२०८३ भदौ ८ सोमवार | Monday, Aug 24 2026

गिठीको पारो जोगाउँदै धर्मराम

बैतडी । पछिल्लो समय छाई हान्ने गिठीको पारो (मही पार्ने ठेकी) को विकल्पमा विद्युतीय उपकरण भित्रिए पनि चार पुस्तादेखि परम्परागत ठेकी बनाउँदै यसमै रमाएका सिपालु घरपरिवार भेटिएका छन् ।

‘छाई हान्ने गिठीको पारो’ सुदूरपश्चिमका केही देउडा गीतमा मात्रै सीमित भएका बेला पञ्चेश्वर गाउँपालिका–४, आमचोरास्थित उज्ज्वलगाउँका ३५ वर्षीय युवा धर्मराम वडले पुख्र्यौली सिपबाट काठका ठेकी बनाउने काम गर्दै आउनुभएको छ । यसैबाट उहाँको जीविका चलेको बताउनुहुन्छ । उहाँले परम्परागत पानीघट्ट जस्तै कुलो निर्माण गरेर पानीको सहायताले पङ्खा घुमाएर गिठीको काठबाट ठेकी र पारो निर्माण गर्दै आउनुभएको छ ।

गिठीको पारो कोर्दै धर्मरामले भन्नुभयो, “जिजुबाजे नरपते वड, बाजे दानी वड र बुवा कमल वड हुँदै यस्तो सिप पुस्तान्तरण भई मसम्म आइपुगेको छ । मपछिका पुस्ताले चासो दिएका छैनन् ।”

गोरस खान गिठीको पारो स्वास्थ्यका हिसाबले उत्तम भए पनि पछिल्लो पुस्ताले यसलाई वास्ता नगर्दा यो पेसा फस्टाउन नसकेको उहाँको गुनासो छ । परम्परागत सिप संरक्षणका लागि स्थानीय सरकारले पनि चासो नदिएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “सहरमा बस्ने अधिकांश नयाँ पुस्ताले छाई हान्ने गिठीको पारो देखेका पनि छैनन् । मोही पार्ने टिमुरको काठको मदानी, थकाइलोका बोक्राबाट निर्मित पोडा, अल्लो र केतकीको डोरीबाट निर्मित नेती त झन् थाहा नै छैन । अब कसले सिकाउँछ, कसले देखाउँछ होला ?”

गाउँमा बिजुली पुगेसँगै मोही पार्ने विद्युतीय उपकरण भित्रिन थालेपछि ठेकी/पारो गाउँबाट पनि विस्थापित हुने अवस्थामा पुगेको दशरथ चन्द नगरपालिकाका ८५ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर चन्दले बताउनुभयो । मौलिकता हराउँदै गएकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

केही दशकअघिसम्म जिल्लाको शेरा, नकडी, पञ्चेश्वर, शिवनाथ, श्रीकोटलगायतका क्षेत्रमा वड, चुनारा थरका कालिगडले ठेकी र पारो निर्माण गर्दथे । पुराना कालिगडको निधनसँगै सिपसमेत हराएको सामाजिक अगुवा गोविन्दराज जोशीले बताउनुभयो । अन्यन्त्र ठाउँबाट हराइसकेको पेसा पञ्चेश्वरका युवा कालिगड धर्मराम वडले भने जीवित राखेकोमा खुसी व्यक्त गर्नुभयो ।

गोरसका परिकार पनि लोप हुँदै

दुध, दही, मही, घिउ जस्ता गोरसका आमपरिकार भए पनि बैतडीलगायत सुदूरपश्चिका पहाडी जिल्लामा महीबाट ‘गाल्युँ’ बनाउने चलन हराइसकेको छ । मसिनो कोराको कपडामा मही हालेर झुन्ड्याएर बाँकी रहेको बाक्लो थिग्रोलाई गाल्युँ भनिन्छ । भैँसीपालन घट्न थालेपछि गाल्युँ जस्ता परिकार बिरलै पाइन्छन् । चामलमा मही हालेर पकाइने मैरी जस्ता परिकार पनि लोप भइसकेका छन् ।