२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

एजेन्सी । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ। इजरायल र हमास बीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो।

हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उनले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको जानकारी गराएका छन्।

गाजामा सन् २०२३ देखि युद्ध चलिरहेको छ। हमासले अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो। हाल हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन्। इजरायलले यी बन्धकहरूमध्ये केवल ६० जना मात्र बाँचेको बताएको छ।

जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणहरूमा ४६,५०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्।