भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा प्रख्यात सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। पोखरीको संरक्षण, पुनःसंरचना र सौन्दर्य अभिवृद्धिका लागि विभिन्न निर्माण तथा व्यवस्थापनका कामहरू भइरहेको उपभोक्ता समितिले जनाएको छ।
निर्माण कार्यमा संलग्न अधिकांश महिला तथा पुरुष कामदारहरू यसअघि भक्तपुरको सिद्धपोखरी, काठमाडौँको रानीपोखरी लगायतका ऐतिहासिक पोखरीहरूको पुनर्निर्माण तथा संरक्षण कार्यमा अनुभव हासिल गरिसकेका दक्ष जनशक्ति रहेका छन्।

सौन्दर्यीकरण अन्तर्गत पोखरी परिसरमा विभिन्न प्रजातिका फूलहरू रोप्ने कामसमेत गरिएको छ। निर्माण कार्यलाई सहज बनाउन सिद्धपोखरीको पानी हाल नजिकै रहेको भाज्यपुखुमा राखिएको छ। सिद्धपोखरीमा रहेका माछाहरूलाई पनि सुरक्षित रूपमा भाज्यपुखुमा सारिएको जनाइएको छ।
उपभोक्ता समितिका अनुसार हाल निर्माण तथा स्तरोन्नतिका कामहरू योजना अनुसार अघि बढिरहेका छन्। सम्पूर्ण कार्य आगामी भदौ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ।























































