२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

१ अर्ब २० करोड असुल उपरको माग गर्दै मुद्दा

  • नक्कली विलविजक प्रयोग गर्ने माथि विभागको  डण्डा 
  • पछिल्लो समयकै सबैभन्दा ठूलो मुद्दा
  • राजश्व छली गर्ने ध्रुव देव पक्राउ 

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा काठमाडौं महानगरपालिका –३१ नयाँ बानेश्वर स्थित  ध्रुव कन्स्ट्रक्सन् प्रालिका सञ्चालक धु्रवदेवविरुद्ध  बिगो र विगोबराबरको जरिमानासहित १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुल उपर गर्न माग गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । त्यति धेरै राजश्व छली गरी सरकारलाई ठगी गर्ने धुूवदेवलाई विभागले नियन्त्रणमा लिएर छानबीन गर्दै आइरहेको थियो ।

विभागमा महानिर्देशकको रुपमा चण्डीप्रसाद घिमिरे आएपछि उनले राजश्व छली गर्ने विरुद्ध आक्रामक कारबाही थाल्दै आएका छन् । सम्भवत यो मुद्दा पछिल्ला केहि वर्षयताकै सबैभन्दा ठूलो मुद्दा हो । महानिर्देशक घिमिरेले राजश्व छली गर्नेहरुविरुद्ध कठोर कारबाही थालिएको र छली गर्नेहरुलाई धमाधम कानुनी दायरामा ल्याउने क्रमलाई व्यापक बनाइएको बताए ।

विभागले काठमाडौँ  महानगरपालिका ३१ नयाँ बानेश्वर स्थित ठेक्का पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्सट्रक्सन सामान खरिद विक्री कारोबार गर्ने धु्रवदेवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी विल विजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंक मार्फत नगरेको, वीजकहरु सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र  आय विवरण दाखिला नगरेको, मूअ कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा सरकारलाई नियमअनुसार तिर्नु बुझाउनुपर्ने मूअ कर तथा आयकर लगायतका राजश्व नतिरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सो ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि भएकाले निज प्रतिवादी ध्रुव देवलाई मूल्य अभिवृद्धि कर तर्फ ४५ करोड ८० लाख ८३ हजार ४ सय ३४ र आयकरतर्फ १४ करोड, ६५ लाख ३१ हजार ८ सय २४ गरी जम्मा ६० करोड ४६ लाख १५ हजार २ सय ५८ बिगो कायम गरी बिगो असुल तथा विगोको शतप्रतिशत जरिमाना रकम ६० करोढ ४६ लाख १५ हजार २ सय ५८ गरी जम्मा १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुल उपर गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको  विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

विभागले नक्कली बीलविजकको प्रयोग गरी राजश्व छली गर्ने क्रम अत्याधिक पाइएपछि त्यस्तो विकृति विरुद्धको अनुसन्धानलाई तीव्रता दिँदै आएको छ । अझै पनि बजारमा नक्कली बील विजकको प्रयोग गरी राजश्व छली गर्नेहरु अत्याधिक रहेकाले त्यस्ता व्यक्ति तथा समूहविरुद्धको  खोजतलासलाई विभागले तीव्रता दिएको छ ।

यसैक्रममा विभागले ध्रुव कन्स्ट्रक्सनको राजश्व छली विरुद्ध गहन छानबीन गरेको थियो । विभागका अनुसन्धान अधिकृत समेत रहेका सूचना अधिकारी नवराज अधिकारी समेतको अनुसन्धान टोलीले यस सम्बन्धमा विस्तृत र गहन अनुसन्धान गरी यति ठुलो  मुद्दा दायर गर्न सफल भएको हो ।