२०८३ वैशाख ४ शुक्रवार | Friday, Apr 17 2026

घरेलु श्रमिकको अधिकारका लागि कानुन आवश्यक

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वेदशमा घरेलु श्रमिकका रूपमा काम गर्ने श्रमिकको अधिकार सुरक्षाको विषय कानुनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

घरभित्र काम गर्ने घरेलु श्रमिकको अधिकारका विषयमा विद्यमान श्रम ऐन मौन रहेको बताउँदै मन्त्री भण्डारीले यस्ता विषयको सम्बोधन ऐनबाटै गर्न सरोकारवालासँग छलफल आवश्यक रहेको चर्चा गर्नुभयो ।

घरेलु श्रमिकको अधिकारका लागि काम गर्ने संस्था युवालयसँग मङ्गलबार मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । यी मुद्दाको कानुन नै नभएको अवस्था अधिकारका कुरा गरेर कुनै अर्थ नहुने भएकाले यो विषयलाई ऐनमै सम्बोधन गरेपछि मात्रै कार्यान्वयनका लागि काम गर्न सकिने उहाँको भनाइ छ । यस विषयमा लिखित रूपमै सुझाव उपलब्ध गराउनसमेत मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

सहभागी घरेलु श्रमिक महिलाले आफूहरूले रोजगारदाताको घरमा काम गर्दा पारिश्रमिक कम पाउने वा कतिपय ठाउँमा नियमित नपाउने, बिरामी हुँदा वा चाडपर्वमा बिदा नपाउने, बिनाकारण कामबाट निकाल्ने, काम गर्ने समयको टुङ्गो नहुने, केही महिला श्रमिक मानसिक तथा शारीरिक तथा यौनजन्य हिंसा हुने गरेका जस्ता थुप्रै समस्या भोग्नु परेको गुनासो मन्त्री भण्डारीसमक्ष गर्नुभएको थियो ।