२०८२ फागुन २५ सोमवार | Monday, Mar 09 2026

धार्मिक क्षेत्रको रूपमा विकास हुँदै पार्वती गुफा

पर्वत । माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ ।

पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्थाको अगुवाइमा गुफाको जीर्णोद्वार र विभिन्न पूर्वाधार निर्माण भएसँगै धार्मिक पर्यटकहरू बढ्दै गएका हुन् ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनि कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण हुन सकेको थिएन । सदिऔं पुरानो गुफामा भगवान शिवका विभिन्न आकृतिहरू रहेका छन् । माता पार्वतीले कठोर तपस्या गरेका स्थानहरू त्यहाँ देख्न सकिन्छ ।

पछिल्लो समय समितिको पहलमा सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय कुश्मा नगरपालिकाको सहयोगमा पूर्वाधारको विकास भएको छ ।

गण्डकी प्रदेश सरकारले विभिन्न समयमा करिब एक करोड बढी बजेट विनियोजन गरि पूर्वाधारहरू निर्माण गरिएको समितिका उपाध्यक्ष जनकराज पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार २०७७ सालदेखि निरन्तर बजेट विनियोजन भई निर्माण कार्य भइरहेको छ । हालसम्म स्वागत द्वार, गुफासम्म जाने पैदल मार्ग, पानी निकास कुलो, पुल, पार्वती मन्दिर, विभिन्न मूर्तिहरू, सत्तल, टेवा पर्खाल तथा जग्गा सम्माउने काम भइसकेको छ ।

पौडेलका अनुसार गुफाभित्र प्रकृतिक रूपमा रहेका पूर्वाधार बाहेक अन्य पूर्वाधारहरू निर्माण गर्न नसक्दा पर्यटक तथा धर्मावलम्वीको आकर्षण हुन सकेको थिएन ।

गुफा र वरपरको जग्गा समेत व्यक्तिको नाउँमा भएको हुँदा पूर्वाधार बनाउन समेत समस्या भएपछि स्थानीयसँग सहयोग मागेर पूर्वाधार निर्माणको काम अघि बढाइएको पौडेलले बताउनुभयो ।

अहिले समितिको मातहातमा गुफा वरपरको करिब ९ रोपनी जग्गा दान लिएर पूर्वाधार विकास गरिएको छ । १८ जनाले जग्गा दिने प्रतिबद्धता गरेर जग्गा लिने काम भएको र हालसम्म ९ जनाले दिएको उहाँको भनाइ छ ।

समितिको पहलमा गत वैशाख अक्षय तृतीयाको अवसर पारेर माता पार्वतीको मूर्तीको प्राण प्रतिष्ठा गरिएको छ । स्थानीयवासीको सहयोगमा मूर्ती ल्याउने, विभिन्न धार्मिक अनुष्ठान गर्ने तथा प्रचार प्रसारको कामका लागि सहयोग जम्मा गरिएको उपसमितिका संयोजक प्रेमप्रसाद रेग्मीले बताउनुभयो ।

पाङ पार्वती माताको जन्मभूमि हो भनेर पहिला कतिपयलाई जानकारी समेत नभएको बेला योगी नरहरी नाथले आफ्नो पुस्तक ‘देश दर्शन’मा समेत उल्लेख गर्नुभएको थियो । गुफाको अग्रभागमा हात्तीको ठुला सुँडका आकृति साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृति रहेको छ ।

गुफाबाट निस्केको पानी करिब २ किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट १ हजार धाराको सहश्रधारा निस्किएको छ । सो स्थानमा बालाचतुदर्शी, स्वस्थानी ब्रतको समय तथा शिवरात्रि साथै सोमबारका दिनहरूमा विशेष पूजा हुने गरेको छ ।