२०८२ फागुन २५ सोमवार | Monday, Mar 09 2026

वर्षाले धान बालीमा क्षति पुग्दा नगदे बालीलाई फाइदा

ताप्लेजुङ । यसपटकको वर्षाले ताप्लेजुङका किसानलाई फाइदा र बेफाइदा दुवै भएको छ। हिजोआज थन्क्याउन सुरु भएको धान बालीका लागि बेफाइदा भएको छ भने नगदेबाली अलैँची लगायतलाई वर्षाले फाइदा गरेको हो।

स्थानीय किसानका अनुसार धान बाली पाक्ने समयमा वर्षा भएकाले धान खेतीका लागि बेफाइदा भएको छ। थन्क्याउन सुरु गरिएको धान बालीलाई पानीले भिजाएर खेतमै नष्ट गरेको छ भने पाक्न लागेको धानबाली ढलेर क्षति पुगेको छ। काटेर खेतका आलीमा सुकाउनका लागि फिँजाइएका धान वर्षाका कारण थन्क्याउन नपाएपछि पानीले भिजेर खेतमै नष्ट भएको किसानको भनाइ छ।

पाकेको र काट्न बाँकी रहेको धान पनि वर्षाका कारण ढलेर सोत्तर भएपछि नोक्सान भएको किसानले बताएका छन्। यसरी थन्क्याउन सुरु भएको धान बालीका लागि वर्षा बेफाइदा गरेको छ भने अलैँची लगायतका बालीलाई फाइदा पुगेको किसान बताउँछन्। फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका स्थानीय मुक्साम लिम्बूका अनुसार अलैँची, जौ, गहुँ, आलु लगायतका बालीका लागि वर्षाले फाइदा गरेको छ।

अलैँची टिपिसकेको बगान (बगैँचा) का लागि सिँचाइ गर्ने समयमा वर्षा भएकाले फाइदा प्ुगेको लिम्बूले बताउनुभयो। यस्तै जौ, गहुँ र आलु रोप्ने समयमा भएको वर्षाले किसानका लागि फाइदा गरेको लिम्बूको भनाइ छ। यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका स्थानीय सन्जिप लिम्बूले पनि अलैँचीसहित जौ, गहुँ, आलुजस्ता हिउँदे बालीलाई वर्षाले फाइदा गरेको बताउनुभयो।

लगातार धेरै दिन वर्षा भएपछि नगदेबाली अलैँचीलाई सिँचाइ गर्नु नपरेको र जौ, गहुँ, आलुजस्ता हिउँदे बाली लगाउनलाई खेतबारी खनजोत गर्नका लागि वर्षाले सहज भएको लिम्बूले बताउनुभयो। समय–समयमा वर्षा हुँदा अर्थात पानी पर्दा बेफाइदा भन्दा पनि बढी फाइदा नै हुने स्थानीय किसान बताउँछन्। वर्षाले फलफूलजन्य बालीलाई पनि फाइदा नै गरेको किसानको भनाइ रहेको छ।

यता वर्षाका कारण जिल्लामा चिसो भने बढेको छ। करिव एक सातायता निरन्तर वर्षा हुँदा जिल्लाको उच्च हिमाली भेगमा हिमपात भएकाले जाडो बढेको हो। हिमपातका कारण हिमाली भेगका बस्तीहरुमा तुलनात्मक रुपमा बढी चिसो छ भने सदरमुकाम फुङ्लिङसहित जिल्लाभर नै चिसो बढेको छ। गएको सोमबारदेखि सुरु भएको वर्षा र बद्लिएको मौसममा एक सातापछि अर्थात आइतबार केही सुधार देखिए पनि पूर्णरुपमा सुधार भइसकेको छैन।

करिव एक सातासम्म निरन्तर वर्षा हुँदा सबैभन्दा बढी शुक्रबार ५२.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ। फिल्ड कार्यालयका नायव मौसम विज्ञान सहायक सुयोग भट्टराईका अनुसार शनिबार दिउँसो नौ घण्टाको अवधिमा पनि जिल्लामा १८.९ मिलिमिटर वर्षा भएको थियो। जिल्लामा तापक्रम पनि न्युनतम् १४.५ डिग्री सेलसियससम्म मापन भएको फिल्ड कार्यालयले जनाएको छ।