२०८२ फागुन २५ सोमवार | Monday, Mar 09 2026

इरान–इजरायल युद्धले युरोपमा आप्रवासनलाई ‘नकारात्मक’ प्रभाव पार्न सक्ने

पेरिस (रासस/एएफपी)। इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने टर्कीएले जनाएको छ।

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने युरोप र यस क्षेत्रलाई हानि पुर्‍याउन सक्ने चेतावनी दिनुभएको हो।

इरानले आणविक अस्त्र विकास गर्न लागेको भन्दै इजरायलले एक साताअघि ठूलो सङ्ख्यामा हवाई आक्रमण गरेपछि इरानले गरेको प्रतिकारका कारण युद्ध चर्किएको छ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँगको टेलिफोन वार्तामा गरिएको उहाँको भनाइ उद्धृत गर्दै एर्दोगानको कार्यालयले भनेको छ, “इजरायलको आक्रमणले निम्त्याएको हिंसाको चक्रले यस क्षेत्र र युरोपलाई आप्रवासन समस्या बढाउने र आणविक चुहावटको सम्भावना रहने भएकाले यो युद्धले युरोपलाई व्यापक प्रभाव पार्नसक्छ।

एर्दोगानले इरानसँगको आणविक असहमतिको समाधान ‘वार्ताबाट’ मात्रै हुने बताउनुभएको छ।

उहाँले हिंसाले क्षेत्रीय सुरक्षाका लागि खतरालाई उच्च स्तरमा पु¥याएको र टर्कीएले ‘द्वन्द्व अन्त्यका लागि प्रयास गरिरहेको’ बताउनुभयो।

बढ्दो द्वन्द्वका बावजुद टर्कीएको रक्षा मन्त्रालय स्रोतले बिहीबार इरानबाट बाहिरिने सङ्ख्यामा ‘कुनै वृद्धि’ नभएको बताएको छ।

टर्कीएका अधिकारीहरूले यस दावीलाई पुष्टि गर्ने कुनै तथ्याङ्क सार्वजनिक गरेका भने छैनन्।

टर्कीएको पूर्वी शहर वान नजिकैको मुख्य कापिकोय सीमा नाकामा एएफपीका संवाददाताहरूले दुवै दिशाबाट सयौं मानिस पार गरेको देखेको बताएका छन्।

रक्षामन्त्री यासर गुलेरले बुधबार सीमाक्षेत्रको भ्रमणका क्रममा भन्नुभयो, “हाम्रो सीमामा सुरक्षा व्यवस्था बढाइएको छ।”