आजभन्दा ठिक ११५ वर्षअघि आजकै दिन अर्थात् विसं १९६८ जेठ ९ गते नेपालमा फर्पिङ जलविद्युत्गृहले पाँच सय किलोवाट बिजुली उत्पादन सुरु गरेको थियो । यो आयोजना नेपालको पहिलो र दक्षिण एसियाकै दोस्रो हो । भारतले सन् १८९७ (विसं १९५४) मा दार्जिलिङमा १३० किलोवाटको सिद्रापोङ जलविद्युत् परियोजना बनाएपछि फर्पिङ जलविद्युत् आयोजना निर्माण गरिएको थियो । चन्द्रशमशेरको पालामा निर्माण भएकाले यसलाई ‘चन्द्रज्योति बिजुली’ नामकरण गरियो । निर्माण सम्पन्न भएपछि फर्पिङ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् ‘बिजुली अड्डा’ स्थापना गरी वितरण गरियो ।
राणा शासनकाल अर्थात् विसं २००७ अघि फर्पिङ र सुन्दरीजल आयोजनाबाट १.१४ मेगावाट जलविद्युत् उत्पादन भएको थियो । विसं २०१७ अघि प्रजातान्त्रिक शासनकालमा जलविद्युत् उत्पादनले गति लिन सकेन । पञ्चायतकालमा १७५ मेगावाट जलविद्युत् उत्पादन हुन सक्यो ।
विसं २०४६ पछि अर्थात् बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनस्र्थापित भएपछि निजी क्षेत्रलाई जलविद्युत् उत्पादनमा प्रवेश गराइयो । यस नीतिले जलविद्युत् उत्पादनमको गति तीव्र भयो । नेपालको संविधान जारी हुनुअघि एक हजार ६३ मेगावाट जलविद्युत् उत्पादन भएको थियो । हाल चार हजार १२३ मेगावाट जलविद्युत् र वैकल्पिक ऊर्जाको १०६ मेगावाटसहित चार हजार २२९ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
राणा शासनमा दुई वटा, पञ्चायती शासनमा ११ वटा, बहुदलीय प्रजातन्त्रकालमा ५३ वटा र नेपालको संविधान, २०७२ जारी भएपछि १८४ वटा आयोजना निर्माण सम्पन्न भएका छन् । विद्युत ऐन, २०४९ ले विद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरे पनि विसं २०५५ असार १४ गते विद्युत् खरिद सम्झौता (पिपिए) को दर तोकिएपछि यो क्षेत्र उत्पादनमा प्रवेश गरेको थियो ।
विसं २०७२ अघिसम्म सिक्दै, निर्माण गर्दै गरेको निजी क्षेत्र ठुला आयोजना निर्माणमा मात्र केन्द्रित छैन । प्रसारण, वितरण र व्यापारमा समेत सहभागिताको माग निजी क्षेत्रले गर्न थालेको छ । फर्पिङ जलविद्युत्बाट सुरु भएको यस यात्रामा अब सरकार मात्र छैन, निजी क्षेत्र पनि अग्रसर भइसकेको छ ।
त्यो जेठ ९, यो जेठ ९
पहिलो पटक जलविद्युत् आयोजना निर्माण गरी बिजुली बालेको ११५ वर्षअघिको जेठ ९ ऐतिहासिक र अविस्मरणीय दिन हो । तत्कालीन अवस्थामा परीक्षणको रूपमा खोकनाका बासिन्दा सिद्धिलाल महर्जनको घरमा बिजुली बाले पनि त्यसपछि लामो समय पहुँचवालाबाहेक सर्वसाधारणले यो सेवा उपभोग गर्न पाएनन् । राणा, केही उच्चपदस्थ पहुँचवालालगायतले मात्र यो बिजुली बाल्न पाएका थिए; जस अनुसार सिंहदरबार, केही सरकारी कार्यालय र राणा शासकका दरबारमा बिजुली बालिएको थियो ।
राणा शासकले ‘बिजुलीले मान्छे मर्छ कि मर्दैन’ भनेर परीक्षण गर्दा खोकनाका सिद्धिलालको घरमा बिजुली बलेको थियो । धेरै ‘सिद्धिलाल’ले त्यो परीक्षणपछि लामो समयसम्म आफ्नो घरआँगनमा बिजुली बाल्न पाएनन् तर आजको जेठ ९ सम्म आइपुग्दा नेपालका ९९ प्रतिशत ‘सिद्धिलाल’ ले घरमा बिजुली बाल्न पाएका छन् ।
बिजुलीको उज्यालोले उनीहरूको जीवनलाई उज्यालो बनाएको छ । पाँच सय किलोवाटदेखि चार हजार दुई सय मेगावाट उत्पादनसम्म आइपुग्दा विद्युत् इतिहास एउटा कथा जस्तो लाग्छ तर यथार्थमा मुलुक उज्यालोमय बनेको छ । नेपाल जलविद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार अहिले ६२ लाख घरधुरीमा बिजुली पुगिसकेको छ । ७५३ पालिकामध्ये ७३५ पालिकाका घर घरमा बिजुली पुगेको छ । उज्यालोका लागि टुकी र दियालोको भर पर्नुपर्ने परम्परा अन्त्य भएको छ ।
फर्पिङ जलविद्युत्को कथा
विसं १९६४ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर बेलायत र युरोप भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले १९६४ साल चैत २५ देखि वैशाख २६ गते (सन् १९०८ अप्रिल ६ देखि मे ८) सम्म बिताउँदा त्यहाँ बिजुली उत्पादनलगायत धेरै विकास देखे । यसको प्रभावस्वरूप बेलायतबाटै विज्ञ बोलाएर फर्पिङ आयोजना निर्माण सुरु गरिएको थियो ।
सिंहदरबारबाट १७ किलोमिटरको दुरीमा रहेको यस आयोजना निर्माणमा बेलायत सरकारले नै सहयोग गरेको थियो । त्यतिबेला विद्युत् संसारमै नौलो प्रविधि थियो । नेपालका लागि त कल्पनाबाहिरको तर चन्द्रशमशेरले बेलायतमा बिजुली बलेको देखेपछि बेलायत र युरोपेली सरकारलाई अनुरोध गरेर बेलायती प्रविधि र युरोपेली उपकरण ल्याई आयोजना निर्माण गर्न लगाएका थिए ।
फर्पिङ क्षेत्रका कुटली, सातमुले र शेषनारायण खोल्साको पानी जम्मा गरी बिजुली निकाल्ने योजनाको डिजाइन इन्जिनियर कर्णेल किशोरसिंह राणाले गरेका थिए । आयोजना कार्यान्वयन गर्न बेलायतको ‘जनरल इलेक्ट्रिक कम्पनी’ बाट इन्जिनियर लिन्जाले झिकाइएको थियो ।
आयोजनामा राणा सरकारका भाइभारदारसमेत खटिएका थिए । निर्माण कार्यको निरीक्षण जनरल पद्मशमशेर, आवश्यक सामानको आपूर्ति तथा उपलब्धिमा जनरल मोहनशमशेर, सामान अर्डर गर्ने, चलान गर्ने, जहाज चढाउने जस्ता बन्दोबस्तीमा जनरल केशरशमशेर, इन्जिनियरमा कर्णेल किशोरनरसिंह राणा र उनका सहयोगीमा कुमारनरसिंह राणालगायत नेपाली कामदारले काम गरेका थिए ।
लप्टन देवीबहादुर र सुबेदार हर्षबहादुरलाई प्रसारण लाइनको जिम्मेवारी सुम्पिएको थियो । यसरी राणा परिवारले यो आयोजनालाई उच्च प्राथमिकता दिई आफ्ना वरिष्ठ सदस्यहरूलाई संलग्न गराई काम अगाडि बढाएका थिए । आयोजना निर्माणका लागि केही भारतीय मिस्त्री पनि झिकाइएको थियो ।
विसं १९६४ मा सुरु भएर १९६८ मा यो आयोजना सम्पन्न भएको थियो । आयोजनाका मुख्य संरचनाका रूपमा पाँच लाख २८ हजार ७८३ क्युफिट पानी अट्ने दुई सय फिट व्यासको र १८ फिट गहिरो गोलाकार जलाशय बनाइयो । दुई हजार ५३८ फिट लामो २० इन्चको स्टिल पेनस्टक पाइपमार्फत पावरहाउस रहेको २५० किलोवाट क्षमताका दुइटा पेल्टन टर्बाइनमा २८८ पिएसआईको प्रेसर अर्थात् करिब ६८२ फिटको ग्रस हेडले हान्दा थ्री फेजको ११ हजार भोल्ट निकाल्ने गरी छ सय आरपिएम सिन्क्रोनस स्पिडमा घुमाउने जनरल इलेक्ट्रिक जेनेरेटर जडान गरियो ।
करिब साढे नौ लाख मानिसको श्रमदानबाट उक्त आयोजना सम्पन्न गरिएको थियो । सामानहरू बेलायतबाट कलकत्ता, भीमफेदी हुँदै आयोजना क्षेत्रसम्म ल्याइएको थियो । पावरहाउस, जलाशय, सबस्टेसन, ढुवानी, प्रसारण लाइन निर्माण, ज्यामी आदिको कुल खर्च सात लाख १३ हजार २७३ रुपियाँ लागेको थियो ।
यसमा टर्बाइन, जेनेरेटर जस्ता मुख्य उपकरण बेलायती सरकारको अनुदान जोडिएको छैन । उत्पादित जलविद्युत्लाई काठ र स्टिलका पोल गाडी सात माइल लामो ११ केभी प्रसारण लाइनमार्फत टुँडिखेल सबस्टेसनमा ल्याई २३ सय भोल्टमा ‘स्टेप डाउन’ गरी सहरका मुख्य भाग तथा राणा र राजाका भाइभारदारका दरबारसम्म पु¥याइएको थियो ।
चन्द्रज्योति बिजुलीको औपचारिक उद्घाटनका लागि विसं १९६८ जेठ ९ गते (सन् १९११, मे २२ ) को सोमबार साँझ ५ बजे टुँडिखेलमा मञ्च बनाएर सिँगारिएको थियो । मञ्चमा तत्कालीन राजा पृथ्वीवीरविक्रम शाह, प्रधानमन्त्री चन्द्रशमशेरका साथै नेपाली सेना, निजामती कर्मचारी, साहुमहाजन, पण्डित, उच्चपदस्थ राणा तथा जनरल र कमान्डर–इन–चिफसहित ठुलो सङ्ख्यामा सर्वसाधारणको उपस्थिति थियो ।
राजा पृथ्वीवीरविक्रम शाहले साँझ ६:३० बजे टुँडिखेलको पूर्वतिर रहेको सबस्टेसन र वरपर झिलिमिली बत्तीहरू उद्घाटन गरेका थिए । त्यो दिन सर्वसाधारण जनताले पहिलो पटक ‘तारबाट आउने उज्यालो’ देखेका थिए । सुरुमा त तारबाट बिजुली आउँछ भनेर पत्याएका पनि थिएनन् तर बिजुली बलेपछि राजा र राणादेखि सर्वसाधारणमा खुसियाली छायो ।
यसपछि सोही ठाउँमा एक हप्तासम्म बिजुली बालिएको थियो भने तत्कालीन राणा सरकारले उद्घाटनको दोस्रो दिन अर्थात् जेठ १० गते जङ्गी तथा निजामती कर्मचारीलाई बिजुली बलेको खुसियालीमा एक दिनको सार्वजनिक बिदा दिएको थियो ।
यसपछि निरन्तर सञ्चालनमा रहेको सो विद्युतगृह पानीको अभावका कारण विसं २०३८ पछि बन्द भयो । जलविद्युत्का लागि ल्याइएको पानी ललितपुरका विभिन्न क्षेत्रमा खानेपानीका लागि आपूर्ति हुन थालेपछि सो विद्युत्गृह बन्द भयो तर विसं २०६३ पुसबाट आवश्यक परे सञ्चालन गर्न सकिने गरी मर्मतसम्भार गरेर राखिएको छ ।
विसं २०६७ मा सय वर्ष पुगेको अवसरमा उक्त विद्युत्गृहमा तत्कालीन ऊर्जा मन्त्रालयको संयोजकत्वमा शतवार्षिकी महोत्सव मनाइएको थियो । हाल यहाँ स्मारक पनि निर्माण गरिएको छ ।
आयोजना निर्माण गर्ने समयमा नेपालमा सडकहरू नै थिएनन् तर चन्द्रशमशेरले जसरी पनि आयोजना निर्माण गर्ने अठोट लिए तर जलविद्युत् आयोजनाका लागि मेसिन एक ठाउँबाट अर्को ठाउँमा लानु त फलामको चिउरा चपाउनु सरह नै थियो । जलविद्युत्गृहका लागि आवश्यक सामान युरोप र बेलायतबाट समुद्री जहाजमार्फत भारतको कलकत्ता (हाल कोलकाता) बन्दरगाहसम्म ल्याइयो । यहाँबाट रेलमार्फत नेपालको सिमाना नजिकसम्म ल्याइयो । त्यसपछि ती भारी उपकरण मानिस, भरिया, खच्चड र डोकोको सहायताले पहाड हुँदै काठमाडौँ उपत्यकासम्म ल्याइयो । कतिपय मेसिनका भाग छुट्टाछट्टै बोकेर फर्पिङमा ल्याइएको थियो ।

फर्पिङदेखि मेवाखोलासम्म
पाँच सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजना बनेपछि विसं १९९२ मा ६४० किलोवाटको सुन्दरीजल आयोजना निर्माण भयो । त्यसपछि ३० वर्षसम्म कुनै आयोजना निर्माण भएन । विसं २०२२ मा २.४ मेगावाटको पनौती, विसं २०२४ मा २४ मेगावाटको त्रिशूली, विसं २०२६ मा एक मेगावाटको फेवा, विसं २०२९ मा १०.०५ मेगावाटको सुनकोशी, विसं २०३५ मा १५ मेगावाटको गण्डक र विसं २०३८ मा एक मेगावाटको तिनाउ निर्माण भएको थियो ।
यही अवधिमा नेपालको पहिलो जलाशययुक्त आयोजना कुलेखानी पहिलो विसं २०३९ मा निर्माण भयो । विसं २०४१ मा १४.१ मेगावाटको देवघाट, विसं २०४२ मा १.५ मेगावाटको सेती, विसं २०४३ मा ३२ मेगावाटको कुलेखानी दोस्रो र विसं २०४५ मा दुई मेगावाटको तातोपानी आयोजना निर्माण भएको थियो । यसरी पञ्चायतकालभरि ११ वटा आयोजना निर्माण भएको थियो । सो अवधिमा सोलार, लघुजलविद्युत्सहित १७६ मेगावाट जति विद्युत् उत्पादन भएको थियो ।
बहुदलीय प्रजातन्त्रपछि नेपालको संविधान जारी हुनुअघिसम्मको अवधिलाई हेर्ने हो भने निजी क्षेत्रबाट तीन हजार ४६६ मेगावाट बराबरका २२६ आयोजना र सरकारी क्षेत्रबाट ४३३ मेगावाटका ११ आयोजना निर्माण भए ।
पछिल्ला वर्षमा सरकार र नेपाल विद्युत् प्राधिकरण आफैँले आयोजना बनाउनेभन्दा निजी क्षेत्रको मोडेलमा सहायक कम्पनी निर्माण गरेर यस क्षेत्रमा काम गरिरहेका छन् । विद्युत् प्राधिकरणले सहायक कम्पनी गठन गरेर तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादन कम्पनी स्थापना गरेर आयोजना निर्माण कार्य अघि बढाइरहेका छन् ।
निजी क्षेत्रले लमजुङस्थित स्याङ्गेखोलाको ०.१८३ मेगावाटको विसं २०५८ माघ ३ गते प्राधिरकरणसँग पहिलो पिपिए गरेको थियो । अहिले १२ हजार १०२ मेगावाटका ५४७ आयोजनासँग विद्युत् प्राधिकरणले पिपिए गरिसकेको छ ।
सरकारको नवौँ पञ्चवर्षीय योजनामा निजी क्षेत्रले १० मेगावाटसम्म निर्माण गर्न सक्ने आकलन गरिएको थियो तर ८६ मेगावाटको आयोजना निर्माण गरिसकेको छ । ३४१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । पाँच सय किलोवाटको फर्पिङदेखि भर्खरै सम्पन्न भएको ५० मेगावाटको मेवाखोला आयोजनासम्म आइपुग्दा २५० भन्दा बढी आयोजनाबाट चार हजार दुई सय मेगावाट बराबरको विद्युत् उत्पादन भइसकेको छ । यो उत्पादन वैकल्पिक ऊर्जासमेतको हो ।
नेपाल सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट बराबरका आयोजना निर्माण गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । विद्युत् प्राधिकरणमा मात्र १६ हजार ११४ मेगावाटका २६१ आयोजनाले पिपिएका लागि आवेदन दिइसकेका छन् । नेपाल सरकारले अघि सारेको लक्ष्य हासिल हुन सके अबको १० वर्षभित्र ३० हजार मेगावाट बराबरका आयोजना निर्माण पूरा हुने छन् भने नेपाल ऊर्जा सुरक्षाका लागि बलियो मुलुक बन्ने छ ।
ऊर्जा सङ्ग्रहालयको लक्ष्य
सरकारले फर्पिङ विद्युत्गृहलाई ऊर्जा सङ्ग्रहालयका रूपमा विकास गर्ने लक्ष्य अगाडि सारेको छ । यसका लागि गुरुयोजना निर्माण पनि गरिएको छ । परियोजनाको स्वामित्वमा रहेको ३२४ रोपनी जग्गालाई उपयोग गरेर ऊर्जा सङ्ग्रहालय बनाउने तयारी गरिएको हो । गुरुयोजनाको कार्यान्वयन भने अझै हुन सकेको छैन ।
गुरुयोजना अनुसार काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पुस्तकालय, बालउद्यानलगायत संरचना निर्माण गरिने छ । जलविद्युत् केन्द्रका संरचना जीर्णोद्धार गरी सङ्ग्रहालयका रूपमा विकास गरिने छ । यसका लागि करिब एक अर्ब नेपाली रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
११५ वर्षअघि बनेको र बर्सौंसम्म विद्युत् इतिहासका लागि अविस्मरणीय रहेको फर्पिङलाई जीवन्त इतिहासका रूपमा विकास गर्नु आवश्यक छ । हुन त सरकार यसलाई ऊर्जा सङ्ग्रहालयका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढेको छ । जीवन्त इतिहास जगेर्नाका लागि सरकारले पहिलो त कम्तीमा सानो क्षमतामा भए पनि विद्युत् उत्पादन गरिरहने गरी पानीको प्रबन्ध गर्नु पर्छ ।
यसका लागि केही महँगो भए पनि ‘वाटर लिफ्टिङ’ वा अन्य माध्यमबाट पानीको व्यवस्थापन गर्न सकिन्छ । अर्को ११५ वर्षअघिको उपकरणलाई म्युजियम वा सङ्ग्रहालय बनाएर प्रदर्शनमा राख्नु उचित हुन्छ ।
ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अधिकारी/विकासकर्ता/लगानीकर्ता/विज्ञ/विशेषज्ञ नेपाल आउनेबित्तिकै फर्पिङ लैजाने परम्परा विकास गर्नु पर्छ । सरकारले यसका लागि ऊर्जासँग सम्बन्धित कार्यक्रम गर्न सक्ने गरी यहाँ सम्मेलन केन्द्र स्थापना गर्नु पर्छ । दक्षिण एसियामा ऊर्जाको कुनै गतिविधि, सम्मेलन वा कार्यक्रम हुनेबित्तिकै नेपाल जानुपर्ने र नेपालको फर्पिङ पुग्नुपर्ने गरी प्रवर्धनात्मक कार्यक्रममा सबैको ध्यान पुग्न जरुरी छ ।







![हकदार [कथा] हकदार [कथा]](https://aagammediaintl.com/wp-content/uploads/2026/05/454-428x200.jpg)


































