२०८२ फागुन २४ आइतवार | Sunday, Mar 08 2026

सिन्धुलीको भिमानबाट ४१ तोला बढी अवैध सुन बरामद

सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा सोमवार ४१ तोला बढी अवैध काँचो सुनसहित एक जना पक्राउ परेका छन् । भिमान चेकपोष्टमा चेकजाँच गर्नेक्रममा बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नम्बरको फोर्स गाडीबाट ४१ दशमलव ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

फोर्स गाडीमा सवार पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा न. ८, जगतपुरका ४८ बर्षका बिक्रम साहको कालो रंगको झोला भित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलव ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए ।

बरामद भएको सुनको मूल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । शाहको साथबाट औठी त्रीहत्तर थान,  मंगलसुत्र पाँच  थान,  झुम्का-टप छ थान,  बाला एक थान,  नेकलेस एक थान,  हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो  पोकामा बाह्र थान, ख्क्ष्ख्इ मोबाइल एक  थान र १९ हजार नगद समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए  ।

विशेष सूचनाको आधारमा उक्त सामानहरु बरामद भएको हो । शाहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काको भनाई छ ।