२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

नौ महिनामा पौने बयालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौ । चालु आथिर्क वर्ष २०८२/८३ को नौ महिनामा पौने ४२ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । चैतमा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा चैत महिनामा लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ । गत फागुनसम्म ५५४ परियोजनामार्फत ४० अर्ब ६६ करोड ९३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार नौ महिनामा नियमित माध्यमबाट १८९ परियोजनामार्फत ३७ अर्ब ६९ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा स्वचालित माध्यममार्फत ४२६ परियोजनामार्फत चार अर्ब नौ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।  नौ महिनामा सो अवधिमा कृषिक्षेत्रका १६ परियोजनामा २२ अर्ब ८८ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पर्यटनमूलक १६४ परियोजनामा ११ अर्ब ४६ करोड २० लाख, सेवामूलक ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै सूचना प्रविधिमूलक ३४६ परियोजनामा एक अर्ब ४५ करोड ७२ लाख, खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख, ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै पूर्वाधारमूलक परियोजनामा शून्य लगानी रहेको छ । चैतसम्म गरिएको लगानी प्रतिबद्धताले २२ हजार तीन सयले रोजगारी पाउने अनुमान गरिएको छ ।