२०८३ जेठ १९ मंगलवार | Tuesday, Jun 02 2026

संसद्को हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को यही हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताउनुभएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख घिमिरेले विद्यालय विधेयक पारित भएपछि शिक्षा क्षेत्रका समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो ।

“राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन आइसके पनि शिक्षामा पुरानै ऐनबाट काम चलाउनु परेको छ”, उहाँले भन्नुभयो, “संसद्को यही हिउँदेसत्रमा नयाँ शिक्षासम्बन्धी ऐन पारित गर्न हामी सबैको कोशिस हुनेछ ।” शिक्षा नीतिमा एक्काइसौं शताब्दी र विद्यमान परिस्थितिलाई सुहाउने किसिमको सुधारको खाँचो रहेको उल्लेख गर्दै सभामुख घिमिरेले समाजलाई अग्रगतिमा लैजाने माध्यम नै शिक्षा भएको बताउनुभयो ।

शिक्षामा राज्यले अपेक्षाअनुसार लगानी गर्न नसकेको र विद्यार्थीहरुले चाहेअनुसार पढ्न नपाइरहेको जिकिर गर्दै उहाँले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध गराउन र विद्यालयको भौतिक पूर्वाधारमा पर्याप्त बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।