काठमाडौँ । प्रहरीले रवि लामिछानेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर, भद्रकाली पु¥याएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले त्यहाँ पुगेर लामिछानेलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि भद्रकाली ल्याइएका लामिछानेलाई शुक्रबार राति त्यहीँ हिरासतमा राखेर भोलि (शनिबार) भैरहवा लैजाने तयारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत, रुपन्देहीले गरेको १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश बदर भएपछि उनलाई समात्न प्रहरी टोली बूढानीलकण्ठस्थित उनको निवासमा पुगेको थियो ।
बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको केही समय पछि सो आदेश दिएको हो । भद्रकालीको हिरासतमा अहिले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद् धवलशमशेर राणा लगायतका ‘भीआईपी’ आरोपी पनि छन् ।
बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गएका थिए ।









































