२०८३ जेठ १३ बुधवार | Wednesday, May 27 2026

एसियाली छनोटमा नेपालको विजयी सुरुवात : चीनमाथि १९ रनको जित

काठमाडौ । एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको छ ।  मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनविरुद्ध पहिलो जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको चीन पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०६ रनमा समेटिएको हो । चीनका लागि कप्तान जु मिजुले सर्वाधिक ३० रन जोड्नुभयो भने वाङ हुइवाङले २१ रन थप्नुभयो ।

चीनलाई सस्तैमा समेट्न नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले एकएक विकेट लिनुभयो ।
पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले अर्धशतक बनाउनुभएको थियो । महतोले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६३ रन बनाउनुभएको हो । रुबी पोदारले नटआउट २२ रन जोड्दा सोनी पाख्रिनले १८ रन थप्नुभएको थियो ।
चीनका लागि कसिलो बलिङ गर्दै मा रुइकेले दुई विकेट हात पार्दा वाङ हुईइङ र ली ली च्याफिङले एकएक विकेट हात पर्नुभयो ।
एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्ने छ । समूह ‘बी’का नेपाल र चीनले दुई दुई अंक जोडेका छन् भने इन्डोनेसिया अंकबिहीन छ ।
समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । समूह ‘ए’को थाइल्यान्डले चार अंक जोड्दा मलेसिया र हङकङ अंकबिहीन छन् । दुवै समूहका शीर्ष दुई टोली छनोटको सेमिफाइनल पुग्ने छन् ।
सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्ने छन् भने पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका शीर्ष तीन टिम एसियाली खेलकुदका लागि छनोट हुने छन् ।