विसं २०८३ साउन १३ गते नेपालले वयस्क बाघको सङ्ख्या ४२९ भएको तथ्याङ्क सार्वजनिक ग¥यो । जुलाई २९ अर्थात् विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको सो तथ्याङ्कले नेपाल निरन्तर रूपमा बाघ संरक्षणमा सफल भइरहेको सन्देश विश्वसामु दिन सफल भएको छ ।
सन् २०२२ को सर्वेक्षणले नेपालमा बाघको सङ्ख्या ३५५ रेकर्ड गरेको थियो । सन् २००९ मा बाघको सङ्ख्या १२१ थियो । नेपालको तराई भूपरिधिमा रहेका पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ पाइने गरेको छ ।
नेपालले सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको बाघ पाइने मुलुकको पहिलो बाघ सम्मेलनमा गरेको प्रतिबद्धता अनुसार हरेक पटकको सर्वेक्षणमा बाघको सङ्ख्या बढेको घोषणा गरिरहेको छ ।
यद्यपि यो अवधिमा कतिपय मुलुकबाट बाघको सङ्ख्या बढ्नुको सट्टा बाघको अस्तित्व नै हराउने डर पनि पैदा भइरहेको छ । बाघ पाइने विश्वका १३ वटा मुलुकमा बाघको संरक्षणमा निरन्तर रूपमा उच्चतम उपलब्धि हासिल गर्ने मुलुकको सूचीमा नेपाल पर्दै आएको छ ।
बाघको सङ्ख्या बढाएको खुसीसँगै यो अवधिमा बाघबाट नेपाली समाजले ठुलो सङ्ख्यामा मानिस पनि गुमाएको छ । सन् २०१० देखि सन् २०२५ को अन्त्यसम्ममा १५० वटा घटना बाघका कारण भएका छन् । बाघको पन्जामा परेपछि यो अवधिमा १४१ जनाभन्दा बढी व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको छ ।
यति ठुलो सङ्ख्यामा बाघको आक्रमणबाट ज्यान गुमाउनुपर्दा तिनका परिवार र आफन्त दुःखी छन् । अभिभावक गुमाएर कतिपय व्यक्ति टुहुरा भएका छन् । दर्जनौँ व्यक्तिको शरीरमा बाघले घाउ दागेको छ ।
कतिपय व्यक्ति अहिले अपाङ्गता भएर जिउन बाध्य छन् त कतिपय व्यक्ति ओछ्यानमा जिन्दगी काटिरहेका छन् । दुर्लभ वन्यजन्तु बाघ विश्व समुदायका लागि सम्पत्ति हो भनिन्छ तर बाघको वासस्थानवरिपरिका बासिन्दाको स्थिति हेर्दा निकै दर्दनाक र कहालीलाग्दो अवस्था छ ।
वनजङ्गलवरिपरि बस्ने समुदाय प्रायः गरिबभन्दा गरिब छन् । वनजङ्गलमा आश्रित हुनुपर्ने ती समुदायको अर्काे बाध्यता पनि हुन्छ । घाँस, दाउरा, स्याउला सोत्तरदेखि लिएर गोठाला जाँदासम्म बाघको वरिपरि दैनिकी चलाउनुपर्ने बाध्यात्मक अवस्थाले बाघबाट पीडित हुने अधिकांश परिवार भूमिहीन, सुकुमवासी तथा कम जग्गाजमिन भएका व्यक्ति पर्ने गरेका छन् ।
निकुञ्जवरिपरिका समुदाय कतिसम्म पीडादायी अवस्थामा छन् भने घरआँगनको छेउमा भएको शौचालयमा रातबिरात जान सक्ने अवस्था पनि हुँदैन । शौचालय जान नपाउँदै आँगनबाट कति व्यक्ति कालको मुखमा पुगेका घटना छन् । दिनभरि पालेको खसीबोका राती गोठबाट तानेर लगिदिन्छ, झ्यालबाट देखे पनि केही गर्न सकिने अवस्था हुँदैन ।
यति हुँदाहुँदै पनि तितो यथार्थ के हो भने वन्यजन्तुबाट प्रत्यक्ष प्रभावित समुदायका व्यक्तिको ठुला खालका चोरी तस्करीका घटनामा खासै संलग्न भएको देखिँदैन । बरु संरक्षणप्रति अगाध सव्रिmयता, साथ र सहयोग गरेको देखिन्छ । फलस्वरूप मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित समुदायको सक्रिय सहभागिताले आज नेपालले यो सफलता हासिल गरेको हो ।
द्वन्द्व न्यूनीकरण
वनजङ्गलवरिपरि बसी वन्यजन्तुको त्रास सहेर बस्नु साँच्चिकै पीडादायी हुने गर्छ । लगाएको बाली भित्र्याउन पाइँदैन । घाँसदाउरा गर्न जङ्गल जाँदा फर्केर घर आइन्छ कि आइँदैन ठेगाना हुँदैन । वनजङ्गलमा निहुरो, च्याउ, पानीसाग टिप्न जाँदा बाघको आहारा बन्ने हो कि हात्तीले कुल्चेर मार्ने हो भन्ने त्रास हुने गर्छ ।
यी र यस्तै सास्ती भोग्न नसकेर हुनेखानेहरू त सुरक्षित ठाउँमा बसाइँ सर्ने गर्छन् तर हुँदाखानेहरूको जाने ठाउँ नहुँदा उनीहरूले वन्यजन्तुसँगको द्वन्द्वमै जीवन गुजार्नुपर्ने हुन्छ । वन्यजन्तुको सङ्ख्या वृद्धि एक हदसम्म नेपालले आफ्नो लक्ष्य पूरा गरिसकेकाले अबको कार्ययोजना वन्यजन्तुबाट पीडित स्थानीय बासिन्दाको सुरक्षा, खेतीप्रणालीमा सुधार तथा जीविकोपार्जनका व्यवस्थाका लागि हुनु पर्छ ।
धान, गहुँ, मकै जस्ता अन्नबाली वन्यजन्तुले खाने भएकाले वन्यजन्तुले नखाने जडीबुटीजन्य तथा सुगन्धित तेलसँग सम्बन्धित बालीको खेतीप्रणालीलाई प्रोत्साहन गरिनु पर्छ । जङ्गली च्याउ, पानीसाग, निहुरो टिप्न वनजङ्गल छिर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यात्मक अवस्था सुधार गर्न वैकल्पिक सिप तथा रोजगारीका अवसर प्रदान गर्नु पर्छ ताकि तरकारी बजारबाट किनेर खाने अवस्था सिर्जना होस् ।
कृषिप्रणालीमा आश्रित बासिन्दालाई दुर्लभ वन्यजन्तु हेर्न आउने पर्यटकलाई लक्ष्य गरी पथप्रदर्शक र होटेल व्यवसायका तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिनु पर्छ ।
वासस्थानमा सुधार
बाघको सङ्ख्या बढ्यो भन्ने समाचारले जति उत्साह दिएको छ, त्यति नै जटिलता बाघ व्यवस्थापनमा देखिन थालेको छ । बाघलाई विचरण क्षेत्र ठुलो चाहिन्छ । एक दिनमा बाघले सामान्यतया झन्डै १० किलोमिटर हिँडडुल गर्नु पर्छ । एउटा वयस्क बाघलाई एक पटकको आहारामा कम्तीमा १५/१६ किलो मासु चाहिन्छ ।
त्यसैले बाघ बढेसँगै वासस्थानको विस्तार र उसको आहारा प्रजातिको सङ्ख्या बढाउने चुनौती नेपालका सामु झन् पेचिलो ढङ्गले देखा परेको छ । सङ्घीयता कार्यान्वयनसँगै वडादेखि प्रदेशसम्म र प्रदेशदेखि सङ्घीय सरकारसम्म विकासका योजना थामिनसक्नु गरी बढेका छन् । ती सबै योजनाको रोजाइ वनजङ्गल हुने गरेको छ ।
यसरी हेर्दा हरेक वर्ष वनजङ्गलमाथिको दबाब थेगिनसक्नु छ । त्यस कारणले गर्दा बाघको वासस्थान विस्तार गर्ने भन्ने कुरा त्यति सहज त छैन तर जसरी नेपालले बाघको सङ्ख्या बढायो अब वासस्थान विस्तार र सुधार गर्नुको विकल्प पनि छैन । वासस्थान भएन, आहारा भएन भने स्वाभाविक रूपमा बाघ बस्तीमा पस्छ, बाघले खाने कि मान्छे हो कि घरपालुवा जनावर हो ।
यस्ता खालका परिदृश्यबाट निकुञ्जवरिपरिका समुदायलाई टाढा राख्न सक्ने गरी वासस्थानमा सुधार आजको पहिलो आवश्यकता हो ।वन्यजन्तु पाल्नु निकै कठिन काम हो । पालेर मात्र हुँदैन, बढ्दो चोरीसिकारी नियन्त्रण गर्न सक्नु झन् जटिल काम हो ।
वन्यजन्तुको आखेटोपहारको अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल निकै बलियो भएकाले चोरीसिकारीबाट बाघ जस्ता दुर्लभ वन्यजन्तुलाई बचाउन सक्नु पर्छ । स्थानीय समुदायको सहयोग र समन्वयबिना चोरीसिकारी नियन्त्रण सम्भव नभएकाले संरक्षणको जागरण अभियान नै आजको आवश्यकता हो ।
सहअस्तित्वको नीति
बाघ महत्वपूर्ण कि नागरिक ? यी दुई सवाल पछिल्ला दिनमा गम्भीर ढङ्गले उठ्ने गरेका छन् । अन्य वन्यजन्तुभन्दा बाघबाट हुने नोक्सानीको प्रकृति पनि फरक छ । बाघ हिंस्रक प्रजातिको वन्यजन्तु भएकाले यसले बालीनाली, घर अन्य भौतिक संरचनामा नोक्सानी नगरेर मानिसको ज्यानै लैजाने भएकाले बाघले गरेको क्षतिले समाजमा अपूरणीय क्षति हुने गर्छ ।
बाघ जति हिंस्रक भए पनि विवेकहीन र बोल्न नसक्ने प्राणी हो । उसले आफ्ना लागि केही गर्न सक्दैन । जे फेला प¥यो आहाराका लागि गाँस निल्ने मात्र हो तर मानिस त विवेकशील प्राणी भएकाले आफू बचेर बाघलाई पनि बचाउनु कर्तव्य हो । मानव र बाघबिचको सहअस्तित्व नै अहिलेको मुख्य कार्यभार भएकाले सरकारले आफ्नो रणनीति बनाउँदा, स्थानीय समुदायलाई प्रशिक्षित गर्दा सहअस्तित्वको नीति र कार्यदिशा दिन सक्नु पर्छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै चारकासे झाडीमा बाघ पाइँदैन । तराई भूपरिधिभित्र बाघ पाइने पाँच वटा निश्चित ठाउँ छन् । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्ज एवं ती निकुञ्जसँग जोडिएका आसपासका क्षेत्रमा मात्र बाघ पाइने गरेको छ ।
पछिल्लो अवस्थामा रौतहटको बागमतीबाट पूर्व बाघको उपस्थिति देखिँदैन । बाघलाई चाहिने उचित वासस्थान, आहारा प्रजातिको अवस्था नभएकाले पूर्वी नेपाल बाघविहीन छ । यद्यपि पूर्वी नेपालमा हात्ती, चितुवा, ध्वाँसे चितुवा, गौरीगाई, नीलगाई, जङ्गली भैँसी (अर्ना) लगायतका वन्यजन्तु पाइने गरेका छन् ।
पर्यटन प्रवर्धन
संसारभर रहेका एक हजारभन्दा बढी ठुला चिडियाखानामध्ये धेरै जसो चिडियाखानामा बाघ पालिएका छन् तर ती चिडियाखाना बाघ हेर्नका लागि भने प्रख्यात छैनन् । पछिल्ला दिनमा बाघ पर्यटनको अवधारणा विकसित भएपछि त प्राकृतिक वासस्थानमा रहेका बाघ हेर्न हप्तौँ र महिनौँ दिन जङ्गलमा पर्यटक, अध्ययन, अनुसन्धानकर्ता, वैज्ञानिक कुर्ने गरेको घटना सार्वजनिक भइरहेका छन् ।
विशेष गरेर बाघ हेर्न नेपाल आउने पर्यटक युरोप र अमेरिकी महादेशका छन् । सात समुद्रपारिबाट लाखौँ रुपियाँ खर्च गरेर काठमाडौँ अनि काठमाडौँबाट साना पखेटाका जहाजमा चढेर चितवन र बर्दियाका थारू होमस्टेमा रैथाने खाना खाएर बाघ हेर्ने सपना पूरा हुने भएकाले अधिकांश पर्यटकको रोजाइमा चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने गरेका छन् ।
प्राकृतिक वासस्थानमा विचरण गर्दै गरेको बाघ सहजै देख्न नसकिने भए ती सुविधा सम्पन्न मुलुकका धनाढय व्यक्तिहरू नेपाल आएर भाषा, खानपान, रहनसहनको कठिनाइ सहन, भोग्न बाध्य हुँदैनथे होला । युरोप, अमेरिकाका नागरिकका लागि नेपाल कुनै कालखण्डमा आउजाउ गर्नैपर्ने भूमि बन्न सक्दैनथ्यो होला । बाघ भएर त नेपाल गन्तव्य बन्न सकेको छ । त्यसैले बाघ नेपालका लागि अवसर हो भन्न सकिन्छ ।
संरक्षणको दौरानमा नेपालले एक चरण पार गरिसकेको छ । संसारमै दुर्लभ मानिएका पाटेबाघ, एकसिङे गैँडा आँखाअगाडि विचरण गरेको दृश्य देखाउन सक्ने मुलुकका रूपमा विश्वभरि नेपाल चित्रित भइसकेको छ । अब अर्काे चरण भनेको नेपालको संरक्षणलाई आर्थिक उपार्जनसँग जोड्ने काम गर्न जरुरी छ । तराईका बाघदेखि उच्च हिमालसम्म प्रकृतिमा आधारित पर्यटन व्यवसायलाई नेपालको रणनीतिक आर्थिक उपार्जनको माध्यम बनाउने बाटोमा अब नेपाल हिँड्न सक्नु पर्छ ।
बाघ कूटनीति
वनजङ्गलमा रहेको आहारा प्रजातिको सिकार गर्न नसकेर भोकभोकै बाघले प्राण त्याग गर्छ; जसलाई बाघको प्राकृतिक मृत्यु मानिन्छ । सबै बाघ यसरी प्राण त्याग गर्न सक्दैनन् । कतिपय बाघले वनजङ्गलमा नङ्ग्रा खियाएर सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि सहजै सिकारको खोजी गर्न थाल्छ । यही क्रममा गाउँबस्तीतिर पस्छ ।
वनजङ्गलमा चर्न गएका गाईभैँसीलाई पासो थाप्छ । गोठाला र घाँसदाउरा गर्नेलाई झम्टिन्छ । अनि बाघसँग मानव द्वन्द्वका घटना बढ्छन् । सिकार गर्न नसक्ने समस्याग्रस्त बाघका कारण पछिल्लो समय नेपालमा यस्तै घटना बढ्दै जाँदा वन्यजन्तुप्रतिको नकारात्मक धारणा पनि विकसित हुन थालेका छन् ।
आफ्नो भूमिमा बाघ नभएका तर बाघ पाल्न चाहने दौत्य सम्बन्ध भएको मुलुकलाई उपहार दिएर बाघ कूटनीतिको सफल अभ्यास सुरु गर्न सक्नु पर्छ । नेपाललगायत विश्वका कैयौँ मुलुकले वन्यजन्तु कूटनीतिलाई आर्थिक कूटनीतिसँग पनि जोड्ने गरेका छन् । दुई मुलुकको आर्थिक सम्बन्धको ढोका बलियो बनाउने कडीका रूपमा नेपालले कुनै पनि बाघलाई समस्याग्रस्त चरणमा पुग्नुअगावै पहिचान गरी दौत्य सम्बन्ध भएका मुलुक र दौत्य सम्बन्ध निर्माण गर्नुपर्ने मुलुकलाई उपहार दिएर कूटनीतिक दायरा फराकिलो बनाउने अवसर गुमाउनु हुँदैन ।









































