२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

कोषमा आवद्ध हुन अनिवार्य गरे पनि वैदेशिक रोजगारमा जानेको आकर्षण बढेन

सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गर्न सहज च्यानल, प्रचार–प्रसारमा तीव्रताका साथै नयाँ अफर ल्याउने तयारीमा कोष ।

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गरे पनि कोषमा संलग्न हुनेको संख्या कम देखिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार १५ लाख ५१ हजार २ सय २५ जना वैदेशिक रोजगार कोषमा आवद्ध भए पनि सामाजिक सुरक्षा कोषमा भने १ लाख ५५ हजार १ सय २२ जना श्रमिकले मात्र नियमित रकम जम्मा गर्ने गरेको पाइएको छ ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये नियमित रकम जम्मा गर्ने १० प्रतिशतमात्र रहेको बताउनुभयो ।

निर्देशक अधिकारीले सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गर्न सहज च्यानल, प्रचार–प्रसारमा तीव्रताका साथै नयाँ अफर ल्याउने तयारीमा कोष लागेको जानकारी दिनुभयो । प्रत्यक्ष रूपमै विभिन्न आर्थिक सुविधा प्राप्त गर्न सकिने भए पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षातर्फ आकर्षित नहुनुको कारण जनचेतनाको कमी हुनसक्ने विज्ञहरूले जनाएका छन् ।

वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार भएकाहरूलाई कोषले २०७९ साल चैतदेखि आफ्नो कार्यक्रममा आबद्ध गराउन शुरू गरेको हो ।

दुई वर्ष बितिसक्दा पनि वैदेशिक रोजगारमा गएका श्रमिकलाई आवद्धता गर्न नसक्नु कोषको कमजोरी रहेको जानकारहरू बताउँछन् । श्रम स्वीकृति लिँदा नै कम्तीमा एक महिनाको योगदान गरेको हुनुपर्छ । त्यस्तो भएन भने श्रमिकले श्रम स्वीकृति नै नपाउने व्यवस्था गरिएको छ ।

यसरी एक महिनाको बुझाउने र पछि कुनै पनि रकम नबुझाउँदा दुर्घटनालगायत सुविधा नपाइने कोषले जनाएको छ । योगदान गर्नेमध्ये अधिकांशले श्रम स्वीकृति लिँदा अनिवार्य योगदान गर्नै पर्ने सरकारी नियमका कारणमात्र कोषमा आबद्ध भएको जस्तो देखिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले कस्ता सुविधा पाउँछन् ?
सामाजिक सुरक्षा कोषमा आबद्ध भएका र नियमित योगदान गर्ने वैदेशिक रोजगारीमा गएका नेपालीले दुर्घटना हुँदा वा अशक्त हुँदा र आश्रित परिवारले समेत सुविधा पाउने व्यवस्था छ । त्यस्तै वृद्धावस्थामा पाइने सुविधा र छोराछोरीलाई दिइने शैक्षिक वृत्तिसम्बन्धी सुविधाहरू पनि रहेको कोषले जनाएको छ ।

ती सुविधा पाउन वैदेशिक रोजगारीमा गएकाले मासिक रूपमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१ दशमलव ३३ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने कानुनमा उल्लेख गरिएको छ । कसैले अग्रिम रूपमा त्यस्तो रकम जम्मा गर्न चाहेमा त्यो सुविधा पनि दिइएको कोषको जानकारी पुस्तिकामा उल्लेख छ ।

दुर्घटना तथा अशक्त अवस्थामा पाउने सुविधाका लागि कामदारले पछिल्लो १२ महिनामा कम्तीमा नौ महिना योगदान गरेको हुनुपर्छ । त्यस्ता योगदानकर्तालाई दुर्घटना भएर अस्पतालमा भर्ना भएको अवस्थामा औषधि उपचारका लागि वार्षिक रूपमा एक लाख रुपियाँसम्मको शोधभर्ना गर्ने गरिन्छ । त्यस्तै, दुर्घटनाका कारण अक्षम बनेर काममा नर्फकेसम्म नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम पनि कामदारले पाउँछन् ।

दुर्घटनाका कारण स्थायी रूपमा अशक्त भएमा त्यसको अनुपातमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन अक्षमता पेन्सन दिने व्यवस्था गरेको छ । योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम प्रतिफलसहित फिर्ता दिने व्यवस्था छ ।

त्यस्तै, आश्रित परिवारका सदस्यलाई पनि सुविधा दिइने सामाजिक सुरक्षा कोषले जनाएको छ । त्यस्ता सदस्यमा विवाहित भएमा योगदानकर्ताको पति वा पत्नी र विवाह नभएको भए एकाघरको योगदानकर्ताको आमा वा बाबुलाई मानिएको छ ।

मृतकको परिवारको सदस्यलाई नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत प्रतिमहिना पेन्सन दिने कोषले जनाएको छ । एक्काइस वर्ष ननाघेका बालबालिकालाई नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत शैक्षिक वृत्ति पनि दिइन्छ ।

त्यस्तै, मृतकको अन्तिम संस्कारका लागि २५ हजार रुपियाँसम्म खर्च पनि दिने कोषले जनाएको छ । पेन्सन प्राप्त गर्न वैकल्पिक रोजगारी नभएको र दोस्रो विवाह नगरेको आश्रित सदस्यमात्र योग्य हुने छ । त्यस्तै, ३६ महिनासम्म योगदान गरेपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म सापटी लिन पाइन्छ ।

निवृत्तभरण योजनाअन्तर्गत भने ६० वर्षपछि आफ्नो योगदानका आधारमा आजीवन निवृत्तभरण पाइन्छ । उक्त योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी मासिक निवृत्तभरण निर्धारण हुने कोषले जनाएको छ ।

कोषका अनुसार समय–समयमा मुद्रास्फीति अनुसार समायोजन हुँदै पेन्सन पनि बढ्दै जान्छ । साठी वर्ष उमेर पुग्दै गर्दा १८० महिनाभन्दा कमको योगदान भएमा एकमुस्ट रकम निकाल्न मिल्ने व्यवस्था गरिएको छ । कोषबाट निवृत्तभरण पाइरहेको व्यक्तिको मृत्यु भएमा त्यस्तो व्यक्तिको पति वा पत्नीलाई निवृत्तभरणको ५० प्रतिशत आजीवन मासिक रूपमा दिने कोषले जनाएको छ ।