकास कोषले पनि पाइपबाट पानी लैजानुभन्दा बागमती नदीलाई नै प्राकृतिक रूपमा सफा राख्नुपर्ने धारणा राखेपछि आयोजना अघि बढ्न सकेन ।”

प्रमुख रिसालले आयोजनाका लागि बजेट व्यवस्था भइसकेको बताउनुभयो । उहाँका अनुसार गोकर्णेश्वर नगरपालिकाले एक करोड र बागमती प्रदेश सरकारले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराउने सुनिश्चित गरेको थियो । उहाँले भन्नुभयो, “तर सम्बन्धित निकायको सिफारिस र सहमति नहुँदा विनियोजित बजेट खर्च हुन सकेन । वाग्द्वारबाट पानी ल्याउँदा राम्रो हुन्छ, यो सबैले बुझ्न जरुरी छ ।” प्रमुख रिसालले नगरपालिका आयोजनाको सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले यस विषयमा निकुञ्जलाई पुनः पत्राचार गरिसकेका छौँ । आवश्यक सहमति प्राप्त हुनासाथ आयोजनाको काम अघि बढ्ने छ ।”

पूर्वस्वीकृत अनिवार्य : निकुञ्ज 

पशुपतिनाथ मन्दिरमा अभिषेकका लागि शिवपुरीस्थित वाग्द्वारबाट पानी ल्याउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले पूर्वस्वीकृति लिनु पर्छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी शिवलाल गैरेले निकुञ्जसँग कुनै औपचारिक समन्वय नभएको बताउनुभयो । उहाँका अनुसार सम्भाव्यता अध्ययनका लागि अनुमति लिइएको हुन सक्ने भए पनि आयोजनै कार्यान्वयन गर्ने विषयमा अहिलेसम्म कुनै सहमति भएको छैन । उहाँले भन्नुभयो, “निकुञ्ज क्षेत्रभित्रको स्रोत परिचालन गर्नुअघि निकुञ्ज प्रशासनको अनुमति लिनु कानुनी रूपमा अनिवार्य छ । अनुमति नलिई त्यहाँको पानी लैजान मिल्दैन ।”

संरक्षण अधिकृत गैरेले स्वीकृति दिने नदिने विषयमा कार्यालयको निर्णय र कानुनी प्रावधानमा भर पर्ने बताउनुभयो । उहाँले पशुपतिमा वाग्द्वारको शुद्ध पानी ल्याउने योजना धार्मिक रूपमा महत्वपूर्ण मानिए पनि निकुञ्जको पर्यावरणीय सन्तुलन र कानुनी प्रक्रियालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अनुमति दिने वा नदिने भन्ने कुरा ऐन, नियम र कार्यालयको निर्णयमा आधारित हुन्छ । अहिलेसम्म अनुमति दिनै पर्छ वा दिनै हुँदैन भनेर कतै पनि स्पष्ट लेखिएको छैन, यो प्रक्रियागत निर्णयको विषय हो ।”