२०८३ जेठ १९ मंगलवार | Tuesday, Jun 02 2026

हाेली उल्लास र उत्सवकाे पर्व, कसरी पारिवारिक र सँस्कृतिमय बनाउने ?

काठमाडौ । होली केबल रङको पर्व होइन, यो परिवार र आफन्तलाई अझ नजिक ल्याउने, खुसी साट्ने र रमाइलो गर्ने अवसर पनि हो। भोली होली भए पनि कति आजै रङ लगाएर हिँडिरहेका छन् । बजार होलीका लागि डिजाइन गरिएका सेतो टिसर्ट, पिचकारी र रङले रङ्गीचङ्गी भएको छ ।

होलीको उमंग बच्चादेखि वृद्धसम्म देखिन्छ। कतिपय बच्चाहरूले त नयाँ क्यालेन्डर पाउनासाथ होलीको मिति गोलो घेराले पहिल्ये नै चिन्ह लगाइसकेका हुन्छन् ।

कतिपयले होली मनाउने योजना बनाइसके, भने कतिपय यसबारे सोच्दै होलान्।

यदि होली कसरी पारिवारिक माहौलमा मनाउने भनेर सोच्दै हुनहुन्छ भने यी ९ आइडियाले मद्दत गर्न सक्छन्।

१. आफन्त र साथीभाइलाई निमन्त्रणा दिनुहोस्

होलीको वास्तविक मजा तब आउँछ, जब प्रियजनहरूसँग मिलेर मनाइन्छ। यदि परिवारभित्र मात्र सीमित रहनुहुन्छ भने, सदस्यहरूलाई समयमै जानकारी दिनुहोस्, ता कि उनीहरूको अन्य योजना प्रभावित नहोस्।

आफन्त तथा साथीभाइलाई बोलाउने हो भने अघिल्लो दिन नै निमन्त्रणा दिन सकिन्छ, जसले जमघटलाई अझ रमाइलो बनाउँछ। यदि मनमुटाव हटाउन वा टाढिएको सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ भने, होली जस्तो उल्लासमय पर्व अरू कुनै हुन सक्दैन।

२. भेन्यू छनोट

कतिजना भेला हुने तय भइसकेपछि होली खेल्न उपयुक्त स्थान छनोट गर्न सकिन्छ । स्थान यस्तो होस् कि, त्यहाँ बच्चा लड्ने वा भागदौड गर्दा चोटपटक लाग्ने ठाउँ नहोस् । सम्भव छ भने घरको आँगन नभए कौसीमा खेल्न सकिन्छ । कौशीमा खेल्ने हो भने बच्चाहरुको विशेष ध्यान राख्नुहोस् । लड्ने ठाउँ भएमा त्यसलाई समयमै व्यवस्थित गर्नुहोस्।

३. मिष्ठान्न परिकार

होलीको रौनकमा सुनमा सुगन्ध त्यतिबेला हुन्छ, जब मिष्ठान्न परिकारको पनि मज्जा लिन पाइन्छ । सदस्यहरूको रुचिलाई ध्यानमा राख्दै मासुका परिकार तथा शाकाहारी भए सोही अनुसारका परिकार मिलिजुली पकाउन सकिन्छ । ती परिकार खेल्दै वा एकैठाँउमा बसेर खान सकियोस् ।

४. सर्वत तथा पेय

होली खेल्दा शारीरिक गतिविधि धेरै हुँदा थाकिन्छ । यस्तोमा शरीरमा पानीको कमी हुन नदिन, सर्वत, मोही, दही तथा जुसजस्ता चिसो पेयको व्यवस्था गर्नुपर्छ। यसले शरीरलाई उर्जावान राख्ने मात्र नभई उत्सवको माहोललाई अझ रोचक बनाउँछ।

५. सफा पानी र रङ

होली खेल्नका लागि एक(दुई बाल्टी सफा पानी व्यवस्था गरेर राख्न सकिन्छ । बच्चाका लागि सफा पानी पिचकारीमा भरदिएर राखदिन सकिन्छ ।

साथै, रसायन नमिसिएको अविर, अश्वगन्धा जस्ता रङहरु व्यवस्था गर्नु उपयुक्त हुन्छ । ता कि, छालामा लगाउँदा कुनै समस्या नहोस् ।

६. म्युजिक

कुनै पनि उत्सव संगीतबिना अधुरो हुन्छ । होलीमा त झन् छुटाउने कुरै भएन । माहौललाई तताउन पहिला नै गीतहरु सोचेर सूची बनाउन सकिन्छ । गीत फेरि यस्तो होस् कि, होलीको भाइब्स आउने खालको । कहिले कम्मर नै नमर्काएका व्यक्ति पनि मज्जाले झुमोस ।

‘रातो, निलो, हरियो।।, ‘होलीले रंगायो मेरो नयाँ चोली‘, जोगिरा सररर‘, रङ्ग वर्षे रङ्ग वर्षे भिगे चुनरवाली।।, ‘डु यु वान लेस्ट प्ले होली‘, जस्ता गीतको प्लेलिस्ट बनाउन सकिन्छ।

गीतका लागि ठूलो उफर नै चाहिन्छ भन्ने छैन । सानोतिनो उफरमा पनि मोबाइलबाट कनेक्ट गरेर गीत बजाउन सकिन्छ ।

७. सजावट

रङहरुले मात्र होइन , होली खेल्ने भेन्युलाई पनि सजाउन सकिन्छ । खानेकुराका लागि एउटा टेबल राख्न सकिन्छ ।

अर्को टेबलमा थरीथरीका रङहरु राखेर सजाउन सकिन्छ । टेबलनजिक पिचकारी र सफा पानी बाल्टीमा राख्न सकिन्छ । त्यसबाट अलि टाढा खानेकुराको परिकार र म्युजिक राख्न सकिन्छ ।

८. स्मरणीय फोटो सेसन

रङले भरिएका क्षणहरू केबल सम्झनामा मात्र होइन, तस्वीरमा पनि कैद गर्न सकिन्छ । परिवारका तथा जम्मा भएका सबैलाई एकै ठाउँमा ल्याएर क्रिएटिभ फोटो सेसन गर्ने व्यवस्था गरौँ ।

९. कार्यक्रम अवधि

यसपटक होलीको दिन मौसम नखुल्ने र घाम पनि खासै नलाग्ने मौसमविद्ले जानकारी दिएका छन् । दिनभर चिसो मौसम रहने हुँदा होलीको कार्यक्रम बिहान ९ बजे सुरु गरेर १२ बजे सक्ने गरी योजना बनाउन सकिन्छ । जसमा होली खेल्ने र नहुाउने काम पनि सकियोस् । ता कि, यसले दिनभर थकित बनाउने र फोहोरले शरीरलाई पुर्‍याउने असरबाट बचियोस्।

सजगता अपनाउने

(जबरजस्ती कसैलाई रङ नलगाउने, बाटोमा हिँड्ने व्यक्तिलाई अवाञ्छित रूपमा पानी नछ्याप्ने आदि कुरामा ध्यान राख्नुपर्छ।

(कतिपयले घरमा पालेको कुकुर र बिरालोलाई सहित माया गरेर रङ लगाइदिने र पानी खन्याउने गरेको पनि देखिन्छ। त्यस्तो पटक्कै नगरौं । यसले उनीहरु थला पर्न सक्छन्।

(कौसी वा सिँढीबाट लड्ने सम्भावनालाई ध्यानमा राखी विशेष सतर्कता अपनाउनुहोस्।

–होली खेल्दै बच्चाहरुको रेखदेखमा पनि ध्यान दिनुपर्छ । ता कि, उनीहरु झगडा गर्ने, लडिबुडी गर्ने र रङ तथा पानीको गलत प्रयोग गर्नबाट जोगाउन सकियोस्।