सगरमाथा केवल नेपालको शिखर नभएर सम्पूर्ण पृथ्वीको सर्वोच्च विन्दु हो, हाम्रो भने गौरवको प्रतीक हो । सगरमाथालगायतका हिमाल यस्ता मौन साक्षी हुन् जसले समय, सभ्यता र संस्कृतिका अनगन्ती आरोह–अवरोहको दृश्य गमन गरेका छन् । यिनै हिमशृङ्खला केवल हिउँको थुप्रो मात्र होइनन्, जीवनका आधार हुन्, मौसमका सूत्रधार हुन् र मानव अस्तित्वका मौन संरक्षक हुन् । आज, ती शाश्वत मानिएका हिमाल खतरामा छन् : पग्लिँदै, थाक्दै र शून्यतामा हराउने अवस्थामा ।
जलवायु परिवर्तनको तीव्र असरले हाम्रो हिमाली क्षेत्रलाई जोगाउन सक्ने समय अब धेरै बाँकी छैन । मौसम प्रणालीमा आएको अनियमितता, हिउँ पग्लिने गति र बढ्दो प्राकृतिक सङ्कटका सङ्केतले हामीलाई एक गम्भीर प्रश्नतर्फ हेर्न बाध्य पारिरहेको छ, के मानवता हाम्रा हिमालबिना जोगिन सक्छ ?
गत जेठ २ देखि ४ गतेसम्म नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव भविष्यसम्बन्धी बहसको अन्तर्राष्ट्रिय मञ्च बन्यो । सगरमाथा संवादको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको एक गम्भीर प्रश्न थियो । उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले भन्नुभयो, हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो, महासागर जोगाउनु हो, स्वयम् मानवता जोगाउनु हो ।”
मानव सभ्यताको मेरुदण्ड
नेपालका हिमशृङ्खला पर्यटकीय आकर्षण, धार्मिक आस्थाका केन्द्र वा भौगोलिक सम्पदा मात्रै होइनन्, ती सम्पूर्ण दक्षिण एसियाका जीवनका मूल स्रोत हुन् । विश्वका १० प्रमुख नदी प्रणालीमध्ये गङ्गा, ब्रह्मपुत्र र इन्द्रावती, नेपालकै हिमशृङ्खलाबाट अस्तित्व पाउँछन् । नेपालका हिमाल करिब दुई अर्ब मानिसको जीवनधारा हुन् ।
आज ती जीवनधारा नदीहरूको मुहान सुक्दै छ । हिमनदी साँघुरिँदै छन्, हिमताल विस्फोटको जोखिममा छन् । जलवायु परिवर्तनको असरले भूक्षय, बाढी, हिमपहिरो र तापमानको चरम उतारचढावको सामना गर्नुपर्ने अवस्थाको उत्पन्न भएको छ । हाम्रो भविष्यको झ्याल उघारेर हेर्दा सुनौलो उज्यालो हैन, धुम्म अन्धकारको विम्ब झल्किन थालेको छ ।
आँखैअघिको यथार्थ
नेपालका गाउँबस्तीमा जलवायु परिवर्तन अब अनुसन्धानको विषय मात्रै रहेन, त्यो दैनिक जीवनको यथार्थ बनिसकेको छ । सुदूरपश्चिमका पहाडी गाउँमा वर्षाको अनियमितता, खडेरीका कारण बाली नष्ट, पानीको अभाव, अनि एक गाउँबाट अर्को गाउँ बसाइ सर्नुपर्ने बाध्यता बढेको छ । अहिलेका लागि यो स्थानीय पलायनका रूपमा देखिए पनि भविष्यमा यो राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय पलायनको रूप लिन सक्ने गम्भीर सङ्केत पनि हो ।
खुम्बु क्षेत्रको इम्जा ताल जस्तै अन्य हिमताल तीव्र गतिमा फैलिरहेका छन् । वैज्ञानिकले हिमताल विस्फोटनको जोखिम उच्च रहेको चेतावनी दिँदै आएका छन् । त्यस्तो विस्फोट भयो भने, मानव जीवन, आधारभूत संरचना र जैविक विविधता सबै तहसनहस हुन सक्छ ।
गाउँ गाउँमा पानीका मुहान सुक्न थालेपछि सामाजिक कठिनाइ, सिँचाइ अभाव, खाद्य असुरक्षा अनि शिक्षा, स्वास्थ्य जस्ता सेवा प्रणालीमा समेत असर देखिन थालेको छ । यो समस्या अब केवल पहाडी भूभागको सीमामा सीमित छैन, सहरमा समेत पानीको समस्या र गर्मीका समस्या तीव्र भएका छन् ।
विश्वव्यापी चुनौती ?
नेपालको जलवायु सङ्कट नेपालमै सीमित छैन । यसका कारक औद्योगिक राष्ट्रहरूद्वारा उत्सर्जित हरितगृह ग्यासमा छन्, जसले समग्र पृथ्वीको तापक्रम बढाइरहेको छ । हिमालय क्षेत्र विश्वको औसतभन्दा झन्डै दुई गुणा बढी गतिमा तातिरहेको वैज्ञानिकले औँल्याएका छन् ।
यसको प्रभाव भारत, तिब्बत, बङ्गलादेश, पाकिस्तान र चीनमा समेत देखिन थालेको छ । यसैले यो क्षेत्रीय मात्रै होइन, मानव सभ्यताको साझा सङ्कट हो । अब हामीले जलवायु परिवर्तनलाई केवल प्राकृतिक विषय भनेर हेर्न सक्दैनौँ । यो आर्थिक, सामाजिक र राजनीतिक विषय पनि हो ।
जलवायु न्यायको खोजी
नेपाल जस्ता मुलुकको कार्बन उत्सर्जनमा विश्वभरको जम्मा ०.०२५ प्रतिशत मात्रै भूमिका छ तर असरमा हामी अग्रपङ्क्तिमा छौँ । यो जलवायु अन्याय हो । सन् २०२२ मा इजिप्टमा सम्पन्न कोप–२७ सम्मेलनमा हानि नोक्सानी कोष स्थापना गर्ने सहमति भयो । कार्यान्वयनको गति भने सुस्त बन्यो । हामीलाई नारा होइन न्यायपूर्ण नीति परिमार्जनको आवश्यकता छ ।
जलवायु क्षतिपूर्ति, कार्बन बजेट र कार्बन कर जस्ता मुद्दामा विकासशील राष्ट्रको आवाज सुन्नु अब आवश्यक मात्र होइन, अनिवार्य बनेको छ । नेपाल जस्ता मुलुकको आवाज कमजोर जस्ता लाग्न सक्छन् तर यी आवाज एकताबद्ध हुँदै गएमा वैश्विक बहसमा सहजै बुलन्द प्रभाव पार्न सक्छन् । हिमाली राष्ट्रको साझा मोर्चा गठन, विज्ञानमा आधारित कूटनीति र जनस्तरको सृजनशील दबाबमार्फत हामीले न्यायपूर्ण परिवर्तन ल्याउन सक्छौँ ।
जीवन र भविष्यको लडाइँ
हिमाल जोगाउनु केवल हिउँ जोगाउनु मात्र नभएर त्यो जलस्रोत, जैविक विविधता, सभ्यता–संस्कृति र अर्थतन्त्र जोगाउनु हो । नेपालले आफ्नो प्रयासस्वरूप जलविद्युत्, वन संरक्षण, नवीकरणीय ऊर्जा र अन्तर्राष्ट्रिय बहसमा सक्रियता देखाइरहेको छ तर यी कदम मात्र पर्याप्त होइनन् ।
विश्व तापक्रम १.५ डिग्री सेल्सियस माथि पुग्यो भने हाम्रो हिमाली क्षेत्रले अपूरणीय क्षति भोग्नुपर्ने छ, जसको असर पुस्तौँपुस्ताले भोग्ने छन् । हामीले स्थानीय समुदायलाई जलवायु अनुकूलनमा सक्षम बनाउनु जरुरी छ । परम्परागत ज्ञान, स्थानीय नवप्रवर्तन र शिक्षालाई एकीकृत गर्दै दिगो समाधान निर्माण गर्न सकिन्छ । पर्यटन, कृषिमा हरित प्रविधिको प्रयोग र वातावरणीय शिक्षा अब केवल परियोजनाको भाषामा होइन, जनजीवनको अङ्ग बन्नु पर्छ ।
हिमालबिनाको मानवता
सोधौँ, के हामी हिमालविहीन संसार कल्पना गर्न सक्छौँ ? जब हिमशृङ्खला हराउँछन्, पृथ्वीको जल चक्रमा असन्तुलन आउँछ, पानीको अभाव तीव्र हुन्छ, खाद्य सङ्कट उत्पन्न हुन्छ र एक देशबाट अर्को देशतिर पलायन सुरु हुन्छ, त्योबेला मानव अस्तित्व स्वयम् सङ्कटमा पर्छ । यो प्रश्न केवल भावनात्मक रहँदैन । यो वैज्ञानिक, नैतिक र राजनीतिक प्रश्न हो : के मानवता हाम्रा हिमालबिना जोगिन सक्छ ? उत्तर छ, सक्दैन ।
अबको बाटो भनेको साझा उत्तरदायित्वको हो, जहाँ नेपाल जस्ता हिमाली राष्ट्रले आवाज उठाउँछन् र विश्वले त्यो आवाज गम्भीर रूपमा सुन्छ÷सुन्नु पर्छ । यो समय विकासको नयाँ परिभाषा लेख्ने हो, जहाँ समृद्धि प्राकृतिक सन्तुलनसँग जोडिन्छ र भविष्य जलवायु न्यायसँग ।
हाम्रा हिमालका लागि सँगै सिङ्गो पृथ्वीका लागि लड्नुपर्ने समय आएको छ । हामीले आज हिमाल जोगाउन सकेनौँ भने, भावी पुस्ता र सिङ्गो भविष्यलाई बृहत् अन्याय हुने छ । जोगायौँ भने हाम्रो सन्ततिले सधैँ सगरमाथाबाट शान्त, शुद्ध, अनि सम्भावनाले भरिएको, उदाउँदै गरेको सूर्यको दृश्य हेर्न पाउने छन् ।







































