२०८३ वैशाख १ मंगलवार | Tuesday, Apr 14 2026

मकवानपुर हुँदै काठमाडौँ जोड्ने चार पुल बने, तीन वटा निर्माणाधीन

हेटौँडा । मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी सडकखण्डमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत भैँसे–भीमफेदी सडकखण्डमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएको हो । प्रदेश सरकारले गौरवको योजना बनाएको छोटो दुरी अन्तर्गत भीमफेदी गाउँपालिकामा पर्ने सडकखण्डका फलामे पुललाई प्रतिस्थापन गरी पक्की पुल निर्माण गरिएको हो ।

सो सडकखण्डको चार वटा जीर्ण फलामे पुलमध्ये ढोकाफेदीमा पक्की पुल यसअघि नै निर्माण भएको निर्देशनालयले जनाएको छ । भैँसे–भीमफेदी सडकखण्डमा निर्माण सम्पन्न निबुवाटार, तानसेन र मान्डुखोलाको पक्की पुलमध्ये मान्डुखोला पुल हस्तान्तरणसँगै बुधबार बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले उद्घाटन गर्नुभएको निर्देशनालयका सबइन्जिनियर पूजा घिमिरेले जानकारी दिनुभयो ।

विसं २०८० असार २२ गते १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल १२ करोड ३० लाख ३९ हजार ६१२ रुपियाँको लागतमा निर्माण गरिएको हो । फुटपाथसहित दोहोरो लेनको एउटा मात्र स्पान रहेको भीमफेदी गाउँपालिका–६ स्थित मान्डुखोलामा नवनिर्मित पुलको ५५ मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ ।

मान्डुखोलामा रहेको बेलिब्रिज भने पक्कीपुल निर्माणसँगै निकालेर गत असोजको दोस्रो साता आएको बाढीपहिरोले क्षति पु-याएको सिमखोलामा जडान गरिने भएको छ । २५ मिटर लम्बाइको निबुवाटारस्थित पुल तीन करोड १३ लाख ५७ हजार २५६ रुपियाँ र ४० मिटर लम्बाइको तानसेन पुल आठ करोड ९१ लाख १२ हजार पाँच सय रुपियाँको लागतमा निर्माण सम्पन्न भएको छ । साथै ३० मिटर लम्बाइको ढोकाफेदी पुल तीन करोड १४ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

तीन वटा निर्माणको चरणमा

प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको सडक स्तरोन्नतिका व्रmममा भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा सात वटा पुल निर्माण गर्ने योजना अनुसार दुई वटा पुल निर्माणाधीन र एउटा पुलको विस्तृत परियोजना प्रस्ताव तयार भएको छ ।

सबइन्जिनियर घिमिरेका अनुसार भैँसे–भीमफेदी सडकखण्ड अन्तर्गत गोल्पिङमा सबैभन्दा पछि निर्माण सुरु गरिएको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । २६ मिटर लम्बाइ रहेको गोल्पिङस्थित पुल गत मङ्सिरमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यस्तै भीमफेदी–कुलेखानी सडकखण्डको भीमफेदी बजारनजिकै चिसापानीमा रहेको फलामे पुल प्रतिस्थापन गरी पक्की पुल निर्माण चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यव्रmममा परेको छ । यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका निर्देशक पुष्करप्रसाद पोखरेलले नयाँ डिजाइनको पुल बनाउने गरी निर्देशनालयले विस्तृत परियोजना प्रतिवेदन बनाउने काम गरे पनि स्थानीयको अवरोधका कारण निर्माण सुरु गर्न समस्या भएको बताउनुभयो ।

प्रदेश पूर्वाधार कार्यालय, हेटौँडाका प्रमुख सुजन भण्डारीका अनुसार कुलेखानी–फाखेल सडकखण्डको महालक्ष्मी खोलामा पक्की पुल निर्माणाधीन छ । १५ मिटर लम्बाइको नयाँ डिजाइनमा बन्ने उक्त पुलको निर्माण लागत चार करोड २० लाख रुपियाँ रहेको उहाँले बताउनुभयो ।

“गत असारमा एक वर्षभित्र पुल निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो । बाढीपहिरोले निर्माण स्थलमा गेग्य्रान थुप्रिएर पुलको डिजाइन नै परिवर्तन गर्नुपर्ने हो भन्ने थियो,” कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, “बाढीपहिरोका कारण निर्माण सम्पन्न हुन ढिलाइ हुने भएको छ, केही समयपछि काम सुरु हुन्छ ।”

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा तत्कालीन जिल्ला विकास समिति मकवानपुर र काठमाडौँले निर्माण गरेको मितेरी पुल जीर्ण भएकाले पुनः निर्माण गर्न लागिएको हो ।

निर्माण सम्पन्न, निर्माणाधीन चार वटा र प्रस्तावित तीन वटा पक्की पुल दोहोरो लेनको हुने निर्देशनालयले जनाएको छ ।पुल निर्माणसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको सडक आवागमनमा सहज हुने भएको छ ।