२०८२ फागुन २४ आइतवार | Sunday, Mar 08 2026

राष्ट्रकवि घिमिरे पार्क उद्घाटन राष्ट्रपतिबाट हुने

लमजुङ। लमजुङको मर्स्याङदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा निर्माण भइरहेको “राष्ट्रकवि माधव घिमिरे पार्क” को शालिक अनावरण तथा समुद्घाटन कार्यक्रम यही वैशाख २१ गते हुने भएको छ ।

नेपाली साहित्यका अमर व्यक्तित्व राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्मृतिमा निर्माण गरिएको उक्त पार्कको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन्।

राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानले बिहीबार बेसीशहरमा पत्रकार सम्मेलनमा गरी कार्यक्रम बारे जानकारी गराएको हो । प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेले पार्कलाई साहित्यिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दे लैजाने लक्ष्य रहेको बताए ।

नेपाली सहित्यमा राष्ट्रकवि घिमिरेले पुर्‍याएको योगदानको सम्मानमा  उनको जन्मथलो बाहुँनडाँडामा शालिकसहित पार्क निर्माण गरिएको हो । करिब एक रोपनी जग्गाम पार्क निर्माणका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट २० लाख, सामाजिक विकास मन्त्रालयबाट चार लाख र मर्स्याङदी गाउँपालिकाबाट तिन लाख रुपैयाँ बजेट प्राप्त भएको प्रतिष्ठानका सचिव विष्णु बहादुर गुरुङले जानकारी दिए ।

राष्ट्र कवि घिमिरे वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका हुन् । १४ वर्षको उमेरदेखि साहित्य लेखन सुरु गरेका  घिमिरेको “गौरी”, “मालती मंगले”, “शकुन्तला” चर्चित कृतिहरु हुन् । उनले आफ्ना रचना मार्फत नेपाली साहित्यमा प्रेम, राष्ट्रिय भावना र सांस्कृतिक चेतनालाई उजागर गरेका छन् ।

कार्यक्रममा शालिक अनावरण, कवि गोष्ठी, साहित्यिक गतिविधिहरू आयोजना गरिनेछ  आगामी दिनमा पार्कलाई साहित्यिक अनुसन्धान, अध्ययन भ्रमण तथा सांस्कृतिक गतिविधिको केन्द्र बनाउने योजना रहेको अध्यक्ष घिमिरेले बताए ।