काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले आफ्नै सल्लाहकारलाई काठमाडौं टावरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नक्सापास गर्दा हार्डकपीमा हस्ताक्षर गरेको विषयमा अनुसन्धान गर्न कामपाका कानुनी सल्लाहकार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको खुलेपछि संयोजक पौडेलले राजीनामा दिएका छन् । उच्च स्रोतका अनुसार महानगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका पौडेलले कानुनी सल्लाहकारबाट समेत राजीनामा दिएका छन् ।
मेयर साहले समितिको सदस्यमा पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजनाका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी राखेका थिए । राजीनामा दिनुभएको सुनेका छौ, हालसम्म स्वीकृत भएको जानकारी छैन–स्रोतले न्युज अफ नेपालसंग भन्यो । मेयर साहले कामपाका सल्लाहकारकै संयोजकत्वमा समिति गठन गरेको विषयमा नेपाल समाचारपत्रले समाचार प्रकाशित गरेको थियो ।
मेयर साहले पुस १४ गते सम्पन्न १६ औं अधिवेशन लगत्तै समिति गठन गरेका थिए । तर, समितिका सबै सदस्यले पत्र बुझेका थिएनन् । ‘आज पत्र बुझेर पहिलो बैठक बस्ने सम्भावना थियो । तर, संयोजकले राजीनामा दिएको सुनेका छौ–स्रोतले भन्यो । मेयर साहले आफैले जरिवाना तोकेर कारबाही गर्न सिफारिस गरेको फाईलमा प्रमुख प्रशासककीय अधिकृत गुँरागाईले डिजिटल हस्थाक्षर नगरी हार्डकमीमा हस्ताक्षर गरेको आरोप लगाउँदै कारबाही गर्न पछिल्लो समिति गठन गरेका थिए । समिति गठन भएलगत्तै संयोजकले राजीनामा दिएपछि अब के गर्ने भन्ने विषय अनिश्चित भएको छ ।
स्रोतका अनुसार स्वतन्त्र समिति गठन गर्नुपर्ने अवस्थामा मेयर साहले आफू अनुकूल निर्णय गराउन सल्लाहकारलाई समितिमा राखेको हो । समितिलाई नक्सा स्वीकृत गर्नेदेखि हालसम्मको प्रक्रिया कार्यान्वयनको अवस्थाबारे निर्णय गर्न कार्यादेश दिएको छ । पुरानो बसपार्कको काठमाडौँ टावरको बारेमा सबै प्रक्रिया उल्लेख गर्नेगरी समिति गठन गरेको बुझिएको छ । समितिलाई १५ दिनको समय दिएको थियो ।
उता १८ गतेबाट कार्यालय हाजिर गर्न आउने तयारीमा रहेका प्रमुख प्रशासकीय अधिकृत गुँरागाई छानबिनको टुंगो नलागेसम्म आउने सम्भावना छैन । १४ गतेबाट लागू हुनेगरी वरिष्ठ कर्मचारी मध्येबाट शिक्षाविभाग प्रमुख गोबिन्दप्रसाद शर्मालाई निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ । उनलाई स्थानीय निकाय कार्यसञ्चालन निर्देशिका अनुसार प्रशासनीक अधिकारमात्र दिने व्यवस्था छ । सोही आधारमा कामपा प्रशासनले शर्मालाई प्रशासनीक अधिकार दिएको हो । उच्चस्रोतका अनुसार निमित्त कार्यकारी शर्मा आर्थिक अधिकार नलिने विचारमा रहेका छन् । स्रोतका अनुसार अवकास हुने अवस्थामा आर्थिक अधिकार पाए पदबाटै राजीनामा दिने तयारीमा छन् ।
आर्थिक अधिकार बाहेकका काम गर्ने जिम्मेवारी पाएका शर्मा कामपाका कार्यपालिकाका सदस्यसचिव रहने व्यवस्था छ । मेयर साह निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मालाई आर्थिक अधिकार दिन दबाब दिइरहेका छन् । प्रशासकीय अधिकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मात्र दिन सक्नेछ ।
मेयर साह सुटुक्क विदेशमा
मेयर वालेन्द्र साह सुटुक्क वैदेशिक भ्रमणमा निस्किएका छन् । स्रोतका अनुसार उपमेयर सुनिता डंगोललाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर मेयर साह थाइल्णड भ्रमणमा निस्किएका हुन् । स्रोतका अनुसार भ्रमणमा तलबी सचिवालय सदस्य सुनिल लम्साल , केही साथीका परिवारसंग घुमघाम गर्न थाइल्यान्ड गएका हुन् ।
मेयर साहले बिहीबार कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बिदेसिएका हुन् । कामपामा विदेश गएको बारे कसैलाई जानकारी छैन । सचिवालयमा जानकारी लिन खोज्दा भन्यो खै बिदामा बस्नुभएको सुनेका छौ, त्यस बाहेक केही जानकारी छैन ।
मेयर साहले कार्यबाहकको जिम्मेवारी दिदै पत्र लेखेका छन् – प्रस्तुत विषयमा म मिति २०८१-०९-१९ देखि केही दिन बिदामा बस्ने भएकोले फर्की नआएसम्मको लागि कार्यबाहक प्रमुख भई कार्य गर्नुहुन सूचित गर्दछु ।
उनको पत्र अनुसार कहिले नेपाल फर्कने हो ? जानकारी छैन । विदेश गएको बारेमा जानकारी भएका कर्मचारीलाई समेत बोल्न वञ्चित गरिएको छ । उनीहरुले भन्ने गरेका छन्–कहाँ जानुभएको थाहै भएन ।









































