२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

महानगर यातायातद्वारा एक दर्जन विद्युतीय बस सञ्चालन

काठमाडौं । महानगर यातायात प्रालिले काठमाडौ उपत्यकामा १२ वटा विद्युतीय ठुला बस सञ्चालनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विद्युतीय बस सेवा सुरु गर्नु भयो ।

उपत्यकामा २०७२ सालदेखि महानगर यातायात प्रालिले काठमाडौँको चक्रपथमा एकैपटक ३९ वटा डिजेल बसमार्फत सेवा सञ्चलन थालेकोमा अहिले ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा रहेको महानगरका अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।

विद्युतीय बसको उद्घाटन गर्दै मन्त्री दाहालले सडक सञ्जालको विकाससँगै नेपाल विद्युतीय सवारीको युगमा प्रवेश गरेको धारणा बताउनु भयो । पछिल्लो समय सडक पूर्वाधार विकासमा ठूलो प्रगति भएको भन्दै उहाँले जनताले यसको लाभ लिनका लागि यस्तो संगठित र आधुनिक यात्रुसेवा सञ्जाल विस्तार गर्दै जानु पर्ने बताउनु भयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा विद्युतीय सवारी प्रयोग तीव्र रुपमा बढिरहेको भन्दै नेपालमा विद्युतीय सवारी कारखाना निर्माण गर्नुपर्ने बताउनु भयो ।

महानगर यातायातका कार्यकारी अध्यक्ष खतिवडाले महानगर यातायातको अब छिटै प्राथमिक सेयर निश्कासन पनि गर्ने तयारी रहेको जानकारी गराउनु भयो ।