२०८३ वैशाख ४ शुक्रवार | Friday, Apr 17 2026

काठमाडौं महानगरपालिकाको २५ अर्ब ११ करोडको बजेट आउँदै

कामपाले पूर्वाधार विकासे शीर्षकमा ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकास विभागमा २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार, कार्यालय सञ्चालन र प्रशासनिकमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र शीर्षकमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार र आर्थिक विकास शीर्षकमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार विनियोजन गर्ने तयारी छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँको बजेट ल्याउने भएको छ । शुक्रवार बसेको कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साहले आइतबार बजेट ल्याउने घोषणा गरेअनुसार आज बस्ने कार्यपालिकाको बैठकमा बजेट तर्जुमा समितिका संयोजक एवं उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मेयर साहले शुक्रवारको बैठकमा २४ मध्ये पहिलो एजेन्डा प्रस्तुत गरेपछि बैठक स्थगित गर्नुभएको थियो । उहाँले करिब १ मिनेट ८ सेकेन्ड बोलेर आइतबारको लागि बजेटको मिति तय गर्नुभएको थियो । स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कामपाले पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट राखेको छ । सो शीर्षकमा ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपियाँको बजेट व्यवस्था गर्न लागेको छ ।

दोस्रोमा सामाजिक विकास विभागमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार विनियोजन गर्ने तयारी गरेको छ । त्यस्तै, कार्यालय सञ्चालन र प्रशासनिकमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र शीर्षकमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार र आर्थिक विकास शीर्षकमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार विनियोजन गर्ने तयारी छ ।

शुक्रवार बिहान ११ बजे स्रोतनिर्धारण बैठकले बजेटको स्रोत निर्धारण गरेको थियो । त्यसलगत्तै उपमेयर सुनिता डंगोलको संयोजकत्वमा बसेको बजेट तर्जुमा समितिको बैठकले बजेट बाँडफाँट गरेको हो । गएको पुस महिनादेखि बस्न नसकेको बैठक करिब ७ महिनापछि गत शुक्रवार बसेको हो ।

कामपाले आज जारी गर्ने बजेट साउन १ गतेबाट लागू हुनेछ । मेयर साह र उपमेयर सुनिता डंगोलबीच टकराब परिरहेको बेला प्रवक्ता नवीन मानन्धरले बजेट ल्याउन मुख्य भूमिका खेल्नुभएको हो । कार्यपालिकाको बैठक प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंले सदस्यसचिवको पीमा बैठक सञ्चालन गर्ने कार्यक्रम छ ।

आगामी आबमा महानगरले आन्तरिक श्रोतबाट अनुमानित आय र मौज्दात गरी १० अर्ब १२ करोड ६४ लाख संकलन गर्ने लक्ष्य लिएको छ भने बैक मौज्दात रकम १० अर्ब रहने छ ।

आज प्रस्तुत गरिने बजेटमा कामपाले नेपाल सरकारको समानीकरण अनुदानअन्तर्गत ७० करोड ९३ लाख, चालू आबको लागि सशर्त अनुदानअन्तर्गत १ अर्ब ५० करोड १९ लाख र पँुजीगततर्फ सशर्त अनुदानवापत १३ करोड ५ लाख, प्रदेश सरकारको समानीकरण अनुदान शीर्षकमा ९ करोड २ लाख ६६ हजार, सशर्त चालू २ करोड ३२ लाख र सशर्त पुँजीगतमा १ करोड ३२ लाख ५० हजार पाउने उल्लेख गरिएको छ ।

त्यस्तै संघीय सरकारको राजस्व बाँडफाँटबाट २० अर्ब २ करोड, प्रदेशबाट ३९ करोड ९० लाख र स्थानीयबाट ११ करोड र आन्तरिक जनसहभागिताबाट ८५ लाख रुपियाँ आम्दानी श्रोत कायम गरिएको छ । बजेट विभिन्न विभागले दिएको खर्चको आकारअनुसार बाँडफाँट गरिएको छ । यसअघि मेयर साहको कारण प्रत्येक महिना हुनुपर्ने बैठक शुक्रवार सय दिनपछि हुन लागेको हो ।

पछिल्लो पटक पुस १४ गते महानगरको १६ औँ नगर सभा बसेको थियो । लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन साहलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गर्नुभएको थियो । मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा बैठक नबस्ने अडान लिएका थिए । बजेट नआउँदा महानगर नचल्ने अवस्था पुगेपछि मेयर साहले बैठक बोलाउनुभएको थियो ।