२०८२ चैत २५ बुधवार | Wednesday, Apr 08 2026

इतिहासमा सबैभन्दा बढी बाँच्ने अमेरिकाका पूर्व राष्ट्रपति कार्टर

नेपालको हितैषीका रूपमा परिचित अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको गत वर्ष डिसेम्बर २९ मा जर्जियास्थित आफ्नै निवासमा निधन भएको थियो । सय वर्षको उमेरमा निधन भएका उनी अमेरिकी इतिहासमा सबैभन्दा बढी बाँच्ने राष्ट्रपति हुन् ।

कार्टर केही समयदेखि मेलानोमा नामक एक प्रकारको छालाको क्यान्सरबाट पीडित थिए । यो क्यान्सर उनको कलेजो र दीमागसम्म फैलिसकेको थियो । गत वर्ष मात्रै उनकी श्रीमती रोजालिना कार्टरको ९६ वर्षको उमेरमा निधन भएको थियो ।

उनले वि.सं. २०७० सालमा सम्पन्न आमनिर्वाचनको क्रममा नेपालका ३१ जिल्लाका ३ सय ३६ मतदान केन्द्रको निरीक्षण गरेका थिए ।

कार्टरबारे केही तथ्यहरू

-१ अक्टोबर १९२४ मा जन्मेका कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।

-किसान परिवारमा जन्मेका कार्टर सन् १९६० मा राजनीतिमा प्रवेश गरेका थिए ।

-उनी सन् १९७१ मा पहिलो पटक राज्यका गभर्नर बनेका थिए ।

-यसको ठीक ६ वर्षपछि रिपब्लिकन पार्टीका राष्ट्रपति जेराल्ड फोर्डलाई हराएर उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

-कार्टरको कार्यकालमा ठूला चुनौतीहरू थिए । जसमा, शीत युद्धको तनाव, तेलको अस्थिर मूल्य र रंगभेदी तथा महिला अधिकारलाई लिएर कयौं अमेरिकी राज्यहरूमा आन्दोलन भएको थियो ।

-उनको सबैभन्दा ठूलो उपलब्धि सन् १९७८ मा क्याम्प डेभिड एकर्ड अर्थात इजिप्टका राष्ट्रपति अनवर सादात र इजरायलका प्रधानमन्त्री मेनाचेम बेगिनबीच भएको ऐतिहासिक शान्ति सम्झौता थियो । यो सम्झौताले मध्य पूर्वमा शान्ति कायम भयो र कार्टर शान्ति समर्थक नेताको रूपमा स्थापित भए ।

-सन् १९७९ मा ईरानमा भएको क्रान्तिले अमेरिकी समर्थक शाहको सत्ता समाप्त पारिदियो । यसले कार्टरविरुद्ध अमेरिकामा प्रदर्शन भयो । विरोध बढेर उहाँको लोकप्रियता घटेपछि यस वातावरणमा अर्को राष्ट्रपति चुनावमा पराजित हुनुपरेको थियो । सन् १९८० को राष्ट्रपति चुनावमा उनी हलिउड एक्टर रोनाल्ड रेगनबाट पराजित भएका थिए ।

-राष्ट्रपति पद सकिएपछि आफ्नै संस्था ‘कार्टर सेन्टर’ मार्फत् परोपकारी कामलाई निरन्तरता दिइरहेका कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।