२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

नेपाल सरकारका केही मन्त्रालयका सचिवको सरुवा

काठमाडौं । नेपाल सरकारकाे मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिवको सरुवा गरेको छ। सरुवालाई आइतबारमात्रै अन्तिम रूप दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीको निर्वाचन आयोगमा सरुवा भएको छ भने निर्वाचन आयोगका रविलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने श्रम सचिव मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महालेखा नियन्त्रक कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ भने त्यहाँका डा. गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।

उपराष्ट्रपति कार्यालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा खटाइएको छ । सो मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको बताइएको छ। यद्यपि, केही सूची हेरफेर हुन सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

वागमती प्रदेशका प्रदेश प्रमुख सचिव डा. हरिप्रसाद लम्साललाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको बताइएको छ। यसै गरी अन्य केही प्रदेशका प्रमुख सचिव पनि फेरबदल भएको जनाइएको छ ।