२०८२ फागुन २४ आइतवार | Sunday, Mar 08 2026

स्वास्थ्य बिमा कार्यक्रम : स्रोतको असन्तुलनले धराशायी हुने जोखिम

काठमाडौ । स्वास्थ्य सेवालाई प्रभावकारी, मितव्ययी, जनमैत्री र सबै नागरिकमा पहुँच विस्तार गर्ने उद्देश्यसाथ प्रारम्भ गरिएको स्वास्थ्य बिमा कार्यक्रम थला पर्ने स्थितिमा पुगेको छ ।

स्वास्थ्य बिमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको अनुपलब्धता र आर्थिक पक्ष कमजोर हुँदा नागरिकमैत्री र जनजीवनसँग जोडिएको महत्वपूर्ण स्वास्थ्य बिमा कार्यक्रम एक दशकपछि सङ्कटपूर्ण अवस्थामा पुगेको हो ।

साथै स्रोतको सन्तुलन कायम गर्न नसक्दा पनि बिमा बोर्डलाई ठुलै चुनौती थपिएको छ । नागरिकको उपचारका लागि सहुलियत सेवा प्रदान गरिरहेको लोककल्याणकारी स्वास्थ्य बिमा कार्यक्रम बढ्दै गए पनि कार्यान्वयनको प्राविधिक पक्ष बलियो नहुँदा समस्या भएको हो । अधिकांश सरकारी अस्पतालमा आउने सेवाग्राहीले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सहुलियतमा उपचार लिन्छन् । शुल्क तिरेर ‘पेइङ ओपिडी’ मा आउनेको सङ्ख्या न्यून छ ।

स्वास्थ्य बिमा बोर्डले सरकारी अस्पतालमा रहेको प्रथम सेवा बिन्दु हटाएपछि विभिन्न सरकारी अस्पतालले त्यसको विरोध गरेका थिए । अस्पतालले मात्र नभई जनप्रतिनिधिले समेत सरकारलाई प्रथम सेवा विन्दु नहटाउनका लागि पत्राचार गरेका थिए ।

प्रथम सेवा विन्दु हटाउँदा अस्पताल सञ्चालन हुनै नसक्ने दाबी गर्दै ती अस्पतालले प्रथम सेवा विन्दु कायम गर्न माग गरेका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर र डडेल्धुरा अस्पतालले प्रथम सेवा विन्दु कायम गर्न माग राखेका छन् । यी सबै सङ्घीय अस्पताल हुन् ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बिमा बोर्डलाई प्रभावकारी बनाउने सन्दर्भमा चासो नदेखाइएको गुनासो गर्दै स्रोतको असन्तुलन हुनासाथ बिमा धराशायी हुने बताउनुभयो । उहाँले बिमामा पैसा आउने स्रोत बिमित र सरकार भएको जानकारी दिँदै बिमितबाट हाल तीन अर्ब ५० करोड रुपियाँ उठ्ने गरेको बताउनुभयो ।

कार्यकारी निर्देशक काफ्लेले सरकारले दिने अनुदान सात अर्बसहित १० अर्ब ५० करोड रुपियाँ मात्र उठ्ने गरेको बताउनुभयो । उहाँले बिमा बोर्डको खर्च वार्षिक २५ अर्ब रुपियाँ रहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार केही लक्षित वर्गको बिमा सरकारले निःशुल्क गर्ने गरेको छ । बिमा गर्नेमध्ये ५० प्रतिशतको रकम सरकारले बेहोर्ने गरेको छ । त्यस्ता लक्षित वर्गमा विपन्न नागरिक, पूर्ण अशक्त, ज्येष्ठ नागरिक, एचआइभी पीडित र क्षयरोगी पर्छन् ।

‘स्वास्थ्य बिमा प्रभावकारी बनाइन्छ’

स्वास्थ्य बिमा कार्यक्रमका सन्दर्भमा बहस भइरहँदा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको सहजै उपचार गर्ने एक मात्रै अवधारणा स्वास्थ्य बिमा बोर्डबाट लागु भएको बताउनुभयो । उहाँले स्वास्थ्य बिमा बोर्डलाई जसरी पनि बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,  “स्वास्थ्य बिमालाई सुधार गर्न छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमलाई एकत्रित गर्नु पर्छ । ऐनमा उल्लेख भए अनुसार प्रत्येक कर्मचारीबाट एक प्रतिशत मात्र उठाउने र रोजगारदाताद्वारा एक प्रतिशत थप गरिए बिमा बोर्ड सञ्चालन गर्न कठिनाइ हुँदैन ।”

मन्त्री पौडेलले छरिएर रहेका अन्य स्वास्थ्यका कार्यक्रममा १६ अर्ब खर्च हुने गरेको जानकारी दिँदै त्यसलाई बिमामार्फत सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले सरकारले जटिल रोग लागेका बिरामीलाई पाँच लाख रुपियाँसम्मको उपचार दायरा पु¥याउने उद्देश्यबाट सरकार पछि नहटेको जानकारी पनि दिनु भयो ।

‘सुदृढीकरण आवश्यक’

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बिमा बोर्डको संस्थागत क्षमता र सुढृढीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बोर्डमा विशेषज्ञ जनशक्ति, प्रविधि र वित्तीय असन्तुलन हुँदा स्वास्थ्य बिमा थला परेको दाबी गर्नुभयो ।

उहाँले बोर्ड स्थापनाको १० वर्षमा धेरै उपलब्धि भएको जानकारी दिँदै बिमा लागु भएका अस्पतालमा बिमामार्फत ९० प्रतिशत बिरामीको उपचार हुने गरेको बताउनुभयो ।

उहाँले आम्दानी र खर्चको बिचमा तालमेल नहुनेबित्तिकै अस्पतालहरूलाई समयमा भुक्तानी दिन सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले अस्पताललाई भुक्तानी दिन नसकेपछि अस्पतालले दिने सेवा र गुणस्तर खस्किँदै गएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यी समस्याको स्थायी समाधान खोज्नुपर्ने बेला आएको छ । आम्दानी र खर्चको ठुलो असन्तुलनले गर्दा समस्या देखिएको हो ।”

कार्यकारी निर्देशक काफ्लेले ५० प्रतिशतभन्दा बढी मानिसले निःशुल्क सेवा लिने गरेको जानकारी दिँदै जम्मा ४६ प्रतिशतले मात्र प्रिमियम तिर्ने गरेको बताउनुभयो । तीमध्ये अधिकांश मानिस दीर्घरोगी रहेको र जटिल स्वास्थ्य समस्या भएका बिरामी मात्र आउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकथरीले पैसा तिर्दैनन्, त्यो वर्ग जतिखेर पनि औषधी उपचार चाहिने वर्ग रहेको छ ।”

उहाँले अरू बिमा कम्पनीले स्वास्थ्य परीक्षण गरेर मात्र बिमा गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोही रोगी छन्, ती कम्पनीले बिमा गर्दैनन् । स्वास्थ्य बिमामा जोसुकैले पनि बिमा गर्न पाएका छन्, जसको शल्यक्रियाको मिति तोकिएको छ, जसलाई ठुलो रोग लागेको छ, जसलाई दीर्घरोग लागेको छ, त्यो मान्छे मात्र स्वास्थ्य बिमामा आबद्ध हुने गरेको पाइन्छ ।”

उहाँले गुणस्तरको विषयमा अनुगमन बढाउँदै लानुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बिमा सुधारका लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै सँगसँगै क्षमता अभिवृद्धि गर्नुपर्ने योजना पनि अघि सार्नु भयो ।