२०८३ जेठ २० बुधवार | Wednesday, Jun 03 2026

राप्रपालाई बालेनको धन्यवाद, भने- सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।

मङ्गलबार राप्रपाले काठमाडौंको बल्खुमा खबरदारीसभा गरेको थियो। सभा सकिएपछि उसले आफैँले सफा गर्‍यो। यसपछि मेयर शाहले धन्यवाद भनेका हुन्।

उनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगरले चाहेको बताएका छन्।

‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ,’ मेयर शाहले फेसबूकमा लेखेका छन्।

यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर शाहलाई हिरो भएर पत्र नकाट्न सुझाएका थिए। महानगरले यसअघि पनि राप्रपालाई एक लाख जरिबाना तिराएको थियो।