२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

६० किलो सुन ओसारपसार गर्ने अमला रोका पक्राउ

काठमाडौ । ६० किलो सुन ओसारपसारका क्रममा बरामद गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको थवाङ गापा २ स्थायी घर भई हाल काठमाडौँको टोखा नपा वडा ३ सुर्यदर्शन टोल बस्ने ४४ बर्षीया अमला रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

मिति २०८० साउन २ गते बरामद भई आएको ६० किलो अवैध सुन अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेकी प्रतिवादी अमला रोकालाई पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका  प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

यस ब्युरोबाट खटिएको अनुसन्धान टोलीले शुक्रवार काठमाडौँको टोखा नपा ३ सुर्यदर्शन टोलबाट पक्राउ गरिएको खड्काले जानकारी दिनुभयो । उनी सुन तस्करका नाइके दावा छिरिङसँग नजिक थिइन । प्रहरीले अवैध सुन भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधमा संलग्न भएको भन्दै पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ ।