गाउँको टुप्पोमा छ नुवाकोटगढी किल्ला । चारपाटे आकारको किल्लाभित्र पुराना अवशेष देख्न सकिन्छ । पौराणिक शिल्प पोखिएका इँटा, ढुंगा र संरचना भत्किएको जस्तो लाग्ने काठका अवशेषहरू । किल्लाको छेउमै कुँदिएका छन्, केही शिलालेख । नुवाकोटगढी किल्लाको नजिकै स्थापना गरिएको छ, भैरवकामना मन्दिर । पञ्चदेवमध्येका देव, विष्णुको चतुर्भुज स्नाथक मूर्ति यस मन्दिरमा राखिएको छ ।
यसका साथै सेनहरूको आराध्यदेव भैरवको सेनकालीन भैरव मूर्ति पनि छ । मन्दिरको भित्तामा राष्ट्रगुरु योगीराज योगी नरहरिनाथले लेखेको अष्टभैरवाष्टकम् पनि कोरिएको छ । भैरव मन्दिरको छेउमै छन्, खाँडदेवी मन्दिर र कोटघर । देवीदेवताको बासस्थान र शक्ति रहेको पाल्पाको नुवाकोटगढी ऐतिहासिक एवं धार्मिकस्थलको रूपमा परिचित छ । मन्दिरको सिँढी झरेपछि पुगिन्छ, बुटवलदेखि नुवाकोटगढीसम्म सिद्धार्थ केवलकार स्टेसन ।
ऐतिहासिक गौरवको स्थान : पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने नुवाकोटगढी किल्ला ऐतिहासिक र पर्यटकीय स्थल हो । सेनकालीन समयमा नै नुवाकोटगढी किल्ला स्थापना गरिएको हुन सक्ने विभिन्न अनुमान छ । उक्त स्थानको गढी र किल्लालाई संरक्षण गर्ने अभियानमा लागेको छ गाउँपालिका ।
किल्ला नपुग्दै केही तल कर्णेल उजिरसिंह थापाको सालिक निर्माण गरिएको छ । हातमा तरबार लिएर उभिएका कर्णेल उजिरसिंहको सालिकले भनिरहे झैं लाग्छ, ‘नेपाल अंग्रेज युद्धमा नेपाललाई जिताउन मोर्चाबन्दी गरिएको यो ठाउँ तिमीहरूले संरक्षण गर्नू । नेपालीको वीरता र युद्धकौशललाई विश्वभरि सुनाउनू । ताकि नेपालीको स्वाभिमान र हिम्मतमाथी कसैले पनि प्रश्न उठाउन नपाऊन् ।’
नेपाल–अंग्रेजबीच भएको युद्धमा यही नुवाकोटगढीमा मोर्चाबन्दी गरी नेपालले अंग्रेजमाथि विजय हासिल गरेको थियो । इतिहासकार तथा लेखक
निर्मल श्रेष्ठको पुस्तक पाल्पा नुवाकोट : द लिभिङ हेरिटेजमा लेखिएको छ, ‘उजिरसिंह थापाको तैनाथीमा लडिएको युद्धमा विजय प्राप्त भयो । यसले नेपालको राष्ट्रियता, राष्ट्रियता बुजुद, राष्ट्रिय अस्मितालाई उचाइमा पुर्याउनुको साथै नेपाली सेनाको वीरता, धीरता र रणकौशललाई स्वर्णअक्षरले इतिहासको पानामा अभिलेखीकरण गर्ने काम गरेको छ ।’
नेपाली सेनाको पदयात्रा टोली नुवाकोटगढीमा : गत वैशाख ७ गते नेपाली सेनाको पदयात्रा टोली पाल्पा जिल्लाको नुवाकोटगढीमा पुगेको थियो । गोरखादेखि जितगढीसम्मको ३०५ किलोमिटरको दूरी यो टोलीले हिँडेरै पार गरेको थियो । एकीकरण पदयात्रा टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका पदमार्ग, युद्धमा प्रयोग भएका गढी, दरबार, किल्ला, बाटो, चौताराहरूलाई पछ्याउँदै नुवाकोटगढी पुगेको थियो । टोलीले नेपाल एकीकरणको समयमा प्रयोग भएको पदमार्ग, युद्धमा प्रयोग भएका गढी, दरबार, युद्धस्थल, पानीपँधेरा, चौताराहरूको अवलोकन गरेको थियो ।
१८७१ देखि १८७२ सालमा भएको नेपाल अंग्रेज युद्धमा जितगढी क्षेत्रबाट खटिएका कर्णेल उजिरसिंह थापाको नेपाली सेनाले अंग्रेज फौजलाई वैशाख ७ गते पराजित गरेको इतिहास छ । नेपाली सेनाका अनुसार विजयको यो इतिहास संवद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्न गोरखा जितगढी एकीकरण पदयात्रा गरिएको हो ।
नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गराउन, एकीकरण मार्गमा रहेका सेनासँग सम्बन्धित विषयवस्तुको दस्ताबेजीकरण गर्न, ऐतिहासिक पर्यटकीय पदमार्गको विकास गर्न जनताबीचको सम्बन्धलाई बलियो बनाउन पदयात्राले विशेष भूमिका राख्छ । पाल्पामा धेरै मात्रा युद्धसँग सम्बन्धित गढी, किल्ला, कोत, दरबार, चौतारा, विश्रामस्थलहरू छन् ।
परापूर्वकालदेखि बेग्लै अस्तित्व : इतिहासकार श्रेष्ठका अनुसार, नुवाकोटगढीकै पूर्वी धाँचमा एक करोड दस लाख वर्ष पुरानो रामापेथिकस (पशु शास्त्रीय प्रसंगमा मानव पुर्खा)को बंगारा पाइनुले मानव विकासको उद्गम स्थलको रूपमा प्रागऐतिहासिकतासँग पाल्पा नुवाकोट जोडिएको छ ।
श्रेष्ठकै पुस्तकमा लेखिएअनुसार जिजस क्राइस्ट कार्पेन्टरहरूको समूहसँग सिल्करोड हुँदै जेरुसेलम, ब्याकट्रा, काबुल, पञ्जाव अनि बनारस र बुद्धको जन्मस्थल कपिलवस्तु पुगेका थिए । यहाँ जिजसले ६ वर्षसम्म पूर्वीय दर्शनको अध्ययन गरेको इतिहास छ । अध्ययनपश्चात् पेलिस्टाइन फर्कने क्रममा जिजसले कपिलवस्तु, बुटवल हुँदै पाल्पा नुवाकोटकै यही बाटो प्रयोग गरी ल्हासा र लद्दाख पुगेका थिए ।
मुगल साम्राज्यको विस्तारसँगै भारतका हिन्दुहरूमाथि जजिया र तीर्थयात्रा कर लगाइएको थियो । यी करको भारले गर्दा नेपालका मुक्तिनाथ, पशुपतिनाथजस्ता हिन्दु तीर्थस्थलहरूमा भारतीय हिन्दुहरूको आकर्षण बढेको थियो ।
भारतबाट नेपालमा तीर्थाटन गर्न आउने भक्तजनको प्रमुख बाटो थियो यो पाल्पा नुवाकोटको मार्ग । तेह्रोैं शताब्दीमा तिब्बत र भारतबीचको व्यापार सञ्चालन गर्न नेपालको यही मार्ग नै प्रमुख थियो । यो बाटो तराईको टलहट्टीबाट नुवाकोट पाल्पा हुँदै तिब्बत पुगिन्थ्यो ।
पौराणिक कालमा धार्मिकस्थलको रूपमा रहेको यो नुवाकोटगढी सेनकालमा श्री गोपाल योगीलगायत विभिन्न सिद्धहरूको विचरणस्थल र तपोभूमि रहेको थियो । कोटघरमा दसैंको नौरथामा मगर पुजारीबाट पुजा हुने गर्छ । यहाँको रैथाने मगरहरूको संस्कृति, रीतिरिवाज, रहनसहन र मादलुको तालसँगै गुञ्जिने झ्रामे, सोरठीजस्ता लोकभाकाले यहाँको सांस्कृतिक पक्षलाई समेटेको छ । पयापर्यटन, सांस्कृतिक पर्यटन, माउन्टेनियरिङ पर्यटन, धार्मिक पर्यटन, ऐतिहासिक पर्यटनहरूको प्रचुर सम्भावना बोकेको पाल्पा नुवाकोट विशेष छ ।
प्राचीन नुन बोक्ने बाटो : तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाका अनुसार पाल्पाको नुवाकोटगढी प्राचीन नुन बोक्ने बाटोको रूपमा पनि चर्चित छ । पोखरा बुटवल जोड्ने सिद्धार्थ राजमार्ग नबन्दै यो बाटो प्राचीन नुन बोक्ने बाटो, ऐतिहासिक मार्गको रूपमा रहेको थियो ।
लमजुङ, प्युठान, गुल्मी, अर्घाखाँची, तनहुँ कास्की, बागलुङ, स्याङ्जाका बासिन्दाले आफ्नै घरमा उत्पादन भएको घिउ र मह बोकेर बटौलीमा बेच्ने गर्थे । बटौलीबाट घर फर्कंदा नुन र मट्टीतेल लिएर फर्कने गर्थे । २०२९ सालमा सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि यो मार्ग कम प्रयोग हुन थाल्यो ।
उपाध्यक्ष थापा भन्छन्, ‘नुवाकोटगढी किल्ला सेनकालमै बनेको इतिहास छ । कर्णेल उजिरसिंह यहाँ आउनुअघि नै नुवाकोटगढी, जितगढी, काठेगढी बनिसकेको थियो । किल्ला मणिमुकुन्द सेनको पालामा बनेको हो । ऐतिहासिक किल्ला संरक्षण गर्न पालिकाले निजी क्षेत्रसँग सहकार्य गरिरहेको छ ।’ निजी क्षेत्रको २०० करोड लगानीमा सिद्धार्थ केवलकार बनेको छ ।
होटल, पार्कजस्ता संरचना बनिरहेका छन् । केवलकार स्टेसनको नजिकै छ सिद्धार्थ गौतम बुद्धको सालिक । सालिक हेर्दै गर्दा यस्तो लाग्छ, नुवाकोट गढीको अग्लो स्थानमा उभिएर गौतम बुद्धले शान्तिको सन्देश बाँडिरहेका छन् । पालिकाले नेपाली सेनासँग सहकार्य गरेर नुवाकोटगढी पुग्ने पैदल ट्र्याक बनाएको छ । भगवती मन्दिर निर्माण गर्ने पहल भइरहेको छ । कालभैरवको मन्दिर पनि पुनर्निर्माण गरिएको छ ।
पर्यटनको प्रचुर सम्भावना, गाउँपालिकाको प्राथमिकतामा : तिनाउ गाउँँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार, नुवाकोटगढीलाई पालिकाले प्राथमिकतामा राखेर पर्यटकीय स्थानको रूपमा विकास गरिरहेको छ । पाल्पाको दोभान हँुदै त्यहाँ पुग्ने बाटोको स्तरोन्नतिका लागि संघीय सरकारसँग समन्वय गरिरहेको छ ।
गत वर्षको बजेटबाट १ करोड ६२ लाख रुपैयाँ स्वीकृत भएको थियो । गत पुस महिनामा पुन : रकमान्तर गरी सोही बाटोका लागि ६ करोड रुपैयाँ विनियोजित गरिएको छ । दुवै रकमको काम सुरु भइसकेको छ ।
अध्यक्ष श्रेष्ठ भन्छन्, ‘नेपाली भएर विश्वको सामु चिनिन पुर्खाले गरेको ऐतिहासिक कामको संरक्षण गर्न जरुरी छ । नेपाल–अंग्रेज युद्धको विजयगाथासँग जोडिन्छ, यो गढीको इतिहास । पाल्पाको सेनापति थिए उजिरसिंह । अंग्रेजहरूले आक्रमण गर्ने सूचना थाहा पाएपछि उनले पाल्पा तानसेनमा रणउजेश्वरी भगवती माईलार्ई प्रार्थना गरेका थिए भन्ने इतिहास छ ।
यो युद्ध जितेर आयौं भने पञ्चवलीसहितको सिन्दूर जात्रा निकाल्ने छौ भनेर रण उजेश्वरी भगवतीलाई भाकल गरेका थिए । कर्णेल उजिरसिंहको टोली तानसेन, काजीपौवा, मस्याम, सिस्नेखोला, रानीवास हँुदै नुवाकोटगढीमा गएर युद्धको सुरुआत गरेको थियो । युद्ध जितेपछि उजिरसिंहले पाल्पामा रणउजेश्वरी भगवती मन्दिरको स्थापना गरेर पूजाआजा सुरु गराएका हुन् ।
व्यवस्थित बस्ती निर्माणका लागि गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार प्रदेश सरकारले ३ करोड २० लाखको लागतमा नुवाकोट सांस्कृतिक डबली निर्माण गरेको छ । यहाँको कलासंस्कृति जगेर्ना गर्न यो डबली निर्माण गरिएको हो । लोप हुने अवस्थामा
पुगेको स्थानीय मगर समुदायको ठूलो नाच, झ्याउरे नाच, सोरठी नाचहरूको संरक्षण गर्न काम गरिरहेको छ ।
के छैन र नुवाकोटमा ? : नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालका अनुसार, पुरातात्त्विक र सांस्कृतिक र ऐतिहासिक क्षेत्र हो नुवाकोटगढी । प्राकृतिक सुन्दरता र छटाले भरिपूर्ण छ । यो स्थल मनोरम र चिसो हावापानीका लागि चर्चित छ । यहाँबाट बुटवलको दृश्य अवलोकन गर्न पाइन्छ । बुटवल र लुम्बिनी घुम्न आउने पर्यटकलाई नुवाकोटमा बास बसाल्ने योजनामा छ, नुवाकोट विकास समिति ।
भन्छन्, ‘नुवाकोटगढीमा सबथोक छ । ऐतिहासिक भैरवको मन्दिर छ । नुवाकोटगढी किल्ला छ । तोपहान क्षेत्र छ । नजिकै छ, काठेगढी, कर्णेल उजिरसिंहले आफ्नो रणनीतिक योजना तर्जुमा गरेको ठाउँ छ । राणाकालीन भन्सार र टक्सार क्षेत्र यही छ । बटौलीमा नुन किनेर गाउँ फर्कंदै गर्दा प्रयोग गरेको बाटो र डोको बिसाएको चौपारी पनि यही छ । रानी इनार यही छ ।
समिति र प्रदेश विकास समितिको सहकार्यमा नुवाकोट सांस्कृतिक डबली तयार भएको छ । नुवाकोट भगवतीको मन्दिर निर्माण कार्य प्रारम्भ अन्तिम चरणमा पुगेको छ । तिरुपति बालाजी मन्दिर निर्माण सुरु गरिएको छ । दक्षिण भारतमा रहेको तिरुपति बालाजीको मन्दिर नुवाकोटगढीमा निर्माण गर्न मूर्ति निर्माण भइसकेको छ ।
चर्चित तोपहान क्षेत्र : तोपहान भनेको तोप पड्काउने स्थान । सेनवंशीय राजाहरूलाई सुरक्षा दिन प्रत्येक घण्टामा तोप पड्काउने डाँडो पनि पाल्पा नुवाकोटमै छ । किल्लाको पूर्वतर्फ अलिकति उकालो हिँडेपछि भ्यु टावर पुग्न सकिन्छ । भ्यु टावरभन्दा माथिल्लो अग्लो डाँडो नै तोपहान क्षेत्रको रूपमा चर्चित छ ।
यही ठाउँमा दिनमा दुईपटक तोप पड्काउने परिपाटी सुरु गर्न समितिले पहल गरिरहेको छ । सेनवंशीय राजा मणिमुकुन्द सेनको पालामा यो डाँडामा दरबार रहेको इतिहास छ । तराईमा गर्मी बढ्दा यही नुवाकोटका दरबारमा बसेर उनले शासन चलाउँथे ।
सेन राजाले जाडो महिनामा बुटवलको मणिमुकुन्द पार्कमा रहेको दरबारमा बसेर राज्य चलाउने गर्थे । उनको सुरक्षाका लागि एक एक घण्टामा तोप पड्काउने चलन थियो भन्ने इतिहास छ । यो गढीको पश्चिम डाँडोमा काठेगढी छ । निर्माण भएका हतियारलाई काठेगढीमा लगेर संरक्षण गर्ने परिपाटी थियो । उजुर सिंहको पालामा पनि उनले आफ्ना हतियार यही काठेगढीमा सुरक्षित गरेको इतिहास छ ।







































