२०८३ जेठ १३ बुधवार | Wednesday, May 27 2026

नासाद्वारा चन्द्रमाको सतहमा मानव बस्तिका लागि चन्द्र आधार योजना सार्वजनिक

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै दिगो मानव बस्ति स्थापना गर्ने योजनाको रूपरेखा प्रस्तुत  गरेको छ ।

वासिङ्टनमा रहेको आफ्नो मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिलाई सहयोग गर्न चन्द्र पूर्वाधारको विकासका लागि एजेन्सीको रणनीति कार्य योजना प्रस्तुत गरेका हुन् ।

नासाका अनुसार चन्द्र आधार योजनालाई तिन चरणमा विकास गरिने छ । सन् २०२९ सम्म चल्ने पहिलो चरण रोबोटिक अन्वेषण र प्रविधि प्रदर्शनमा केन्द्रित छ । दोस्रो चरण, सन् २०२९ देखि २०३२ सम्म, प्रारम्भिक आवास प्रणाली, साथै बिजुली र सञ्चार पूर्वाधारमा केन्द्रित रहने जनाइको छ ।

यसै गरी सन् २०३२ पछि सुरु हुने, तेस्रो चरणमा चन्द्रमामा दिगो मानव उपस्थिति स्थापना गर्ने र चन्द्र संसाधनको उपयोगका लागि उन्नत प्रविधि स्थापना गर्ने लक्ष्य रहेको जनाइएको छ । नासाले चन्द्रमाको दक्षिणी ध्रुवलाई यसको सूर्यको प्रकाशको विस्तारित अवधिको कारण लक्षित क्षेत्रको रूपमा चयन गरिएको जनाएको छ जुन सौर्य ऊर्जा उत्पादनका लागि अनुकूल छ ।

चन्द्रमाको सबैभन्दा पुरानो भूभाग नजिकै अवस्थित रहेकाले यो क्षेत्र उच्च वैज्ञानिक चासोको विषय भएको पनि बताइएको छ । नासाका अनुसार यस क्षेत्रका नमूनाले चन्द्र र पृथ्वी-चन्द्र प्रणालीको प्रारम्भिक इतिहास, साथै सौर्यमण्डलको विकासको बारेमा नयाँ अन्तर दृष्टि प्रदान गर्न सक्छ ।

नासाले यस क्षेत्रले विज्ञान, प्रविधि प्रदर्शन र अन्वेषण, भविष्यका गहिरो अन्तरिक्ष मिसनका लागि उन्नत प्रविधि केन्द्रका रूपमा काम गर्ने बताएको छ । नासाले यस क्षेत्रमा सम्बन्धित पूर्वाधारको विकासमा व्यावसायिक साझेदार र अन्तर्राष्ट्रिय सहयोगीहरूले प्रमुख भूमिका खेल्ने बताएको छ । रासस/सिन्ह्वा