२०८३ वैशाख २ बुधवार | Wednesday, Apr 15 2026

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल

काठमाडौं । सरकारले चिकित्सा क्षेत्रबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुस्कार’मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई प्रदान गर्ने भएको छ । प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बुधबार उक्त घोषणा गरिएको छ ।

स्वास्थ्य सचेतनामा दुईवटा विश्व कीर्तिमान कायम, प्रविधिको प्रयोगमार्फत् पहुँच बाहिर रहेकालाई सेवा प्रदान तथा सामाजिक सञ्जालमार्फत् स्वस्थ जीवन अभियान सञ्चालन गरेको भन्दै आइतबारको मन्त्रिपरिषद् बैठकले डा. ओम मूर्ति अनिललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उनले सन् २०२३ गिनिज वल्र्ड रेकर्ड तथा सन् २०१४ वल्र्ड बुक रेकर्ड कायम गरेका छन् । ‘उच्च रक्तचापको निदान’ केन्द्रित स्वास्थ्य जागरूकता लाइभ स्ट्रिमको लागि फेसबुकमा सबैभन्दा धेरै दर्शक पाएर विश्व रेकर्ड कायम गरेका हुन् ।

त्यस्तै मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ताका लागि वल्र्ड बुक रेकर्ड (लन्डन) बाट मान्यता दिइएको छ । एक दशकभन्दा बढी समयदेखि उनले फेसबुकमार्फत् मुटुरोग तथा नसर्ने रोगहरूका बारे सर्वसाधारणलाई सुसुचित गराउन निरन्तर चेतनामुलक सामग्रीहरू प्रकाशन तथा प्रसारण गर्दै आएका छन् ।

शहरी क्षेत्रका युवाहरुमा मुटुरोगको जोखिमका कारकहरूको मूल्यङ्कनसहित बृहत् अनुसन्धान गरी राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्बाट सर्वोत्कृष्ट शोधपत्रका रुपमा पुरस्कृतसमेत भएका डा. ओम मूर्तिलाई स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र सचेतनामा उल्लेखनीय योगदान पु¥याएवापत उक्त पुरस्कारका निम्ति छनोट गरिएको हो ।

सन् २०१४ मा उनले काठमाडौंमा ५ हजार ५३० जनामाथि मुटुरोगको जोखिम कारकहरू मूल्यङ्कनसहित बृहत् अध्ययन अनुसन्धान गरेका थिए । उनले विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई पछिल्लो १० वर्षको अवधिमा व्यक्तिगत खर्चमा ७ वटा ठूला निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १० हजार जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच र औषधिसमेत वितरण गरेका छन् ।

त्यस्तै आप्रवासी नेपाली कामदार र विविध कारणले अस्पतालभन्दा टाढा रहेकाहरूलाई सहयोग गर्न उनको नेतृत्वमा उनी कार्यरत स्वास्थ्य संस्थामा निःशुल्क टेलिमेडिसिन सेवा सुरु गरिएको छ । सो टेलिमेडिसिन सेवामार्फत् कयौंले निःशुल्क सेवा लिँदै आएका छन् ।

यसैगरी उनले दुर्गम र ग्रामीण क्षेत्रका मानिसमा स्वास्थ्य सेवा पु¥याउन स्वाथ्यकर्मीहरूलाई मुटुरोग तथा नसर्ने रोगसम्बन्धी थप ज्ञान प्रदान गर्न विभिन्न तालिम सञ्चालन, प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनामा जनतासँग पहिलो र प्रत्यक्ष सरोकार राख्ने सुरक्षाकर्मीलाई कार्डियोपल्मोनरी रिसुसिटेसन (सीपीआर) लगायतका स्वास्थ्य तालिम प्रदान पनि गर्दै आएका छन्।

महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा जन्मिएर काठमाडौंमा सेवा प्रदान गर्दै आएका डा. ओम मूर्ति अनिलले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स्) नयाँदिल्लीबाट इन्टरभेन्सन कार्डियोलोजीमा डीएम, चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडी इन मेडिसिन (स्वर्ण पदक विजेता), कलेज अफ मेडिकल साइन्सेस, भरतपुरबाट एमबीबीएसको अध्ययन पूरा गरेका छन्।

त्यस्तै अमेरिकन कलेज अफ कार्डियोलोजी (एफएसीसी) र सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट फेलोसिप प्राप्त गरेका डा. अनिलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्डियोलोजीको सहायक प्राध्यापक (मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर), डीएम कार्डियोलोजी कार्यक्रम संयोजक, चिकित्सा विभाग चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा इन्टरभेन्सन कार्डियोलोजीमा ह्यान्ड्स–अन अनुभव र विशेषज्ञता सेवा प्रदान गरी मुटुरोगका चिकित्सकहरूलाई प्रशिक्षण तथा बिरामीको सेवामा महत्वपूर्ण भूमिका खेलेका छन् ।

‘म पनि डाक्टर’ र ‘जीवन सम्बन्ध’ पुस्तकका लेखकसमेत रहेका उनले डा. ओम फाउन्डेसनको स्थापना गरी व्यक्तिगत रूपमा सामाजिक कार्य गर्दै आएका छन्। स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने सो फाउन्डेसनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी दुर्गम र ग्रामीण क्षेत्रका विपन्न तथा सिमान्तकृत समुदायलाई स्वास्थ्य सेवा प्रदान, देशव्यापी छात्रवृत्तिमार्फत् गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षा, धुम्रपान विरोधी अभियान, स्कुल हेल्थ प्रोग्राममार्फत् स्वास्थ्य सचेतना तथा न्यानो कपडा वितरणलगायतका कार्यक्रममार्फत् देशभरका हजारौं विद्यार्थीलाई सहयोग प्रदान गर्दै आएका छन् ।

मुलुकमा शान्ति सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान, विकासलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई सरकारबाट प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गरिँदै आएको छ ।