२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

मस्कोमा हुने दोस्रो विश्व लेखक कांग्रेसमा नेपालका कवि सन्तोष कुमार पोखरेलले सम्बोधन गर्ने

काठमाडौं । नेपालको साहित्यिक इतिहासमा नयाँ अध्याय थप्ने अवसर स्वरूप, नेपालका बहुभाषी कवि सन्तोष कुमार पोखरेलले सेप्टेम्बर २०–२१ मा मस्कोमा आयोजना हुने दोस्रो विश्व लेखक कांग्रेसमा नेपालको प्रतिनिधित्व गर्दै सम्बाेधन गर्ने भएका छन्।

विश्व लेखक संगठन (World Organization of Writers–WOW) ले युरेसियन क्रिएटिभ असेंबलीको सहकार्यमा आयोजना गर्न लागेको यो प्रतिष्ठित कार्यक्रम मस्को विश्व व्यापार केन्द्रमा सञ्चालन हुनेछ । जसमा विश्वका ६२ मुलुकका शीर्ष साहित्यकारहरूको प्रतिनिधित्व र सहभागिता रहनेछ। यस वर्षको सम्मेलन र Global Public Assembly Forum का कार्यक्रम संगै हुने आयाेजकले जनाएका छन् ।

उक्त कार्यक्रमलाई अन्तर्राष्ट्रिय साहित्यिक कूटनीतिको दृष्टिले विशेष महत्त्वका साथ हेरिएको छ। विश्व लेखक संगठनकी अध्यक्ष मार्गरिटा एलले “हामी एउटै ग्रहका मानिस हौं” भन्ने मूल नारामा आधारित दोस्रो विश्व लेखक कांग्रेसका बारेमा भनिन्– “मानव इतिहासले शब्दलाई सधैं महान शक्तिका रूपमा चिन्हित गरेको छ। शब्दले राष्ट्रहरूलाई एकताबद्ध गरेको छ, संघर्षलाई प्रेरित गरेको छ, मूल्य निर्माण गरेको छ र विपत्तिपछि मेलमिलाप सम्भव बनाएको छ।

यस पटकको विश्व लेखक कांग्रेसमा सातवटा समानान्तर गोलघेरा विचार–विमर्शहरू हुनेछन्, जसमा लेखकहरूको भूमिका, अनुवाद र बहुभाषिक आदान–प्रदान, नयाँ पुस्ताका लेखकलाई मार्गदर्शन र साहित्यिक शिक्षा, प्रकाशन उद्योग र साहित्यिक उत्सवहरूको भूमिकालाई प्राथमिकताका साथ छलफल गरिनेछ। सन् २०२४ मा नाइजेरियाको अबुजामा सम्पन्न पहिलो विश्व लेखक कांग्रेसको सफलतापछि यस वर्ष मस्कोमा हुने दोस्रो सम्मेलनलाई अझ व्यापक र गहन छलफलको केन्द्रका रूपमा हेरिएको छ।

कवि पोखरेलको यस सम्मेलनमा सहभागिता नेपाली लेखकहरूको आधुनिक काव्य–कूटनीतिको अग्रदूत भनेर चिनिनुको प्रमाण हो। १९५८ मा महाकवि देवकोटाले तास्कन्दमा भएको अफ्रोएसियन कन्फरेन्समा भाग लिए पश्चात सन्तोष कुमार पोखरेल नै वर्तमानमा रुसी र नेपाली साहित्यबीच पूलको काम गर्ने साहित्यकार हुन्।

कवि पाेखरेलको साहित्यिक यात्रा बहुआयामिक छ—नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै उनले निरन्तर नयाँ पहिचान निर्माण गर्दै आएका छन्। विशेषगरी, मस्कोमै आयोजित एक विशेष समारोहमार्फत पोखरेललाई २०२४ मा Maxim Gorky International Award, Gold Feather of Russia लगायतका प्रतिष्ठित पुरस्कारहरू प्रदान गरिएको थियो।

रूसी भाषामा उनले लेखेको कविता “The Beauty of Russia” ले रूसी समाजमा समेत गहिरो प्रभाव पारेको छ, जसले उनलाई संस्कृतिहरूबीचको दूरी घटाउने साहित्यिक दूतको रूपमा स्थापित गरिदिएको छ। यी उपलब्धिहरूले पोखरेललाई दक्षिण एशियाली कविताको मात्र होइन, विश्व साहित्यकै एक सम्मानित स्वरका रूपमा स्थापित गरिदिएको छ।

कवि पोखरेलको प्रमुख योगदानमध्ये एक भनेको Pokhrelian Stanzas (#pokhreliknots) नामक नवीन काव्यशैलीको आविष्कार हो। यसलाई उनले “पोखरेली गाँठो” भनेर परिभाषित गरेका छन्। यो शैलीलाई यसको सटीक शब्दांश संरचना, तुकान्त प्रणाली र सौन्दर्यात्मक सामंजस्यका कारण विशेष मानिन्छ। छोटा–छोटा वाक्यांशमार्फत गहिरा सन्देशहरू व्यक्त गर्ने यो शैली नेपाल कपीराइट कार्यालय (LW-0035) ले पेटेन्टसमेत गरेको छ। भाषिक मितव्ययिता र गहन प्रतीकात्मकता लिएर प्रस्तुत हुने यो शैली विश्वभरका कविहरूबीच लोकप्रिय बन्दै गएको छ।

मस्कोमा हुने दोस्रो विश्व लेखक कांग्रेसमा कवि पोखरेलको उपस्थिति नेपालको साहित्यलाई अन्तर्राष्ट्रिय समुदायमा अझ उचो स्थानमा स्थापित गर्ने अवसरका रूपमा समेत लिइएको छ। कविका शब्दहरूले न केवल साहित्यिक संवादलाई विस्तार मात्र गर्ने हैन, बरु संस्कृतिहरूबीचको दूरी घटाएर नागरिकको भावनालाई पनि प्रज्वलित गर्ने अपेक्षा गरिएको छ। कवि पोखरेलको मस्को यात्रा सुरक्षित र सफल रहोस् ! नेपाली साहित्यले विश्व साहित्यमा अनुकरणीय याेगदान पुर्याउन सफल बनाेस । नेपाली साहित्यनुरागीहरूकाे सुभेच्छा एवं शुभकामना ।

वैश्विक साहित्यिक शिखर सम्मेलन

“हामी एउटै ग्रहका मानिस हौं” को ब्यानरतलको दोस्रो विश्व लेखक कांग्रेसले सांस्कृतिक आदान–प्रदान र साहित्यिक सहयोगलाई बढावा दिने लक्ष्य राखेको छ। सन् २०२४ मा अबुजा (नाइजेरिया) मा आयोजना गरिएको पहिलो कांग्रेसपछि, यस वर्षको कार्यक्रममा निम्न महत्त्वपूर्ण विषयहरूमा सातवटा समानान्तर गोलघेरा विचार–विमर्श समावेश छन्:

सांस्कृतिक र मानवीय एजेन्डा आकार दिनमा लेखक समुदायको भूमिका । अनुवाद कला र सांस्कृतिक–साहित्यिक आदान–प्रदान । लेखकहरूको नयाँ पुस्तालाई शिक्षित र हुर्काउनमा साहित्यको स्थान । प्रकाशन उद्योग र साहित्यिक उत्सवहरूको महत्त्व रहने बताइएकाे छ ।

कवि पोखरेलको साहित्यिक याेगदान 

यस वैश्विक समारोहमा सन्तोष कुमार पोखरेलको आमन्त्रण उनको लामो साहित्यिक यात्रापछि आएको हो, जसले उनलाई अन्तर्राष्ट्रियस्तरमा चिनिएको साहित्यिक शक्तिको रूपमा स्थापित गरेको छ। विशेष गरी, मस्कोमा एक विशेष समारोहमा उनलाई Maxim Gorky International Award र Medal र रूसको प्रतिष्ठित साहित्यिक पुरस्कारहरू मध्ये एक—Gold Feather of Russia प्रदान गरिने कार्यक्रम समेत तय गरिएकाे छ । रूसी भाषामा लेखिएको उनको कविता “The Beauty of Russia” ले व्यापक स्वीकृति प्राप्त गरेको छ र यो उनको सांस्कृतिक दूरीहरू मिलाउने क्षमताको एक उदाहरण समेत हो।

कवि पोखरेलको साहित्यिक यात्रा १३ वर्षको उमेरमा सुरु भएको थियो। उनी छवटा भाषाहरू—नेपाली, अंग्रेजी, हिन्दी, मैथिली, थारू, र रूसीमा धाराप्रवाह बोल्छन् र लेख्छन् । उनका रचनाहरू विश्वभरिका ४० भन्दा बढी भाषाहरूमा प्रकाशित भएका छन्। “The War and Other Poems” (२०२३) र “Modesty Poems” (२०१८) जस्ता उनका कविता संग्रहहरूले युद्धको बिरोध र रोमान्टिक र दार्शनिक विचारहरूदेखि भोक, गरिबी, र महिला तथा बालबालिकाहरूको दुर्दशा जस्ता जटिल सामाजिक मुद्दासम्मका विषयवस्तुलाई छोएका छन्। दागेस्तानी कवि रसूल गमजातोवको काव्य “Cranes” (“Zhuravli”) लाई अंग्रेजी र नेपालीमा अनुवाद गरेकोमा उनी दागेस्तान र रूसमा पनि सम्मानित कवि हुन्।
रसियाको आन्तोन चेखोभ शरदले पोहर साल कविको रुसी कवितासङ्ग्रह खुँडे ईन्द्रधनुष The Faint Rainbow(Тоненькая Радуга) प्रकाशित गरेर गुन लगाएको छ।

एकातरिना भालोदिना Екатерина Володина ले पोखरेलका रुसी कविता Lifft को साहित्यिक विशेष अंकमा प्रकाशित गरिदिई रुसी साहित्यमा कबिको पदार्पण गराइदिएकी हुन्। त्यसैगरी विख्यात कवयत्री निको साबनाद्जे Нино Сабанадзе ले अति दुर्लभ कविता सङ्ग्रहमा पोखरेलका बाह्रवटा रुसी कविता प्रकाशित गरी ठूलो साहित्यिक गुन लगाएको कुरो पोखरेल बताउँछन्।

उनको साहित्यिक गौरव बाहेक, पोखरेल एक समर्पित शान्ति कार्यकर्ता पनि हुन्, जसलाई Universal Peace Federation द्वारा शान्तिदूतको रूपमा मान्यता प्रदान गरिएको छ। उनको कविताहरू प्रायः युद्ध र अन्यायको शक्तिशाली निन्दाको रूपमा हुन्छन्, जुन विश्वव्यापी सद्भाव र मानव अधिकारको पक्षमा अग्रसर छन्। कविताको माध्यमले शान्ति प्रवर्द्धन गर्न समर्पित उनको रूसमा दुई महिनाको प्रवासमा कालिनिनग्राद, मस्को, र दागेस्तानमा कार्यक्रमहरू समावेश थिए, जसले उनको सांस्कृतिक दूतको भूमिकालाई अझ महत्वकाे बनाएकाे छ।