काठमाडौ । पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री र मन्त्री बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ । यसले कर्मचारी प्रशासनमा अनुशासन र समय पालनाको सकारात्मक सन्देशसमेत दिएको छ ।
प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय उपस्थित हुनु र जिम्मेवारीपूर्वक काम गर्नुलाई सुशासनको पहिलो सर्तका रूपमा लिइएको छ । प्रधानमन्त्री र मन्त्री नै समयमै कार्यालय आउने र पूरा समय बस्ने भएपछि कर्मचारी स्वतः समयमै कार्यालय पुग्ने गरेको पाइएको छ ।
प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय पुग्दा सरकारी सेवा प्रवाह र प्रशासनमा सकारात्मक प्रभाव पर्नुका साथै यसले विशेष गरी कर्मचारीमा अनुशासन र जिम्मेवारीबोध बढाउनसमेत मद्दत पु¥याएको छ । नेतृत्व तहका व्यक्ति समयमै कार्यालय उपस्थित हुँदा तल्लो तहका कर्मचारीलाई समेत समयको पालना गर्न प्रोत्साहन मिल्छ, जसले गर्दा कार्यसम्पादनमा चुस्तता ल्याएको देखिन्छ । त्यसै गरी यसले ढिलासुस्ती कम गर्न र काममा प्रभावकारिता ल्याउनसमेत सहयोग पु¥याएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले अहिले प्रधानमन्त्री कर्मचारी आउने समयमा नै कार्यालय पुगी बेलुकासम्म बस्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार प्रधानमन्त्री ९ बजे नै कार्यालय पुगी साँझ ५, साढे ५ बजेसम्म बस्नुहुन्छ । अहिले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा पनि कुनै प्रकारको भेटघाटको कार्यक्रम हुँदैन । कुनै प्रकारको प्रतिनिधिमण्डल, राजनीतिक भेटघाट वा कार्यकर्तासँगको भेटघाट राखिएको हुँदैन । प्रधानमन्त्री कार्यालयको काममा लागेको देखिनुहुन्छ । प्रधानमन्त्री उद्घाटन, शिलान्यास, विमोचनलगायतका कुनै किसिमको कार्यक्रममा सहभागी हुनुभएको देखिएको छैन ।
कर्मचारीमा उत्साह
प्रवक्ता अर्याल भन्नुहुन्छ, “कार्यालयको प्रमुख व्यक्ति नै छिटो आएर पूरा समय बसेपछि अरू कर्मचारीमा पनि एक किसिमको छुट्टै उत्साह देखिएको छ । अहिले कार्मचारीमा अनुशासन, उत्साह र सुधार दुवै देखिएको उहाँको भनाइ छ ।” उहाँका अनुसार अहिले ९ नबज्दै ९० प्रतिशतभन्दा बढी कर्मचारी कार्यालय पुगिसकेका हुन्छन् । केही कर्मचारी मात्र ९ बजे कार्यालय पुगेका हुन्छन् । त्यसै गरी ५ बजेपछि मात्र कार्यालयबाट बाहिर निस्कन्छन् । कामको चाप भएको समयमा त कति बज्यो भनेर थाहा पनि हुँदैन । अँधेरो भएपछि मात्र बाहिर निस्किने अवस्था छ । यसअघि सिंहदरबारमा कर्मचारी ५ बज्न बाँकी हुँदा नै बस चढ्न लाइन लागेका हुन्थ्यो ।
पूर्वसचिव कृष्णहरि बाँस्कोटाले प्रधानमन्त्री र मन्त्री नै समयमै कार्यालय पुगेपछि कर्मचारीलाई समयमा पुग्नैपर्ने अवस्थाको सिर्जना हुनुका साथै काम गर्नसमेत सहज हुने गरेको बताउनुहुन्छ । प्रधानमन्त्री, मन्त्री र कर्मचारी समयमा नै कार्यालय पुगेपछि राजनीतिक नेतृत्व र कर्मचारीबिच नङ र मासुको जस्तो सम्बन्ध विस्तार हुन पनि सहयोग पुग्ने भयो । उहाँ भन्नुहुन्छ, “प्रधानमन्त्री र मन्त्री कार्यालयमा भएपछि कुनै काममा उप्ठ्यारो हुनेबित्तिकै तुरुन्तै सोध्न पाइयो । जसले गर्दा निर्णय छिटो हुन पाइयो । प्रधानमन्त्री वा मन्त्री र कर्मचारी सँधै सँगै हुने भएपछि राजनीतिक र प्रशासनबिचको सम्बन्ध पनि सुमधुर हुन पाइयो ।”
प्रधानमन्त्री र मन्त्री समयमा कार्यालय पुग्दा मुलुकमा सुशासनलाई मद्दत पु¥याउनुका साथै राजनीतिक नेतृत्व र कर्मचारीबिच कुनै किसिमको दुबिधासमेत उत्पन्न हुन नसक्ने र काममा ढिलासुस्ती नहुने पूर्वसचिव बाँस्कोटाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “प्रशासनिक कामकारबाही छिटो हुनु भनेको नै सुशासन प्रवर्धन हुनु हो । मूल सुध्रिएपछि तल पानी राम्रै बग्छ । त्यसैले सिंहदरबारमा नै सुधार भएपछि प्रदेश र स्थानीय तहमा समेत स्वतः सुधार हुँदै जान्छ । सरकारमा सुशासन कायम भएपछि निजी क्षेत्र र गैह्रसरकारी क्षेत्रमा सुशासन प्रवर्धन हुन्छ । भविष्यमा यसको बहुआयामिक असर देखा पर्छ ।”
अर्का पूर्वसचिव मणिराम गेलालले प्रधानमन्त्री, मन्त्री, सचिवलगायत अन्य कर्मचारी निर्धारित समयमा कार्यालय पुग्नु र जिम्मेवारी अनुसारको कार्यसम्पादन गर्नु मुलुकको प्रशासन र प्रशासनिक सुधारका लागि महत्वपूर्ण पहलकदमी भएको र यसको दीर्घकालीन महत्व रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रधानमन्त्री र मन्त्री कार्यालयमा आफैँ उपस्थित भइसकेपछि कर्मचारी पनि बाध्य भएर समयमा कार्यालय पुग्दा सेवा प्रवाह छिटोछरितो हुनुका साथै कर्मचारी प्रशासनमा अनुशासन र समय पालनाको सन्देशसमेत पुग्छ ।” प्रधानमन्त्री, मन्त्री वा कर्मचारीका लागि समय एउटा महत्वपूर्ण पाटो रहेको उहाँको भनाइ छ ।








































