२०८३ जेठ १७ आइतवार | Sunday, May 31 2026

प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

काठमाडौ । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा आज एक शुभकामना सन्देश पठाएर उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु तपाईंप्रतिको नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबिचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

साथै उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।