काठमाडौं । आफूले उत्पादन गरेको कृषि उपजको मूल्य घट्यो र उत्पादन लागत पाईन भने के होला पक्कै पनि पेशा नै छाडौं जस्तो परिस्स्थिति वन्न सक्छ । तर पनि आफूले बर्षौदेखि गर्दै आईरहेको पेशालाई चटक्कै छाड्न पनि सकिँदैन ।
हो अहिले दाङ्ग तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान हरुलाई त्यस्तै अवस्था सिर्जना भएको छ । ती किसान मध्येका एक हुन विकास खड्का । उनको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । बारीमा भएको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खन्न सकिरहेका छैनन् ।
पोहोर साल यसै समयमा ५५ देखि ६० रुपैयाँ प्रतिकिलो अदुवा बेचेका उनलाई अहिले बजार पाउले सताएको छ । बजारमा विक्री गर्नका लागि अहिले आधा भन्दा कम रकम झरेपछि उनलाई खेतमा भएको अदुवा खन्न नै मन लागेको छैन । बरु बजार भाउको कारण आफू खिन्न भएको बताउँछन् ।
यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन । बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको दुखेसो उनको छ । पोहोर साल २ लाखको अदुवा बेचेका उनलाई यो बर्ष चौथाई पनि नपर्ने देखिएपछि बारीमा अदुवा खन्न नै मन छैन ।
नेपालको अदुवा भन्दा व्यवसायीहरुले भारतबाट सस्तोमा अदुवा भित्र्याउने गर्दछन् । जसले गर्दा स्थानीय अदुवाको व्यापार आधा नै घट्ने मात्र होइन बारीमा नै थन्क्याउनु पर्ने अवस्थाको सिर्जना भएको छ । यो पटक अदुवाको बीउको पैसा पनि नउठ्ने हो कि भन्ने गुनासो किसानहरुको छ ।
यो बर्ष सो क्षेत्रका करीव ३०/३५ घरधुरीले अदुवाखेती गर्ने गरेका छन् । छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ । अदुवाको बजारीकरणमा सरकारले सहयोग गरेमा सहज हुने उनीहरुको अपेक्षा छ ।









































