२०८३ वैशाख ७ सोमवार | Monday, Apr 20 2026

“मातातीर्थ औंशी” अर्थात आमाको मुखहेर्ने दिनकाे महत्व

“मातातीर्थ औंशी” अर्थात आमाको मुखहेर्ने दिन र “कुशे औंशी” अर्थात बुवाको मुखहेर्ने दिन l अनि “फादर्स डे” (Father’s Day) र “मदर्स डे” (Mother’s Day) l कृपया यी दुई बिचको भिन्नता जनिराखौ l

(कृपया पुरै लेख नपढीकन “Happy Mother’s Day” भनेर प्रतिक्रिया नलेख्नु होला l)

“मातातीर्थ औंशी” (जसलाई आमाको मुख हेर्ने दिनपनि भनिन्छ) र “मदर्स डे” (Mother’s Day); यी दुई नितान्त फरक पर्वहरु हुन, एउटै होईनन l त्यसैगरी “कुशे औंशी” (जसलाई बुवाको मुख हेर्ने दिनपनि भनिन्छ) र फादर्स डे (Father’s Day) पनि नितान्त फरक फरक पर्वहरु हुन l

“मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन” हरेक बैसाख कृष्ण औंशीका दिनमा मनाईन्छ भने मदर्स डे (Mother’s Day) फरक फरक देशहरुमा आ-आफ्ना विश्वास र पायक पर्नेगरी फरक फरक दिनमा नै मनाईन्छ l

अमेरिकाको हकमा भने हरेक मे (May) महिनाको दोश्रो आईतवार (अर्थात छुट्टीकै दिन पारेर मात्र मदर्स डे) मनाईन्छ l त्यसैगरी “कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिन” हरेक भाद्रकृष्ण औंशीका दिनमा मनाईन्छ भने फादर्स डे (Father’s Day) अमेरिकामा हरेक जुन (June) महिनाको तेश्रो आईतवार (अर्थात छुट्टीकै दिन पारेर मात्रै फादर्स डे) मनाईन्छ l अनि यी दुई पर्वहरुको उद्धेश्यपनि अलिक फरक नै छ l

मदर्स डे र फादर्स डे मा छोराछोरीहरुले आफ्ना बाउ-आमालाई भेट्ने, उनीहरुलाई मनपर्ने उपहारहरु दिने र त्यसपछि सवैजना सँगै बसेर खानपिन गरी रमाउने गरिन्छ l तर आफ्ना बाउ-आमाको मृत्यू भईसकेको छ भने पूर्वीय दर्शनमा जस्तो वहाँहरुको नाममा उक्त दिनमा अन्य कुनै विशेष कर्म गर्नुपर्ने व्यवस्था हुँदैन l

जस्तो कि पूर्वीय मान्यतामा मातातीर्थ र कुशे औंशीका दिनमा आफ्ना स्वर्गीय बाउ-आमाको नाममा विभिन्न धार्मिकस्थलमा गएर तर्पण, पिण्डदान र सिदा दान गर्ने गरिन्छ l त्यस्तैगरि मातातीर्थ र कुशे औंशीका दिनमा आफ्ना बाउ-आमा हुनेले बिहानै उठेर नुहाईधुवाई गरी शुद्ध भएर श्रद्धापुर्वक आफ्ना बुवा-आमालाई फलफुल लगायत मिठा मिठा खानेकुराहरु खुवाउने, नयाँ कपडाहरु उपहारस्वरुप दिने र अनि वहाँहरुवाट सन्तानले आशिर्वाद लिने गरिन्छ l

तर बुवा-आमाको स्वर्गवास भईसकेको अवस्थामा भने उनका सन्तान (खासगरी छोरा) ले बिहानै उठेर नुहाई धुवाईगरि शुद्धभई नदि खोलामा गई आफ्ना स्वर्गवासी बुवा आमाको नाममा तर्पण गर्ने, विधिपूर्वक पिण्डदान गर्ने र सिदादान गर्ने गरिन्छ l त्यसका लागी सम्भव भएमा मातातीर्थ औशीका दिनमा “मातातीर्थधाम” नामको धार्मिकस्थल र कुशे औंशीका दिनमा “गोकर्णेश्वरधाम, बेत्रावतीधाम” जस्ता धार्मिकस्थलमै गएर तर्पण, पिण्डदान र सिदा दान गरेर पितृ ऋणमोचन गर्ने चलन छ l

त्यसैले मातातीर्थ औंशी र कुशे औंशी अनि फादर्स डे र मदर्स डे; यी दुई पर्वहरु नितान्त फरक पर्वहरु किन पनि हुन भने “मातातीर्थ र कुशे औंशी पूर्वीय मान्यताअनुसार मनाईन्छ भने फादर्स र मदर्स डे पश्चिमी मान्यता अनुसार मनाईन्छ l” त्यसैले ति दुई फरक फरक विषयहरु मनाउने दिन, त्यसको विधि र विश्वासबीच समेत ठुलो भिन्नता छ l

पूर्वीय दर्शनमा आमालाई “मातृदेवो भव:” र बुवालाई “पितृदेवो भव:” अर्थात “आमा-बुवा भनेका देवता सरह हुन” भनेर सोहि अनुरुप जिवित र मृत्यु भईसकेका दुवै अवस्थामा बुवा-आमालाई फरक फरक ढंगले पुजा, अर्चना र पितृकर्म गर्ने गरिन्छ l

पूर्वीय दर्शन अर्थात सनातन वैदिक शास्त्रमा बाउ-आमाप्रति गर्ने कर्म अर्थात पितृकर्मलाई निकै गहनताका साथ व्यवस्थित गरिएको छ l त्यसको कारण के हो भने हरेक मनुष्यले आफ्नो जीवनकालमा तीनवटा ऋणहरु तिर्नैपर्छ भनिएको छ र ति तिन ऋणहरु हुन “देवऋण, ऋषिऋण र पितृऋण l” त्यसैले जीवित रहँदा र मृत्यु भईसकेको अवस्थामा समेत पितृहरुलाई गर्नुपर्ने कर्महरुका लागी निश्चित विधिहरु तय गरिएका छन l

तसर्थ “मातातीर्थ औंशी र कुशे औंशी” यी दुवै दिनमा जीवित वा मृत माता-पिताका लागी गर्ने कर्महरुको शुरुवात निकै धेरैबर्ष पहिले अर्थात हजारौ हजार बर्ष पहिलेदेखि नै भएको देखिन्छ l

तर पश्चिमी संस्कृतिमा प्रयोगमा ल्याईएको “फादर्स डे र मदर्स डे” को शुरुवात भएको त्यति धेरै भएको छैन l फादर्स डे को शुरुवात जुन १९, १९१० र मदर्स डे को शुरुवात मे १०, १९०८ देखि भएको देखिन्छ l अर्थात फादर्स डे र मदर्स डे को प्रचलन शुरु भएको त्यस्तै एकसय पन्ध्र-सत्रबर्ष जतिमात्रै भएको छ l

त्यसैले कृपया याद राखौ, कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिन हरेक भाद्रकृष्ण औंशीका दिनमा अर्थात निश्चित तिथिअनुसार मात्रै मनाईन्छ भने फादर्स डे (Father’s Day) हरेक जुन (June) महिनाको तेश्रो आईतवार (छुट्टीकै दिनमा पारेर मात्रै) अर्थात निश्चित मितिअनुसार मात्रै मनाईन्छ, जुन नेपाली पात्रो अनुसार जेष्ठ वा आषाढ महिनामा पर्छ l यसप्रकार बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंशी र फादर्स डे (Father’s Day) को बिचमा २-३ महिनाको फरक हुन्छ l

त्यस्तैगरि मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन हरेक बैसाखकृष्ण औंशीका दिनमा अर्थात निश्चित तिथिअनुसार नै मनाईन्छ भने मदर्स डे (Mother’s Day) फरक फरक देशहरुमा फरक फरक दिनमा मनाईन्छ l

तर अमेरिकामा भने हरेक मे (May) महिनाको दोश्रो आईतवार (छुट्टीकै दिन पारेर मात्रै) अर्थात निश्चित मितिअनुसार मात्रै मदर्स डे मनाईन्छ l त्यसैले कृपया स्पष्ट होऔं, “मातातीर्थ औंशी र मदर्स डे” अनि “कुशेऔंशी र फादर्स डे” एउटै दिनमा पर्दैनन l त्यसैले “कुशेऔंशी” को दिनमा “ह्याप्पी फादर्स डे” र “मातातीर्थ औंशी” को दिनमा “ह्याप्पी मदर्स डे” नभन्नुहोला l

त्यस्तैगरि “फादर्स डे” को दिनमा “कुशे औंशीको शुभकामना” र “मदर्स डे” को दिनमा “मातातीर्थ औंशीको शुभकामना” पनि नभन्नुहोला, किनकी यी दुवै दिन, त्यसका विषयहरु र मान्यता नै नितान्त फरक हुन l

अप्प: दीपो भव: आफ्नो दीप अर्थात प्रकाश आफै बनौं l भवतु: सब्ब मङ्गलम: सवैको मंगल होस, कल्याण होस् l मातातीर्थ औंशीको उपलक्ष्यमा सम्पूर्ण आमाहरुमा सतत नमन ।