२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

अन्वेषकको अन्टार्कटिकातर्फ यात्रा : एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीमा जलवायु अध्ययनको नयाँ प्रयास

केप टाउन । फ्रान्सका एक अन्वेषक म्याथिउ टोर्डुर र प्रसिद्ध हिमनदी विज्ञ हेइडी सेभेस्ट्रेले अन्टार्कटिकाको गहिराइमा एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीका लागि तीन महिनाको कठिन अभियान प्रारम्भ गर्नुभएको छ ।

चङ्गा स्कीसको सहायतामा पृथ्वीको सबैभन्दा चिसो र कठोर भूभाग पार गर्दै उहाँहरूले ‘सेतो महाद्वीप’ को इतिहास र भविष्य जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छ भन्ने बुझ्ने लक्ष्य राख्नुभएको छ । दक्षिणी गोलार्धको गर्मी सिजन सुरु भएसँगै सुरू भएको यो ‘अन्डर अन्टार्कटिका’ अभियान आगामी नोभेम्बर १० देखि ब्राजिलमा हुने कोप-३० जलवायु सम्मेलनसँग मेल खाने गरी तय गरिएको छ । दुवै वैज्ञानिकको उद्देश्य जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी कदमलाई सशक्त बनाउन र पग्लँदै गएको बरफको प्रभावबारे ठोस प्रमाण प्रस्तुत गर्नु हो ।

-चरम यात्राको चुनौती-

टोर्डुर र सेभेस्ट्रेले पूर्ण अलगावमा रहँदै करिब चार हजार किलोमिटर लामो बाटो पार गर्ने योजना बनाउनुभएको छ । यस अवधिमा तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म झर्न सक्नेछ । दुवै जना चङ्गा स्कीसको सहायतामा यात्रा गर्नुहुनेछ । यसमा स्कियरले शरीरमा बाँधिएको हार्नेसमार्फत चङ्गाको बल प्रयोग गरी अगाडि बढ्छन् ।

“यदि हावाको अवस्था अनुकूल रह्यो भने हामी दैनिक १५० देखि २०० किलोमिटर यात्रा गर्न सक्छौँ”, टोर्डुरले भन्नुभयो । गत वर्ष उहाँहरूले ग्रीनल्यान्डमा चङ्गा स्कीस प्रयोग गरी एक हजार ५०० किलोमिटर यात्रा गर्दै बरफका नमूना सङ्कलन गर्नुभएको थियो । यस पटक ९० दिनभित्र अभियान पूरा गर्ने योजना छ । “हामीले जनवरीको अन्त्यअघि अन्टार्कटिकाबाट बाहिरिनै पर्छ”, ३३ वर्षीय टोर्डुरले भन्नुभयो, “त्यसपछि कुनै विमान वा रसद सहायता सम्भव हुँदैन ।”

-चरम सीमाको महाद्वीप-

टोर्डुरका अनुसार अन्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो, सुक्खा, हावायुक्त र सबैभन्दा उचाइमा रहेको महाद्वीप हो । उहाँहरूले करिब तीन हजार ८०० मिटर उचाइमा यात्रा गर्नु हुनेछ । त्यहाँ कुनै मानव बस्ती वा जनावर भेटिँदैन । “जब तपाईं महाद्वीपभित्र पस्नुहुन्छ, त्यहाँ केही पनि हुँदैन-मात्र सेतो बरफको अनन्त फैलावट”, उहाँले भन्नुभयो ।

प्रत्येक अन्वेषकले आफ्नो स्लेजमा खानादेखि उपकरणसम्म सबै वस्तु बोकेका छन् । त्यसमा दुईवटा जमिनमा प्रवेश गर्ने राडारसमेत छन्, जसले बरफको गहिराइ र तह स्क्यान गर्नेछ । खाना योजनासमेत अति सूक्ष्मरूपमा तयार गरिएको छ-उदाहरणका लागि बिहानको भोजनमा ७० ग्राम ओट्स, ३० ग्राम मुसेली र १४ ग्राम किसमिस समावेश हुन्छ ।

-वेस्ट अन्टार्कटिकाको पतन सम्भव छ-

हिमनदी विज्ञ सेभेस्ट्रेका अनुसार अभियानको प्रमुख लक्ष्य दुईदेखि तीन किलोमिटर गहिराइमा रहेको अत्यन्त पुरानो बरफ पत्ता लगाउनु हो । “हामी एक लाख ३० हजार वर्ष पुरानो बरफ खोज्दैछौँ-त्यो समय पृथ्वी अहिलेको भन्दा करिब तीन डिग्री बढी तातो थियो”, उहाँले भन्नुभयो । यदि त्यस्तो पुरानो बरफ फेला परेन भने सेभेस्ट्रेका शब्दमा, “यसको अर्थ हुन्छ, तापक्रम तीन डिग्री बढ्दा अन्टार्कटिकाको केही भाग पतन भइसकेको थियो ।”

यस अध्ययनले भविष्यमा समुद्री सतह कति बढ्न सक्छ भन्ने वैज्ञानिक मोडेललाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ । “पश्चिम अन्टार्कटिकामा यति धेरै बरफ छ कि पग्लिएमा विश्व समुद्री सतह चारदेखि छ मिटरसम्म बढ्न सक्छ”, ३७ वर्षीया सेभेस्ट्रेले भन्नुभयो, “त्यस्तो अवस्था आउँदा विश्वभरका लाखौँ मानिस विस्थापित हुनेछन् ।”

-जलवायु परिवर्तनबारे चेतना फैलाउने उद्देश्य-

युनेस्कोको समर्थनमा सञ्चालित यस अभियानको सन्देश नोभेम्बर २१ भित्र ब्राजिलमा भेला हुने विश्व नेतामा पुगोस् भन्ने दुवैको अपेक्षा छ । “जलवायु परिवर्तनको सबैभन्दा खराब परिणामबाट बच्न अझै ढिलो भएको छैन”, सेभेस्ट्रेले भन्नुभयो । उहाँका अनुसार समाधान स्पष्ट छ, “हामीले कार्बन उत्सर्जन घटाउनुपर्छ र जीवाश्म इन्धन प्रयोग कम गर्नुपर्छ । बरफका यी पिण्डलाई जोगाउन यही नै मार्ग हो ।”

यो अभियान केवल एक वैज्ञानिक अनुसन्धान मात्र नभई, विश्वलाई चेतावनी पनि हो-पृथ्वीको इतिहास पढ्न सक्ने बरफ पग्लिँदै छ र त्यससँगै मानव भविष्य पनि जोखिममा पर्न सक्छ । रासस/एएफपी