सुलीकोट । ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सामग्रीको संरक्षण र प्रदर्शन गर्दै आएको गोरखा सङ्ग्रहालयमा महत्वपूर्ण सम्पदाको तस्बिर प्रदर्शनी सञ्चालन भइरहेको छ । हनुमानढोका दरबार सङ्ग्रहालयको आयोजनामा सुरु भएको साताव्यापी प्रदर्शनीले विद्यार्थी तथा सर्वसाधारणको आकर्षण बढाएको छ ।
गोरखा सङ्ग्रहालयको प्राङ्गणमा राखिएको प्रदर्शनीमा नेपालका प्राचीन तथा मध्यकालीन इतिहास झल्कने ५० भन्दा बढी तस्बिर प्रदर्शन गरिएको गोरखा दरबार सङ्ग्रहालय गोरखाका प्रमुख जयनारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा गोरखा दरबार, नुवाकोट दरबार, पाल्पा दरबार, जनकपुरस्थित रामजानकी मन्दिर, लुम्बिनी, सेतो मत्स्येन्द्रनाथ जात्रा, नौतले दरबारलगायत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका तस्बिर समावेश गरिएको छ ।
प्रदर्शनी कार्यक्रममार्फत विश्वसम्पदा सूचीमा सूचीकृत तथा देशभरका ऐतिहासिक र पुरातात्त्विक सम्पदाबारे जानकारी गराउने उद्देश्य राखिएको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार विद्यालय तथा कलेजका पाठ्यक्रमसँग सम्बन्धित सम्पदाका तस्बिर समावेश गरिएकाले विद्यार्थी र शिक्षकको विशेष रुचि देखिएको छ । उहाँले भन्नुभयो, “विद्यार्थीका लागि प्रदर्शनी निःशुल्क गरिएको छ भने अन्य अवलोकनकर्ताले पनि सङ्ग्रहालयको नियमित प्रवेश शुल्कमै प्रदर्शनी हेर्न सक्ने व्यवस्था गरिएको छ ।”









































