काठमाडौ । आमनागरिकको सन्देश चिठीपत्रमार्फत बोकेर घर घर पु-याउने हुलाक सेवाले पछिल्लो समय राहदानी, सवारीचालक अनुमतिपत्रसहित शैक्षिक प्रमाणपत्र बोक्न थालेको छ । सूचना तथा सञ्चार मन्त्रालयको उच्च प्राथमिकतामा हुलाक सेवा परेपछि विभागले नागरिक सेवालाई प्राथमिकतामा राख्दै घरदैलोमा सेवा पु-याउँदै आएको हो ।
हुलाक सेवा विभागका निर्देशक एवं सूचना अधिकारी प्रवक्ता जमुना मिश्रले पहिलो चरणमा ६२ जिल्लाका नागरिकको घरदैलोमा राहदानी पु-याएको जानकारी दिनुभयो । “यसअघि ३३ जिल्लामा राहदानी पु-याएका थियौँ । पछिल्लो समय ६१ जिल्लामा पुगेको छ । अब ७७ जिल्लाका नागरिकलाई घरमै राहदानी पु-याउने तयारी छ,” उहाँले भन्नुभयो, “नागरिकले ५५ रुपियाँ तिरेमा हुलाक सेवाले राहदानी घरदैलोमै पु-याउँछ । यातायात, खाना, नास्ता खाँदा धेरै खर्च हुन्छ । ५५ रुपियाँ तिरेर हातमै राहदानी पाउनु धेरै राम्रो हो ।” पछिल्लो तथ्याङ्क अनुसार जिल्ला प्रशासन कार्यालयमा पुगेका ५३ हजार ३३५ राहदानीमध्ये दुई हजार ७७५ नागरिकको घरदैलोमै पु-याएको उहाँले जानकारी दिनुभयो ।
यस्तै छ जिल्लाका ६८७ जनालाई सवारीचालक अनुमतिपत्र घरदैलोमै पु¥याएको निर्देशक मिश्रले जानकारी दिनुभयो । “लाइसेन्स घर घर पु-याउन थालेको भर्खरै हो । अब बिस्तारै सबै जिल्लाका नागरिकको घरदैलोमा पु-याउने योजना छ,” उहाँले भन्नुभयो, “एक जनाको सवारीचालक अनुमतिपत्र बोकेर नागरिकको घरमा पु-याउन करिब ४० रुपियाँ लाग्छ ।”
हुलाक सेवाले मध्यपश्चिम विश्वविद्यालयका कर्णाली प्रदेशमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक प्रमाणपत्र घरदैलोमा पु-याउने गरेको छ । अब त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयसँग सम्झौता गरेर स्नातक, स्नातकोत्तर तह, एमफिलसहितका शैक्षिक प्रमाणपत्र घरदैलोमा पु-याउन छलफल चलेको उहाँले बताउनुभयो । “त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र घरदैलोमा पु-याउन छलफल चलेको छ । कसरी प्रमाणपत्र लग्ने र रकमको कसरी व्यवस्थापन गर्नेबारेमा टुङ्गो लागेको छैन । पछि बिस्तारै अरू विश्वविद्यालयसहित कक्षा १० र १२ को समेत शैक्षिक प्रमाणपत्र घरदैलोमा पु-याउने योजना छ,” उहाँले भन्नुभयो, “सबै शैक्षिक प्रमाणपत्र घरदैलोमा पु-याउन सकेमा विद्यार्थीलाई धेरै सहज हुन्छ । यो आर्थिक रूपमा विद्यार्थीलाई किफायती हुने देखिन्छ ।”
नेपाल टेलिकमसँग सिमकार्ड र रिचार्जकार्ड घरदैलोमा पु-याउन छलफल भए पनि टुङ्गो नलागेको उहाँको भनाइ छ । हुलाक सेवाले लालपुर्जा, राष्ट्रिय परिचयपत्र सम्बन्धित जिल्ला कार्यालयमा, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशाला रिपोर्ट अस्पतालमा पु-याउनुका साथै अरू कार्यालय र व्यक्तिको पत्र बोक्दै आएको छ । यस्तै बिमा बोर्डको प्रमाणपत्र, फर्म र कार्ड समेत जिल्ला कार्यालयमा पु-याउने गरिएको छ । हुलाक सेवाले पार्सल अर्थात् सामान हवाई र सतहबाट स्वदेश तथा विदेशमा पु-याउँदै आएको छ । सामानको तौल अनुसार दुई किलोदेखि २० किलोसम्म दुई सय रुपियाँभन्दा बढी दस्तुर लाग्ने गरेको छ ।










































